NRNA कोरियाको अध्यक्षमा पार्वती मोक्तान भारी मतान्तरले विजयी

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएका छन्। दक्षिण कोरियाको एन आर एन ए ले दोश्रोपटक महिला नेतृत्व पाएको हो। उनले १५३ मतले प्रतिस्पर्धि हरि प्रसाद भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन्। आज बिहान १०:३० बजेदेखि ५ बजेसम्म अनलाइन भोटिङ गरिएको थियो। ९९१ जनाले निर्वाचनमा आफ्नो मत दिएका थिए। मोक्तानले ५७२ मत र भट्टराईले ४१९ मत प्राप्त गरेका छन्। कुल मतदातको ६९.९९ % मत खसेको थियो। निर्वाचन विवादरहित वातावरणमा सम्पन्न भएको छ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा तारा पुन मगर निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा निरन्जन भण्डारी र मंगल योङहाङ पनि निर्विरोध चयन भएका छन्। महासचिवमा कमल भण्डारी, सचिवमा दुर्गा प्रसाद ढकाल र सोनम शेर्पा कोषाध्यक्षमा अर्जुन श्रेष्ठ, यूवा संयोजकमा टेक बहादुर बोहरा, महिला संयोजक मिता गुरुङ, सदस्यहरुमा मनसुन खड्का र आइसा सिटौला पनि निर्विरोध निर्वाचित भएका छन्।
आजको निर्वाचनमा आइसीसी सदस्य, एक उपाध्यक्ष , महिला उपाध्यक्ष र सहकोषाध्यक्ष पदमा भने उमेद्वार नै रहेको थिएन। यस अधिवेशनको निर्वाचन मण्डलमा लोचन राईको संयोजकत्वमा, डा कमला केसी र बाबु काजी श्रेष्ठ सदस्यमा रहेका थिए। नव निर्वाचित कार्यसमितीलाई संयोजक लोचन राईले सपथ ग्रहण गराएका थिए।