कोरियाको कर्णाली

नेपालको कर्णाली । जान, घुम्न गाह्रो छ । गाडी जाने सडक छैनन् भएका पनि राम्रा छैनन् । हवाइउडान हुने ठाउँमा हुन्छ हुदैन थाहा हुदैन । स्वास्थ्य, शिक्षा, बिजुली जस्ता कुरा झन पर भैहाले । विद्यालयमा बढ्दा ताका सामाजिक शिक्षा पढ्ने बेला सडक भनेको देशको मेरुदण्ड भन्थे । हो झै लाग्छ । सडक भए धेरै कुरा सहज हुने । बजार पुग्न बजारबाट केही सामान ल्याउन । कर्णालीको धेरै ठाउँमा सडक पुगेका छैनन् । पुगेका ठाउँको स्थायित्व छैन । कर्णालीको जिन्दगी गाह्रो छ । काठमाडौमा बस्नेलाई फोटो, भिडियो सामाजिक संजाल तिर शेयर गरेर ‘फिलिङ स्याड’ भन्दा धेरै गाह्रो छ । त्यसैले अप्ठ्यारो, बिकट भए ठाउँ भए कर्णाली जस्तो भन्ने चलन नै भो ।
कर्णालीमा मात्र होइन नेपालको धेरै भुभाग अहिले पनि सडक छैनन् । बति बिजुली हुने कुरा पनि आएन । सलेदो हालेको मट्टितेलको टुकीले जिन्दगीको उज्यालो उज्यालाउँदै छन् । सडक हुने कुरा पनि आएन । भएका सडकको अबस्था पनि राम्रो छैन । देशको राजमार्गमा भएका सडकको हालत सबैलाई थाहै छ । राम्रो छैन । चलेको छ, चल्दै छ जस्तै जस्तैमा सकिन्छ । नभएका होइनन् केही केही भएका पनि छन् । ती कम छन् । जिन्दगी फेर्न पुग्दो छैनन् । कम छन् । जिन्दगी गाह्रो छ ।
यता कोरियामा देश धनि छ । घर गाउँ नभएका ठाउँमा पनि सडक छन् । पक्की सडक । मान्छेको जिन्दगी ‘मेसिनरुपी’ भए पनि भौतिक रुपमा धनि छन् । अधिकांशका आफ्नै गाडी छन् । हुन्डाई, किया जस्तो गाडी बनाउने कम्पनी छन् । चढ्न चाहानेले सस्तैमा गाडी पाउँछन् । पैसा किस्तामा तिर्न पनि मिल्छ । सुविधा छ । तर यही सुविधाका कारण मलाई भने गाह्रो भाको छ ।
मैले काम गर्ने कम्पनी जंगलको वीचमा छ । वरिपरि डाँडोले घेरिएको सानो उपत्यका भन्दा हुने खालको ठाउँमा छ । यो उपत्यका काटेर जाने अर्को गाउँ छैन । भएको सात आठ वटा कम्पनी लस्करै छन् । सडक पक्की छ । दैनिक प्रयोगका सामान किन्न कोरियाको फेमस खुद्रा पसल ‘जियस’ पनि छ । खानाको लागि एउटा सिक्ताङ(रेष्टुरेन्ट) छ । वस त्यति हो ।
गाडीहुनेका लागि यो ठाउँ सहज छ । हाम्रो तिर राजमार्ग भने जस्तै ठूलो सडक पुग्न बिस किलोमिटर जति टाढा पर्छ । बजार पनि त्यतै छ । यताका कम्पनीमा काम गर्ने हामी कामदारहरु साप्ताहिक बिदाका दिन त्यता जान्छौ । समान किन्छौ फर्कन्छौ । बजार जानको लागि सार्वजानिक सवारी साधन एकदम कम छन् । तीन चार घन्टामा मात्र पाइन्छ । त्यो पनि दैब भरोसा । कहिले आउँछ कहिले आउँदैन । प्रायः कतै जान परे ट्याक्सीलाई फोन गरेर डाक्नु पर्छ । त्यसको पनि भर छैन ।
बजार पुग्न ट्याक्सीमा बीस बाइस हजार कोरियन वन खर्चिनु पर्छ । त्यो भनेको झन्डै तीन घन्टा श्रम गरेको पैसा हो । त्यसैले हामी बजार जाँदा गु्रप बनाएर जान्छौ । सबै मिलेर ट्याक्सीको पैसा तिर्छौ । सस्तो पर्छ ।
निस्कन्छु भनेको बेला सवारीसाधन नपाए पछि जिन्दगी गाह्रो छ । कतै जानु परे पाँच चोटी बिचार गर्नु पर्छ । पहिले नै प्लान गर्नु पर्छ । नत्र पक्की सडक हेरेर बस्दा बस्दा हुन्छ । धन्न, एक जना कोरियन छन् । ऊ पनि हाम्रै स्तरको कामदार हो । ऊसँग पुरानो गाडी छ । हामीले त्यसैलाई ट्याक्सी बनाएका छौ । उसको बिदा भएको बेला बजार जाउँ भन्यो भने ऊ जान्छ । हामीले सामान किन्ने समयसम्म पर्खन्छ । सँगै फर्कन्छ । सजिलो छ । सस्तो पनि ।
ऊ हाम्रो लागि दुनियाँ जोड्ने साधन हो । कहिले कही ऊ व्यस्त हुन्छ । अनि हामीलाई गाह्रो हुन्छ । कोरियाको कर्णालीमा जो बसिएको छ ।