स्याङ्जाका विभिन्न ठाउँमा पहिरो प्रभावित परिवारलाई कोरियाबाट स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजको सहयोग ।

बोम्जन गुरुङ, सउल कोरिया ।
०१ नोभेम्बर २०२० भीषण वर्षाको कारण गत असोज महिनामा स्याङ्जाका विभिन्न स्थानमा आएको पहिरोको कारण ज्यान गुमाएका र विस्थापित परिवारलाई कोरियामा रहेका संस्था स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजले राहत स्वरुप एकमुष्ट गरी एक लाख सत्तरी हजार रुपैंया राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।
अविरल वर्षका कारण घर विस्थापित हुन पुगेका पहिरो पिडीतहरुमा भिरकोट नगरपालिका-३ गुमार्दीका जगत बहादुर राना, धन बहादुर राना, केयरसिंह राना र सूर्य बहादुर मास्कीले जनही दश हजारका दरले चालिस हजार रुपैंया, वालिङ नगरपालिका १४ तमादीमा एकै परिवारका ९ जना सदस्य गुमाएका सोही पहिरोबाट घाइते भएकी मनिषा नेपालीलाई पचास हजार रुपैंया, सोही स्थानमा घर विस्थापित भएका पिडीतहरु गिर बहादुर खनाल, मान बहादुर खनाल, खेम बहादुर खनाल र कृष्ण खनाल प्रत्येकलाई जनही दश हजार रुपैंयाका दरले चालिस हजार रुपैंया गरी नब्बे हजार रुपैंया राहत स्वरुप वितरण गरिएको जानकारी स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले दिएका छन् ।
उता कालीगण्डकी गाउँपालिका ४ विर्घामा पहिरो पिडीत प्रेम परियारलाई स्याङ्जा परिवार दक्षिण कोरिया र कृष्णगण्डकी समाजले संयुक्त रुपमा बीस हजार रुपैंया रकम राहत स्वरुप प्रदान जानकारी कृष्णगण्डकी समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश भट्टराईले बताए । यसै अवसर पारेर कृष्णगण्डकी समाजले छुट्टै पहिरोले ज्यान गुमाएका विष्णु बहादुर दमैका आमा सीता दमै र मृगौला पिडीत सुमन दर्जीलाई पन्ध्र हजारका दरले तीस हजार रुपैंया प्रदान गरेको छ ।
पहिरोको कारण ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली सहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुःखद घडीमा मानवीय संवेदनामा रहेर राहत अभियान संकलनमा जोडिनु हुने तमाम सहयोगीहरु, राहत वितरणमा संस्थागत रुपमा प्रतिनिधित्व गर्दै केन्द्रीय कार्यसमिति सदस्य डिल्लु बिरकट्टा मगर, पूर्व उपाध्यक्ष रमेश भट्टराई, कृष्ण गण्डकी समाजका भूपू सचिव युगचन्द्र भट्टराई, सदस्यहरु सुन्दर न्यौपाने र अशोक भट्टराई, सम्बन्धित नगरपालिका, गाउँपालिका, वडाध्यक्ष तथा सदस्यहरु, स्थानिय प्रतिनिधि, समाजसेवी लगायत उपस्थित सबैमा स्याङ्जा परिवार दक्षिण कोरिया र कृष्णगण्डकी समाज दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।