कोरियाको दुखेसो
डोलु आले मगर
ए..हे…उचाल बोरिया
पछार बोरिया
भन्नलाई सजिलो
आहा.. कोरिया ..
ओह हो दाइ तपाईहरुले चारचार वर्ष कसरि कटाउनु भयो हौ यस्तो कम्पनीमा? म त ३ वर्ष भन्दा बढी गर्दिन दाई । जसोतसो ३ वर्ष कटाएर नेपाल जाने हो । पाँचपाँच वर्ष कोरियामा यसरि काम गर्न सकिदैन दाई । तपाईहरु कसरी ? थैट !! म त सकदैन । मरिगए सक्दिन । ३ वर्ष जसो तसो गर्नुपर्यो अलिअलि जम्मा हुन्छ अनि जान्छु नेपालमै केहि गर्नुपर्ला ।
अरे भाइ, किन आत्तिएको छौ ? के तरुनी पोइला जान्छ भनेर हो ? जान देउ अर्को पाइहाल्छौ नि । हा हा..। भर्खर आएको छौ विस्तारै बानि पर्छ। किन आत्तिएको ? ल एक कप मेक्जु स्वाटटै पार ।
भाइले पानी पीए जसरि स्वात पारेर वहा ! गर्दै फेरीउही वात दोहोर्यायो हैन दाई साच्चै तपाईहरु टिकेकै हो । म त सक्दिन दाई । काम पनि उस्तै, गाली उस्तै, मेशिनको आवाजले टाउको दुखेर हैरान, केमिकल उस्तै, एकछिन ठुच्च बस्ने समय पनि छैन ।
अरे भाइ हिम्मत किन हारेको ? आफुलाई किन कम्जोर ठानेको विस्तारै बानि पर्छ । सुरुसुरुमा मैले नि यस्तै सोच्थ्ये भाई । हामी नेपालीहरुको भाग्यमा लेखेको हो भोग्नु पर्छ । अब अरु कम्पनीमा जान पनि लेटर दिदैन, साहुको एक ट्वाके बोलि कि काम गर कि घर जा । अब ओह हो कोरिया भनेर क्या सोचेर ओएको यत्तिकै फर्किन पनि लाज मर्नु हुने भो । फलानाको छोरो गरिखान सकेनछ भन्ने हुन् छिमेकिले । ल एककप फेरी स्वाटटै पार ।
हेर भाई पहिला हामी यो एरियामा २ जना मात्र नेपाली थियौं । अहिले यो एरियामा नेपालीहरु मात्रै २५-३० जना पुगे । भाषाको कारणले सुरुको ३ महिनासम्म कन्टेनर भित्रै गुम्सिएर बस्यौ । कहाँ जाउँ? के गरौँ? कहाँ कहाँको जेलमा आएर बसे जस्तो लाग्थ्यो । घरतिर फोन गर्न पनि जानिएन सुरु सुरुमा । कम्पनीले चाउचाउ ल्याई दिन्थ्यो त्यहि पकायो भातसंग खायो । उही काम गर्ने समयमा कम्पनिभित्र गयो आयो कोठामै गुम्सियो बस्यो । कम्ता अत्यासिलो समय थिएन भाई । विस्तारै बानि पर्दै गयो । ३ वर्ष पुगेपछि यो कम्पनीमा भिषा नलगाएर कम्पनिचेन्ज गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर आ.. अब करिब २ वर्षको लागि के अर्को कम्पनीमा नयाँ हुन जानु भन्दै यी यहि कम्पनीमा बसियो। आखिर जहाँ गए पनि काम त् उस्तै हो भाई। परदेशमा सजिलो र सुख त् के हुन्छ र ?
हेर भाई, विस्तारै दिन, हप्ता, महिना अनि वर्ष बित्छ। अलाराम संगै उठेर कम्पनि भित्र जान्छौं। एक दुई घण्टा काम गरेपछि काम गर्दै गर्दा कहिले दिउँसको खाना खाने समय होला भन्दै भित्ताको घडी हेर्दै घण्टा गनिन्छ। अनि फेरी खान खाएर काममा गयो उही भित्ताको घडी हेर्दै कहिले काम छुट्ने समय हुने होला भन्दै भित्ताको घडी हेर्दै दिन काटिन्छ। आखिर तिम्रो पनि त् ३ महिना त् बित्यो त् होइन र भाइ ?
अनि सोमबार काममा गयो कहिले अर्को आइतबार आउला भन्दै दिन गन्यो काममा लत्रियो। शनिवार साँझ मजाले सोजु र मेक्जु तान्यो आइतबार आधा दिन सम्म सुत्यो। अनि विदा त् खुल्की हाल्यो। अनि ओह हो भोलि त् सोमबार कति छिटो जान्छ है ? यो विदाको दिन पनि भन्यो बस सकिन्छ भाइ हप्ता पनि । अनि फेरी क्यालेण्डरमा हेर्दै महिना मर्ने र तलब बुझ्ने दिनको पर्खाइमा व्यतित हुन्छ भाइ दिन होइन र ? कोरियामा हामी गोर्खेर्हरु महिनाको एक दिन त् पक्कै खुसि हुन्छौं त्यो दिन हाम्रो पसिनाको फल बुझेको दिन। तै पनि कहिले काँहि हिसाब गडबड गरिदिन्छ र पो अर्को तनाव थपिदिन्छ। त्यसपछि बुझेको दिन देखि घरतिर भागविलो लगाए पछी फेरी आफु अड्कलेर राखेको खर्चमा चल्नु पर्छ । यस्तै हो भाइ साँझ छुट्ने समय हेर्दै एक दिन बित्छ। आइतबार हुने विदाको एक दिनको पर्खाइमा हप्ता दिन बित्छ। तलव बुझ्ने एक दिनको पर्खाइमा महिना दिन बित्छ। गर्दा गर्दा वर्ष बित्छ भाई। हाम्रो जवानी र वैश नि पनि यत्तिकै बित्छ हा.. हा….। टेन्सन गरेर भो भाई? कामको सुख दुख त् आफ्नो ठाउँमा छ। तर समय बित्न गाह्रो छैन भाई। सुरु सुरुमा अलिक अप्ठ्यारो हुने, गाह्रो हुनु स्वाभाविकै छ ।
आफ्नो त उमेर पनि धेरै गइ सक्यो भाई । अब छोराले पनि २-३ वर्ष पछी त उही पासपोर्ट बनाउने होला । ३ वर्ष साउदी बसेर घर फर्किएर बिहे गरेर २ महिना बसेर फेरी मलेसिया गइयो ४ वर्ष बसेर घर फर्किदा छोरा स्कुल हिड्ने भै सकेको थियो । घर परिवार संग ३ महिना बसेर फेरी उही मलेसिया गइयो । ४ वर्ष पछाडी फिनिशमा घर फर्कदा अर्की छोरी स्कुल हिड्ने भएकी थिई । घर बसेको दुई महिना हुँदा नहुँदै कोरियाको हल्ला चल्यो । हल्लै हल्लामा कोरियन भाषा पढियो । पास पनि भैईयो । ई.. कोरिया आएको पनि अहिले चार वर्ष पुग्यो । करिब पन्ध्र वर्ष विदेशमा बिताईयो । घरपरिवार पाल्दा ठिक्क छ । यो अवधिमा,यो जवान, यो वैशमा परिवारसंग मात्र चानचुने डेढ वर्ष बिताईयो होला। अब त ४० को उमेर भो भाई बुढो पो भइयो । तिमीहरु त २०-२१ को उमेरमै कोरिया आएका छौ केहि पक्कै हुन्छ। हिम्मत गर । उमेर धेरै छ, केहि गर्छौ । छप्कीसप्की भन्ने त त्यस्तै हो भाई । हा.. हा ।
यो उमेर, यो जवानी, यो वैश विदेशको गुलाम गर्दैमा बित्ने भो । परिवार सम्झ्यो अनेकान कुराहरु मनमा खेलायो, शंकै शंकाको भरमा उता श्रीमतिलाई नानाथरी आरोप लगायो । कतै पर पुरुषसंग पो लागेकि छे कि? हुन पनि अचेल यस्तै घट्नाहरु धेरै सुनिन्छ। उताबाट श्रीमतिले पनि उस्तै आरोप । पहिला त बरु फोन थिएन चिठ्ठिको भरमा चल्दा खासै त्यस्तो हुदैन थ्यो। अचेल फोनमा शंकाको भरमा झगडा हुन्छ भाई। के गर्ने? केहि पाउन केहि गुमाउनु पर्छ भन्छन्, गरिबीसंग जुध्न परदेश धाउँदैमा जवानी सकियो भाई ।
घरमै बसेर पो के गर्नु भाई। खेती किसानी गरेर जिवीकोपार्जन गर्न मुस्किल छ। संगैका दौंतरीहरु सबै विदेश छन् । अचेल त गाँउमा मर्दापर्दा लास उठाउने मान्छे पनि छैन। देशको हालत उस्तै छ। संविधान बनेर देशले शान्ति पाउला र गरिब,दुखि,किसान जनताहरुको दिन फिर्ला भन्ने पनि एकादेशको कथा जस्तै हुने भो भाई।
यस्तै हो भाई । ल ५ वोटल पनि सकिएछ। आधारात भयो सुतौं । मज्जाले सुत्ने हो भोलि दिउँसो १२ बजे सम्म। त्यस पछि सोमबार देखि त उहि हो उचाल्ने पछार्ने । घडी हेर, क्यालेण्डर हेर, घण्टा गन दिन काट् हप्ता काट्, महिना अनि वर्ष। कहिले जाला समय भन्ने हुन्छ आखिर पल्-पल्, क्षण-क्षण्, सेकेन्ड-सेकेन्ड बित्ने त आफ्नै समय त हो भाई।