तामाङहरुको मौलिक चाड म्हेनङ किन हरायो ?
-
सोल- म्हेनङ र दशैंको विषयमा राजधानीमा कातिक ३ गते मंगलबार अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । नाम्सादिम छोरङान नेपालले आयोजना गरेको कार्यक्रममा खोजराज गोलेले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
तामाङ समुदायले दशैंभन्दा अगाडिदेखि नै म्हेनङ मनाउँदै आएता पनि म्हेनङमाथि राज्यले दशैं खप्टाएपछि यो चाड नै लोपोन्मुख अवस्थामा पुगेको कार्यपत्रमा उल्लेख गरिएको छ ।
‘म्हेनङ’ शब्द तामाङ महिनाको नाम हो । यसलाई ठाउँ विशेष ‘म्हेनङ’ वा ‘म्हेनिङ’ भनी उच्चारण गर्ने गरिएको छ । जे जसरी उच्चारण गरे तापनि ‘म्हेनङ’ भनेको तामाङ समुदायले गणना गर्ने नवौं महिनाको नाम हो । यसले सूर्यपात्रो अनुसारको अशोज र कात्तिक महिनाको करीब आधा आधा भेट्छ ।
तर पनि चन्द्रपात्रोको बारेमा खासै ज्ञान र उपलब्धता नभएकोले पनि तामाङ समुदायसमेत सूर्यपात्रोलाई अवलम्बन गर्न बाध्य थियो । सोही क्रममा ‘म्हेनङ’लाई नै ‘असोज’ महिनाको रूपमा बुझ्न थालेको थियो । त्यसैमाथि हिन्दू राज्यसत्ताले तामाङको म्हेनङमाथि नै दशैँलाई खप्ट्याएकोले झनै अन्यौलता थपिएको थियो । परिणामतः तामाङ समुदायले दशैं नै म्हेनङ हो भनेर गलत अर्थमा बुझ्न थालेको थियो । यद्यापि पञ्चायती शासन व्यवस्थाको अन्त्यसँग परिवर्तनको क्रम शुरू भएको देखिन्छ ।
तामाङ समुदायले मान्दै आएको म्हेनङ चाडको विशेष भनेको कुलान तथा प्रकृति पूजा हो । महिना र मौसमअनुसार चाड पर्व र उत्सवको संस्कृति विकास गरेको तामाङका पुर्खाले अनादिकालमै म्हेनङ संस्कृतिको निर्माण गरेका थिए । त्यसक्रममा कुलको पूजा, ज्योहो ज्योमोको पूजा, सयपत्री फूलको प्रयोगदेखि डोल्माहरूको पूजा गर्ने प्रचलन चलाएका थिए ।
त्यस्तैगरी दशमीकै दिन गुरु पद्मसम्भवको जन्मदिन परेको जनविश्वास रहेकाले तिनैको पूजा आराधना पनि गर्ने प्रचलन रहेको छ । कलिङ्गको युद्धपछि तत्कालीन सम्राट अशोकले हतियार त्यागेर बौद्ध धर्ममा प्रवेश गरेको तिथि पनि सोही दिन परेकोले बौद्ध परम्परामा म्हेनङ दशमी तिथिको विशेष महत्व रहेको छ ।
यस्तै गरी छ्योरे पूजा भने बोन र लामा दुवैले गर्ने गरेको छन् । तथापि बोनले गर्ने छ्योरेमाथि पनि दोलखा भिमसेनको पूजा थोपेरर राज्यसत्ताले सिङ्गो तामाङ समुदायमाथि दशैं लादेको थियो । तैपनि लामा मान्यतानुसार भने उक्त दिन दश दिशामा स्थापित बुद्धहरूका पूजा गर्ने संस्कृति अद्यावधि कायम रहेको छ ।
विशेषतः आफ्नो कुलको मूलघरमा जम्मा भएर सामूहिक रूपमा कुलपूजा गर्ने, छ्योरे पूजा गर्ने, लक्मी (डोल्मा) तथा ज्योहोहरूको पूजा गर्ने र तारो हान्ने संस्कृतिले म्हेनङ विशुद्ध तामाङ मौलिक पहिचान सहितको पर्व भएको स्पष्ट भएको कार्यपत्रमा दाबी गरिएको छ । बोन र बौद्ध धार्मिक मान्यताको समिश्रणको रूपमा चिनिएको तामाङ समुदायको म्हेनङमाथि धेरैपछि अर्थात् हिजो राणाकालमा मात्रै दशैँ लादिएको र त्यसपछि अन्यौलता बढेको थियो ।
वि.सं. २०४६ पछि देशमा भएको बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि भने स्वतन्त्र वातावरणमा तामाङ सङ्घ, संस्था र विद्वान्हरूले दशैं बहिष्कार गरौं भन्ने आवाजका साथ एक किसिमको आन्दोलन नै चलाएका थिए । सोही क्रममा दशैं बहिष्कारको नाममा आफ्नै मौलिक पहिचानको धरोहर म्हेनङलाई समेत छाड्ने कार्य भएको थियो ।
यतिखेर आफ्नो भूमिमा अधिकार प्राप्तिको आन्दोलन चलाइरहेको यस समुदायले पुनः म्हेनङलाई स्थापित गराई अगाडि बढ्न सकेमा ताम्सालिङको मागलाई अझ सशक्त बनाउन सकिने समेत बताइएको छ ।
कार्यक्रममा भाषाविद् अमृत योञ्जन तामाङ, लोकोत्तर लोकवादी विचारका धनप्रसाद तामाङ, नेपाल तामाङ घेदुङका बाबु घिसिङ, तामाङ कलाकार सङ्घका पूर्व–अध्यक्ष चन्द्रकुमार दोङ, कलाकार प्रेम लोप्चन, नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकासका अध्यक्ष सिंहबहादुर योञ्जन, लामा लोप्साङ तामाङ लगायत उपस्थित थिए ।
पहिचानसहितको ताम्सालिङको कुरा गरी रहँदा विगतमा राज्यले विभिन्न तरिकाले दमन गर्दै समाप्त पार्न खोजेकोले तामाङ समुदायको पहिचानहरूको खोजी गर्नुपर्नेमा सहभागीहरुले जोड दिए । कार्यक्रम नाम्सादिम छोरङान नेपालको अध्यक्ष हिरामान बल तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।
स्रोत -हिमगाथा डट कमबाट