रेल दुर्घटनामा परेर भारतमा ३१ को मृत्यु
नयाँ दिल्ली –मंगलबार मध्यरातमा मध्य प्रदेशमा दुईवटा रेल एकै स्थानमा लिकबाट बाहिरिंदा ३१ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
मुम्बईबाट बनारसका लागि हिँडेको कामयानी एक्सप्रेस र पटनाबाट मुम्बईका लागि हिँडेको जनता एक्सप्रेस मध्य प्रदेशको राजधानी भोपालबाट १६० किमी दक्षिणस्थित हार्डा सहरमा रेल पटरीबाट उत्रिएको हो । दुवै रेल एक मिनेटको अन्तरालमा कालिमचाक नदी माथीको सानो पुल पार गर्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छ ।
उद्धारमा संलग्न अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । अधिकारीले नदीमा पानीको मात्रा बढेकोले केही व्यक्तिलाई नदीले बगाएको पनि हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
केन्द्रिय रेलवे मन्त्री सुरेश प्रभुले नदीमा अचानक आएको बाढीका कारणले उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन् ।