चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न
मार्च ३ तारिख आइतवार चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो।
चोमोलोङ्मा सांगितिक सौगात कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईले जुन उद्देश्यले कार्यक्रम गरिएको हो त्यो पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। बृहत भेलामा सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुलाई संस्थाले सम्मान पनि गरेको थियो। यसैगरी सुम्निमा डान्स पार्टीलाई सफल बनाउन उपस्थित हुने सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको आयव्यय चाँडै सार्वजनिक गरिने पनि किरात राई यायोक्खाका अध्यक्ष पुरन याम्फुले जानकारी गराएका थिए।
पूर्वाञ्चल सरोकार समाजले निकट भविष्यमा सामूहिक कार्यालय सहित सभाहल पनि सञ्चालन गर्ने अध्यक्ष गजेन्द्र सेर्माले जानकारी गराएका थिए। यसैगरी गत सलनालमा नयाँ नेतृत्व पाएका पूर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका संस्थाका अध्यक्षहरुलाई सरोकार समाजले बधाई तथा सम्मान ज्ञापन गरेका थिए।
दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभा हलमा सम्पन्न कार्यक्रममा पूर्वाञ्चलमा आवद्ध १६ संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरु सल्लाहकार साथै पूर्वाञ्चल बासिको उल्लेख्य उपस्थिति रहेको थियो । वरिष्ठ सल्लाहकार समसेर पंधाकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई महासचिव केदार निरौलाले सञ्चालन गरेका थिए।