अक्टोबर ४ मा काभ्रे सम्पर्क समितिको आठौँ अधिवेशन

दक्षिण कोरिया, सोल – काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो आठौँ अधिवेशन २०२५ अक्टोबर ४ तारिखमा आयोजना गर्ने भएको छ। यो अधिवेशन सोलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा हुनेछ।
संस्थाले कोरियामा रहेका सम्पूर्ण काभ्रेली तथा नेपाली समुदायलाई यो अधिवेशनमा सहभागी भई एकताको सन्देश प्रवर्द्धन गर्न र महत्वपूर्ण छलफलमा योगदान पुर्याउन हार्दिक आमन्त्रण गरेको छ।
अध्यक्ष सुमन चौलागाईँले फोनिज कोरियालाई दिएको जानकारीअनुसार, यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालका लागि संस्थाको कार्ययोजना, गतिविधि, र कार्यदिशा तय गर्नेछ। साथै, संस्थाको विधान, कोरियामा नेपाली समुदायले भोग्ने समस्या र समाधानका उपाय, तथा संस्थाको सुदृढीकरणजस्ता विषयमा गहन छलफल हुनेछ।
संस्थाले कोरियामा विभिन्न सिलसिलामा रहेका सबै काभ्रेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा उपस्थित भई आफ्ना सल्लाह र सुझाव प्रदान गर्न अनुरोध गरेको छ।
“कोरियामा रहेका काभ्रेली एक हौँ, प्रवासी भूमिको दुख-सुखमा सहयात्री बनौँ” भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापित यो संस्थाले काभ्रेली मात्र नभई अन्य नेपाली संघ-संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। यो संस्थाले कोरियामा रहेका नेपालीहरूको दुख-सुखमा साथ दिँदै आएको छ र नेपालमा आफ्नो जिल्लामा परेका गाह्रो-अफ्ट्यारोमा सहयोग गर्दै आएको छ।
कोरोना महामारीको समयमा, यो संस्थाले काभ्रेका सबै स्थानीय तहहरूमा अक्सिजन सिलिन्डर र आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको थियो। त्यसैगरी, गत वर्षको विनाशकारी बाढी-पहिरोबाट अति प्रभावित चार स्थानीय तहलाई चार-चार लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो। साथै, संस्थाले विगत केही वर्षदेखि प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ।