नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण

दक्षिण कोरियामा रहेका दुई राजनैतिक संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता भएको छ। अक्टोबर १९ आइतवार दोङ्देमून स्थित नेपाली थाईको सभाहलमा एकता घोषणा सभा आयोजना गरी नेकपा(माओवादी केन्द्र) को प्रवास संगठन र नेकपा एकीकृत समाजवादीका प्रवास संगठन एक भएका हुन् ।
अहिलेका लागि संगठनको नाम ‘ नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया’ नै रहने भएको छ। पछि पार्टी केन्द्रको थप बहस, छलफल र सर्कुलरबाट नाम टुङ्गो लगाउने बताइएको छ। यि दुइ संगठन लामो छलफल र वार्तापछि आपसी उच्च सम्मानका साथ समान अधिकार र समान आधारमा एकिकरण भएको जनाइएको छ। अहिले साविक कै पदमा कार्यभार सम्हाल्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो।
प्रमुख अतिथि एवम नेकपा माओवादी केन्द्रका एसिया प्रदेश इन्चार्ज दिपक पुनले यो एकिकरणले राम्रो सन्देश दिएको बताउँदै नेपालका राजनितिक दलहरुले अहिलेको समय बुझेर परिवर्तन हुनुपरे सुझाएका थिए। उनले ३ ठूला दलका शिर्ष नेताहरुले विभिन्न कालखण्डमा ठूलो योगदान गरेका प्रति सम्मान गर्नुपर्ने विचार व्यक्त गर्दै नयाँ अनुहार , पुस्ताको लागि मार्ग प्रशस्त गरिदिन पनि अनुरोध गरेका थिए। यसैगरी नेपाली प्रगतिशील मञ्चका अध्यक्ष एवम कार्यक्रम सभापति जीवन खतिवडाले यो आफ्नो पार्टीलाई एउटा राम्रोसन्देश दिन क्रम भंगता रहेको बताएका थिए। अन्य प्रवासका संगठनहरुलाई पनि एक हुन उनले आग्रह गर्दै नेपालमा वाम एकता हुनेमा विश्वास दिलाएका थिए। अर्का सभापति एवम प्रवासी नेपाली एकता मञ्चका कार्यवाहक अध्यक्ष (तत्कालिन) राजु राईले यो एकता हुनुपर्ने आवश्यकता थियो र यो एकिकरण देशको हितको लागि नै भएको बताएका थिए। साथै उनले कोरियामा राजदूतले आफू अनुकुल कुनै संगठनले निर्देशन गरेको कार्यक्रममा मात्र उपस्थित हुने अन्यमा उपस्थित नहुने कार्यक्रममा व्यस्त छु भनेर टार्ने गरेको आरोप लगाएका थिए।
एकता घोषणा सभामा नेपाली जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री, प्रवासी नेपाली मञ्चका अध्यक्ष अञ्जन कुलुङ राई, नेपाली समाज प्रवासका अध्यक्ष पिएन शेर्पा, NRNA अध्यक्ष विपिन गुरुङ, NRNA अध्यक्ष पार्वती मोक्तान, NCC अध्यक्ष हरी खनाल लगायत प्रदेश स्तरिय संस्थाका अध्यक्ष एवम प्रतिनिधि हरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
दुई संगठनले अक्टोबर ६ तारिख संयुक्त पत्रकार सम्मेलन आयोजना गरि एकता हुने जानकारी गराएका थिए। नेपाली जनप्रगतिशिल मञ्च नेकपा माओवादीको प्रवास संगठन र प्रवासी नेपाली एकता मञ्च एकपा एकिकृत समाजवादीको प्रवास संगठन हो। केन्द्रमा पनि यि दुइ पार्टीको एकिकरण हुने चर्चा चलिरहेको छ।