कोरियामा बढ्दो डान्सपार्टी क्रेज

कोरियाको मुख्य चाड सलनाल र छुसक आउनसाथ कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरु जुर्मुराउन थाल्छन् । चाडपर्वमा दिइने तीनदिने लामो विदाको सदुपयोग गर्दै कोरियामा कार्यरत नेपाली युवाहरुले विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गर्नुको साथै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय भूमिका निभाइरहेका हुन्छन् । हरेक चाडपर्वमा जस्तै यसपटकको सलनाल (कोरियन नयाँ वर्ष)को अवसर पारेर कोरियामा रहेका विभिन्न नेपाली सामाजिक संघसंस्थाले अन्य कार्यक्रमका साथमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । जसका लागि नेपालबाट थुप्रै चर्चित कलाकारहरु कोरिया आउदै छन् । आफ्ना मन पर्ने कलाकारहरुको गीत र नृत्यसँगै मनोरञ्जन लिने त छँदैछ अर्कोतिर डान्सपार्टीको क्रेज पनि बढ्दो अवस्थामा छ ।
यो पटकको सलनालमा कोरियाको राजधानी सौलमा मात्र ५ वटा डान्सपार्टीहरुको आयोजना गरिदै छ भने कोरियाको केही मुख्य शहरहरुमा पनि विभिन्न डान्सपार्टी हुने भएको छ । जसमध्ये फेब्रवरी १५ तारिख उदयपुर सेवा समाज दक्षिण कोरियाले कोरियन नया वर्ष तथा महान चाड सलनालको अवसर पारेर कोरियाको राजधानी सौलमा ‘साइला साइली डान्स पार्टी’को आयोजना गर्ने भएको छ । बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म संचालन गरिने उक्त डान्सपार्टीको मुख्य आर्कषण नेपालका चर्चित डिजे QUINN र DJ AVE रहेका छन् । सौल दोङ्देमुन नजिकै जोङ्नो सामगामा अवस्थित ड्रिम पार्टी प्यालेसको हलमा हुने डान्स पार्टीबाट सङ्कलित रकम समाजले आपतकालीन राहत कोषको स्थापना गर्नेछ भने केही रकम योङ्गिन स्थित वाउछङ्सा गुम्बामा गौतम बुद्धको मुर्ति स्थापनार्थ सहयोग स्वरूप नेपाली सम्पर्क समितिलार्इ हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।
सोही दिन बेलुकी फन लभर्स ग्रुप दक्षिण कोरियाले प्रेम–दिवस बिशेष भनेर “सलनाल रोज डान्स पार्टी“ आयोजना गर्ने भएको छ । उक्त डान्स पार्टीमा कोरियामा रहेका नेपाली डिजे नटी र डिजे विटले एकै साथ आफ्नो डिजे कलाबाट भरपुर मनोरन्जन दिने भएको छ । सो डान्स पार्टी भने नेपालीहरुले प्राय आयोजना गर्ने न्हिहु छन्जी होटल, दोङ्देमुन हिस्ट्री एन्ड कल्चर पार्क्, सउलमा बेलुका ९ बजे देखी विहान ४ बजे सम्म नन स्टप हुने भएको छ । कार्यक्रमको होस्ट हसिला युवा अनित नाम्दोङले गर्ने र FDQ-Sistersको धमेकादार डान्स रहने आयोजकले जनाएको छ ।
त्यसैगरी सोही दिन बेलुकी कोरियाका दक्षिणी भेगमा अवस्थित नेपालीहरुको वाहुल्यता रहेको किम्हेमा पनि डिजे k’non को साथमा ‘किम्हे डान्सपार्टी’को आयोजना गरिने भएको छ । गोर्खाली बदर्शको प्रस्तुति रहने उक्त डान्सपार्टी किम्हेको बुवनदोंगमा बेलुकी ९बजेदेखि बिहान ५ बजेसम्म संचालन गरिने भएको छ ।
त्यस्तै नेपकोर समूहले सौलमा फेव्रवरी १६ तारिख ‘सलनाल मास्क डान्स पार्टी २’ को आयोजना गर्ने भएको छ । विशेषगरी दक्षिण कोरियामा रहेका नेपाली युवाहरु माझ मनोरञ्जनात्मक कार्यक्रम गरि चर्चित बनेको नेपकोरको यो दोस्रो कार्यक्रम हो । अघिल्लो वर्षको पहिलो मास्क डान्स पार्टीमा बेलायतबाट आएका नेपाली डिजेले उपस्थित युवाहरुलाई नचाएका थिए भने यो पटकको मास्क डान्स पार्टीमा डिजे बिट र डिजे नटीको साथमा झुम्न सकिने नेपकोरको भनाई छ । मास्क डान्स पार्टीमा थरि थरिका मास्कहरु निशुल्क उपलब्ध गरिनेछ । राति नौ बजेबाट शुरु हुने डान्स पार्टी बिहानको ५ बजेसम्म चल्नेछ ।
सोही दिन बेलुकी NPL GORKHE GUYS ले भब्य डान्स पार्टी “माया पिरती-२” को आयोजना गर्ने भएको छ । DJ CMAN को साथमा गरिने उक्त डान्स पार्टीमा कोरियामा रहेका युवा युवतीहरुले भरपुर मनोरञ्जन लिने आयोजकको दावी छ । रोजगारीको सिलसिलामा ईपियस मार्फत कोरिया आएका नेपालका बिभिन्न ठाउका युवाहरुको सहभागितामा खोलिएको उक्त ग्रुपले यस भन्दा पहिले पनि बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु सञ्चालन गरि सकेको थियो । तर अब देखि सामाजिक कार्यहरुमा पनि सहभागिता जनाउने उदेश्य सहित समिती नै गठन गरिएको ग्रुपका अध्यक्ष रेशम थापा मगरले बताएका छन् ।
फेब्रवरी १५,१६र१७ तारिख बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरिने डान्सपार्टीले दिउँसो हुने सांगीतिक कार्यक्रमलाई कुनै असर नपर्ने डान्सपार्टीका आयोजकहरु बताउँछन् ।
सन् २०११ देखि रक म्युजिक पारखीहरुको समूह NEPZ PARTY ROCKERS IN KOREA (नेप्ज पार्टी रकर्स इन कोरिया)ले पहिलो पटक कोरियामा डान्स पार्टीको सुरुआत गरेको थियो । पछि सन् २०१५ देखि नेपाली युवाहरुको विभिन्न समूहले पनि विभिन्न डान्सपार्टी कार्यक्रमको आयोजना गर्दै आएको नेप्ज पार्टी रकर्स समूहका सुमन केसी बताउँछन् । उनी भन्छन्, ‘वैदेशिक रोजगारीका लागि कोरिया आएका नेपाली युवाहरुको थकान तथा मानसिक तनावलाई केही समयसम्म भएपछि हटाइ विशुद्ध मनोरञ्जन प्रदान गर्ने हेतुले हामीले सुरु गरेका थियौं तर अहिले केही आम्दानी हुने सोचले पनि थुप्रै समूहहरुले डान्सपार्टीको आयोजना गर्न थालेका छन् ।’
विभिन्न सांगीतिक कार्यक्रमसँगै कोरियाको विभिन्न शहरहरुमा डान्सपार्टीको क्रेज बढेकोमा खुशी ब्यक्त गर्ने सुमन भन्छन्, ‘काम गरेको थकित शरीरलाई म्युजिकल रिफ्रेसनेश पनि चाहिन्छ ।’ २०११ देखि मनोरञ्जनात्मक कार्यक्रम पस्कदै आएको यो समूहले यसपटक भने अन्य समूहलाई समर्थन गर्दै सलनाल लक्की ड्र चिठ्ठाको आयोजना गरेको छ । सामाजिक कार्यमा पनि सहभागी हुने सोचले लक्की ड्रको आयोजना गरेको केसी बताउँछन् । विभिन्न आकर्षक उपहारहरु राखिएको लक्की ड्रबाट उठेको रकमले काम छाडेर बसेका वा अन्य कारणबश समस्यामा परेका नेपालीहरुलाई बस्ने सेल्टरको व्यवस्था गरिने केसीको भनाइ छ ।
बिक्रि भएको लक्की ड्रको अर्धकट्टी फेब्रवरी १६ तारिख शुक्रबार बेलुकी ५ बजेसम्म विपुल क्षेत्री लाइभ कन्सर्ट तथा भेटघाट रेष्टुरेन्ट धोंगदेमुनमा बुझाउन पनि आयोजकले आग्रह गरेको छ ।