नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
विश्वका आदिवासी जनजाति एक हौँ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९औँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट शुभराज भोम्जन निर्विरोध रूपमा अध्यक्ष पदमा चयन भएका छन्। नोभेम्बर ९ आइतवार दोङ्देमुन स्थित सेमाउल सभाहलमा महाधिवेशन सम्पन्न भएको थियो।
नव निर्मित समितिको वरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू र उपाध्यक्षमा पूर्ण बहादुर पुन चयन हुँदा सचिवमा राम प्रकाश चौधरी कोषाध्यक्षमा गंगा पुन मगर, सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन रहेका छन्। नव गठित समितीलाई निर्वाचन मण्डलका संयोजक लोचन राईले पद तथा गोपनियताको सपथ गराएका थिए।
नव–निर्वाचित अध्यक्ष शुभराज भोम्जनले आफ्नो कार्यकालमा वृहत आदिवासी भेला गर्ने उदघोष गरेका छन भने संघीय एकता, पारस्परिक सहयोग र समुदायिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 
संरक्षक लोचन राईले आदिवासी समुदाय आरक्षणमा मात्र केन्दृत नभएर आफ्नो दक्षता र क्षमताको आधारमा अगाडि आउन सक्ने बताउँदै नयाँ युगमा नयाँ ढंगले प्रतिस्पर्धा गर्न सकिने विचार व्यक्त गरेका थिए। यसैगरी निवर्तमान अध्यक्ष विशन राईले आफू महासंघको लामो नेतृत्वकर्ता रहँदा आफूले गत महाधिवेशनमा प्रतिबद्धता गरेका सबै कार्यहरु पूर्ण गरेको बताएका थिए। साथै महासंघले ठूलो र सानो संस्था भनेर विभेद नगरेको स्पष्ट पारेका थिए।
प्रवासमा रहेका आदिवासी जनजातिहरूबीच आपसी एकता, सांस्कृतिक पहिचान र समुदायिक सशक्तिकरणलाई मुख्य उद्देश्य बनाई अधिवेशन सम्पन्न भएको थियो। अधिवेशनमा कोरियामा रहेका विभिन्न संस्थाहरु गैर आवासीय नेपाली संघ, नेपाली सम्पर्क समिती, प्रदेश स्तरीय संस्था, राजनैतिक दलका प्रवास संगठन लगायत विभिन्न जिल्लागत क्षेत्रीय संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 