ट्राउट माछा बेचेर मासिक ३ लाख
सिबी अधिकारी
रसुवा – गाउँमा कमाइ गरेर परिवार पाल्न कठिनाइ भएपछि रसुवा स्याफ्रु–५ का टेम्बा गेलसेन तामाङ पैसा कमाउन सात समुद्रपारि मलेसिया हानिनुभयो । विदेशी भूमिमा विभिन्न जोखिम र चुनौतीलाई पार गर्दै कडा परिश्रम र पसिना बगाएर केही पैसा जम्मा गरी आफ्नै गाउँमा मिहिनेत गर्ने अठोटका साथ उहाँ पुनः स्वदेश फर्कंनुभयो |विदेशबाट निकै दुःख र कष्टका साथ कमाएर ल्याएको रकमले उहाँले गाउँमै खेर गइरहेको जमिन खरिद गरी रेन्बो ट्राउट माछापालन व्यवसाय सुरु गर्नुभयो । ट्राउट माछा नुवाकोटमा आफैले देखेको र विदेश जाने अन्य साथीभाइको सल्लाह बमोजिम व्यवसाय गर्न हौसिएका कृषक तामाङले बताउनुभयो । अहिले उहाँले दिनमा १० केजी माछा बिक्री गर्नु हुन्छ । प्रतिकेजी रु एक हजार १०० ले बिक्री हुँदा पनि दिनको १० हजार हुन्छ ।
ट्राउट माछाको भुरा पालेको नौ महिनादेखि खानयोग्य हुन्छ । १०० ग्राम पुगेपछि बेच्ने गरिन्छ । तामाङले दिनमा बढीमा १५ किलोग्रामसम्म बिक्री गर्दै आउनुभएको छ ।
माछापालनबाट मासिक रु सात लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्लाकै ठूलो माछापालन व्यवसायका रुपमा रहेको तामाङको १४ वटा साना र छवटा ठूला गरी २० वटा रेसवे (पोखरी) छन् । यसरी उत्पादित माछा आफ्नै रेस्टुरेन्ट, काठमाडौँ र चीनमा बिक्री गर्ने गरिएको छ । पाँच रोपनी क्षेत्रफलमा सुरु गरिएको माछापालनका लागि कृषक तामाङले रु ३५ लाख लगानी गर्नुभएको छ । वार्षिक तीन हजार २०० किलोग्राम उत्पादन गर्ने र कम्तीमा रु १६ लाख आम्दानी गर्ने उहाँको लक्ष्य छ ।
यो व्यवसायमा तामाङको छजनाको परिवारसहित दुईजना कामदार आश्रित छन् । बजारको पहुँच, घेरबार र दानाको समस्या रहेको बताउनुहुने तामाङले यो व्यवसायलाई थप विस्तार गर्ने सोच राख्नुभएको छ ।आफ्नो सफलतालाई गाउँका अन्य किसान र युवालाई पनि बाँड्ने गर्नुभएका कृषक तामाङले थप्नुभयो, “विदेश जाने युवाले यहीँ लगानी गरे प्रशस्त आम्दानी गर्न सकिन्छ, किन जान्छौ विदेश भनेर सल्लाह र उत्प्रेरणा जगाउने गरेको छु । सरकारले ढुवानी सहुलियत र बिमाको व्यवस्था गरिदिए अझ राम्रो हुन्थ्यो ।” श्रीमान् विदेशमा हुँदा सधैँ चिन्तित हुने गरेकी टेम्बाकी श्रीमती आङ्जेन तामाङ पनि यतिखेर आफ्नै करेसामा श्रीमानको पौरखमा साथ दिन पाएर निकै दङ्ग हुनुहुन्छ । विदेशी भूमिमा जोखिमपूर्ण तवरले कमाएको पैसाभन्दा यहीँ मिहिनेत गरेर कमाएको थोरै रकमले आनन्द मिल्ने उहाँले बताउनुभयो ।
कृषक तामाङले ‘कृषि रेन्बो ट्राउट माछापालन’ उद्योग नामबाट माछापालन व्यवसाय सुरु गरेका हुन् । कृषि विकास मन्त्रालय, पशुसेवा विभागको हिमाली आयोजनाको अनुदान सहयोगमा रेन्बो ट्राउट माछा उत्पादन उप–आयोजना सुरु गरिएको हो ।तीन वर्षे अवधिको आयोजनाको कुल लागत रु ३३ लाख २७ हजार ६०९ रहेको छ । विसं २०७० असारबाट सुरु भएको यो आयोजना २०७३ वैशाख मसान्तभित्र सम्पन्न हुनेछ ।
रेन्बो ट्राउट माछा स्वादिष्ट, पोषिलो र स्वस्थ्यकर मात्र हैन, यो पछिल्लो समयमा कृषकको आम्दानीको दरिलो स्रोत पनि बन्दै गएको छ । कम लगानीमा केही मिहिनेत र जाँगर देखाए खेर गइरहेको भिरालो जमिनलाई सदुपयोग गरी यो व्यवसाय सञ्चालन गर्न सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्का पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. टेकबहादुर गुरुङले मध्य तथा उच्च पहाडी भेगमा कृषि उत्पादन घट्दै गइरहेको अवस्थामा उच्च भेग र चिसो पानीमा उत्पादन हुने ट्राउट माछापालन अत्यन्त लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभया – “ट्राउट माछाका लागि अपूर्व सम्भावना छ । पानीको अथाह स्रोत भएको हामीकहाँ ट्राउट माछाको व्यावसायिक उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा उतार्न सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ । यसलाई विस्तार गर्न कृषकमा सचेतना तथा सरकारको तर्फबाट बिमा लगायतका सहुलियत बढाउनु आवश्यक छ । साथै अन्तर्राष्ट्रिय बजारको खोजी गर्न पनि जरुरी छ । उहाँका अनुसार अहिले नेपालका २४ जिल्लामा व्यावसायिक रुपमा ट्राउट माछा उत्पादन सुरु गरिएको छ ।
अमेरिकाको मिसिसिपी र मिजौरी खोलाको रैथाने ट्राउट माछा करिब १५० वर्षअघि जापानमा प्रविधिसहित भित्र्याइएको थियो । नेपालमा तत्कालीन राजा महेन्द्रका पालामा भारतको जम्बुकास्मिर र बेलायतबाट ल्याउने प्रयास भएपनि बीचमै अवरुद्ध भयो । सन् १९८८ मा जापान सरकारको सहयोगबाट ५० हजार ट्राउट माछाको अण्डा ल्याएर ललितपुरको गोदावरीमा हुर्काइएको थियो । त्यसको करिब १२ वर्षको मिहिनेतपछि निजी क्षेत्रमा व्यावसायिक उत्पादन गर्न सफल भएको बताइन्छ । सन् २००६ देखि व्यावसायिक उत्पादन भइहआएको छ । सुरुमा नुवाकोट ककनीका स्व. गोपाल लामाले ट्राउट माछा उत्पादन गर्नुभएको थियो ।
पशु चिकित्सक डा. मनोजकुमार साहीका अनुसार रेन्बो ट्राउट माछाको सुरुवात नेपालमा सन् १९६० को अन्त्यतिर भारत, जापान र बेलायतबाट भित्र्याइएको इतिहास पाइन्छ । तथापि अन्तिमपटक सन् १९८८ मा जापानबाट ल्याइएको थियो ।हिमाली आयोजनाले रेन्बो ट्राउट माछा उत्पादनका लागि पाँचवटा जिल्ला सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ र मुस्ताङमा उप–आयोजना सञ्चालन गरेको र तीमध्ये रसुवा जिल्लालाई विशेष प्राथमिकतामा राखेको आयोजनाका निर्देशक डा. अमरबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हाल रसुवामा कृषि रेन्बो ट्राउट माछापालन उद्योगसहित आयोजनाले थप दुईवटा उप–आयोजना सञ्चालन गरिरहेको छ ।
नेपालमा ट्राउट माछा अहिले वार्षिक करिब ४०० मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसको उत्पादन १४ देखि १५ महिनाको अवधिमा एक हेक्टर क्षेत्रफलमा २०० मेट्रिक टनसम्म उत्पादन हुन्छ । विज्ञहरुका अनुसार ट्राउट माछाका लागि शून्यदेखि २५ डिग्री सेन्टिग्रेट तापक्रम उपयुक्त मानिन्छ । ट्राउट माछा भुरा हालेको १४ महिनाको उमेरमा २०० देखि ३०० ग्रामसम्म हुन्छ । अहिले यो माछा बजारमा एक हजार १०० देखि एक हजार ५०० सम्ममा बिक्री भइरहेको छ ।