नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज

कोरिया स्थित गुल्मी सम्पर्क समितिको आयोजनामा सम्पन्न नवौं रेसुङ्गा भलिबल कप २०२५ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी गुल्मी सम्पर्क समितिले चुमेको छ । सुवन सहरको आजु युनिभर्सिटीको खेलमैदानमा अक्टोबर ५ सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा सुदुरपश्चिम समाजलाई फाईनलमा हराउँदै गुल्मीले नगद २५ लाख, ५५ हजार ५ सय ५५ कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो ।
सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुदुरपश्चिम समाजले १५ लाख, ५५ हजार ५ सय ५५ कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र र दुई फाईनलिष्ट टिम नेपाल मगर संघ र बागलुङ समाजले ५/५ लाख कोरियन वोनमा चित्त बुझाए । प्रतियोगिताभरी अन्य विधातर्फको बेष्ट कोच बिक्रम घर्ति मगर (टीम गुल्मी), बेस्ट प्लेयर करन वोली (टीम गुल्मी), अनुशासित खेलाडी उपेन्द्र थापा मगर (टिम गुल्मी), बेस्ट सेटर श्याम थापा मगर (टिम गुल्मी), बेस्ट स्पाइकर शिशिर विश्वकर्मा (टिम गुल्मी), बेस्ट ब्लकर निराजन बिष्ट (टिम सुदुरपश्चिम), बेस्ट सर्भर राजेश बिक्रम सिंह (टिम सुदुरपश्चिम), बेस्ट लिबेरो रोबिन दाहाल (टिम सुदुरपश्चिम) ले प्रमाण पत्र र ट्रफी सहित ५० हजार कोरियन वोन सहित पुरस्कृत भए ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान” भन्ने प्रतियोगिताको नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले आयोजित सो प्रतियोगितामा कूल ३२ टिमले सहभागिता जनाएका थिए । नेपाल कोरिया भलिबल संघको समन्वयमा आयोजित सो प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णमा आयोजक संस्था गुल्मी सम्पर्क समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।