कोरियाली सांसदहरुले दिए १ करोड २२ लाख
देवेन्द्र सम्बाहाम्फे
सोल-भूकम्पका कारण क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरुको पुन निर्माण र घरबार बिहीन भएका नेपाली जनताको पुनर्बासका लागि दक्षिण कोरियाली सांसदहरुले १ करोड २२ लाख रुपैयाँ (१३ करोड २४ लाख ६८ हजार वन) सहयोग प्रदान गरेका छन् ।
सो रकम कोरियाली संसदका सभामुख चुङ उइ ह्वाले बिहिबार एक कार्यक्रम आयोजना गरि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामामार्फत कोरिया रेडक्रस सोसाइटीका अध्यक्षलाई हस्तान्तण गरेका थिए । एक सदनात्मक रहेको कोरियाली संसदमा ३ सय सदस्य रहेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख चुङले नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति आफु र सम्पूर्ण कोरियाली सांसदहरु मर्माहत भएको जानकारी गराए । आफ्नै कार्यकक्षमा आयोजना गरेको कार्यक्रममा सभामुख चुङले यहांका सांसदहरुले सर्बसम्मतीबाट नेपालको भौतिक संरचनाहरुको पुन निर्माण र पुनर्बासमा सहयोग पुर्याउन कोरियाली सरकारसंग माग गरेको पनि अवगत गराए |
सभामुख चुङले दैबी बिपत्तीको समयलाई नेपाली जनता र सरकार मिलेर पार गर्ने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले भूकम्पले निम्त्याएको बिपदमा तत्काल कोरियाली सरकार, संसद, ब्यापारी, उद्योगपति, कलाकार, परोपकारी संस्था र सर्बसाधारण जनताले प्रदान गरेको आर्थिक, प्राबिधिक सहयोग र सद्भावनाप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद ब्यक्त गरेका थिए । राजदूत लामाले मित्र राष्ट्रहरुबाट निरन्तर सहयोग तथा सद्भाव प्राप्त भइरहने बिश्वास पनि व्यक्त गरेका थिए ।
सो अवसरमा सत्तारुढ सेन्युरी पार्टीका संसदीय दलका नेता यो सेङ मीन बिपक्षी दल एनपीएडीका नेता जोङ कुल, संसदका महासचिब पार्क ह्योङ जुन र नेपाली दूताबासका उपनियोग प्रमुख राजाराम बर्तौलाको उपस्थिति रहेको थियो ।