भूकम्पले दिएको अदृश्य पीडा
मञ्जु गुरुङ
काठमाण्डौ-टाडाबाट हेर्दा उस्तै । लहरै ठडिएका घरहरुको लाइन । घर त ठिकै छ त , किन चाहियो त राहत ? कसरी भए त यहाँका मानिसहरु भूकम्प पीडित ? मनमा यस्तै कौतुहल्ता जाग्दै थियो । तर काभ्रेको दाप्चा गाउँमा हाम्रो पाइला निरन्तर अघि बढी रहयो । जस्ले हाम्रो दृष्टीको दूरी पनि घट्दै थियो । हाम्रो पाइला गाउँमा प्रवेश गरयो अनि घर नजिकै पुग्यो ।
पहिलो नजर नै घर नजिकैको निलो र पहेलो रंगको पालले बनेको होचो सानो छाप्रोमा परयो । छाप्रोको सानो ढोकाबाट भित्र चियाउन साथ मनै निशासियो । कतै बोरा र टिनका पाताहरुले घेरिएका र छोपिएका झुप्राहरुले मनै कुडियो । उभिँदा पनि टाउको छानामा ठोकिने छाप्रोमा कसरी गुजरा गर्ने होला मनमा यस्तै लाग्यो ।
अनि पो नजिकैको ठूलो घरको भित्तामा नजर पुग्यो । धर्का कोरेझै चिरिएका भित्ता, चर्किएका कुना र बाँगिएका झयाल ढोका अनि छाना स्पष्टै देखिए । घरका यस्ता घाउँहरुलाई पच्छाउदै जिज्ञाशु नजर घरलाई फन्की मार्न थाल्यो । जति अघि बढ्यो उती घरका झन ठूला यस्ता घाउँहरु देखिन थाले । घर भित्र पसेर हेर्दा झन धेरै । अनि पो लाग्यो परबाट हेर्दा सन्चै लाग्ने यी घरहरु छरर्राको गोली लागे झै छिया छिया बनेको रहेछ । हेर्दा हट्टा कट्ठा देखिएता पनि भित्र भित्रै गम्भीर रोगले ग्रस्त विरामी जस्तै पो रहेछ घरहरु त ।
मानव जीवनको तीन मुख्य आधार गाँस, बास र कपास । यी तिन मध्ये एक बास अर्थात घरको अवस्था यस्तो भएको बेला । जीवन भर कै कमाई खर्चेर बनाएको घर , कयैको सपना अढेको घर, कयौ इतिहास र स्मृती साँचेको घर थिलथिलो भएको बेला । वर्खामासको शुरुवात अनि पटक पटक आइरहने भू–कम्पनका कारण छिया छिया बनेको घर कुन बेला माटोमा विलिन हुने त्रासपूर्ण मन । न त घर छाडेर अन्त जान सक्ने न त भत्काएर नयाँ घर नै बनाउन सक्ने अन्यौल र बाध्यकारी परिस्थीतिमा रुमालिएको मन । अनि पो थाहा भयो भूकम्पले दिएको अदृश्य पीडा ।
पुरै भत्केका ध्वस्त घरहरुको अवशेषले प्रत्यक्ष पीडा बोध गराउछ । तर यस्ता घरहरुमा बस्नेको पीडा बल्ल पो अनुभूत गर्न सके । अनि पो महसुस भयो अदृश्य पीडामा छटपटीएका मनहरुको वेदना । गाउँका सोझा अनुहारभित्र लुकेको त्यो पीडालाई सायद धेरैले अनुभूत गर्न नसकेकैले होला राहतका लस्कर अन्यत्र सोझिने गरेका । ध्वस्त बनेको घरको उएटै उद्येश्य नयाँ घर बनाउने तर यस्ता जिर्ण बनेको घरलाई भत्काउनु र नयाँ बनाउनु उस्तै खर्चिलो र झन्झटीलो । त्यसैले दोहोरो मारमा परेका यी पीडित मनहरुको व्याथालाई कसले बुझ्ने ।
सरकारले यस्ता चर्केका घरको वास्वविक तथ्यकं अझै संकलन गर्न सकेको छैन । तर लाखौ यस्ता चर्केका घरहरुलाई बस्न नसकिने ,जोखिम र बस्न सकिने भन्दै रातो, पहेलो र हरियो चिन्हमा छुट्टाउने काम सरकारले गर्दैछ । बस्न सकिने भनेर सरकारले पहिचान गरेपनि मानिसहरुलाई विश्वास गर्न गाहरो परिरहेको छ । घर भत्केका र भत्काउनु पर्ने घरलाई सरकारले जस्ता किन्न भन्दै हाललाई प्रति घर १५ हजार दिने घोषणा गरेको छ । घर ध्वस्त भएकाहरुले त त्यो पैसाले जस्ताको टहरा बनाउन नसक्ने अवस्था छ भने घर पनि भत्काउनु पर्नेहरुलाई के होला र सरकारको त्यति राहतले । घर ध्वस्त भएका परिवारकोमा राहतको चामलका बोराको चाँङ लागेको सुनिन थालिएको छ भने यस्ता परिवारसंग भने कतैबाट पनि राहत पाउन नसकेको गुनासो मात्रै छ ।
हेर्दा घर सग्लै छ । तर भित्र भित्र चिरा परेर बस्नै नसकिने छ । तर हाम्रो यो समस्यालाई न त सरकारले बुझे न अन्य राहत दाताहरुले – घरबासी र गाउँलेको यो दुखेसो कस्ले सुन्ने ? यस्ता भनाइभित्र लुकेको त्यो पीडालाई कस्ले महसुश गर्न सक्ने ? यस्ता परिवारमा रहेका बालबालिकाहरुको भविष्य कस्तो होला । देशैभरी भूकम्पले चर्काएका यस्ता लाखौ जिर्ण घरका परिवारको पीडालाई कस्ले बुझने ?