Advertisement
SKIP THIS

सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट


यात्राहरु सबै अपेक्षित मात्र हुँदैनन् ।सबै अनपेक्षित पनि त हुँदैनन्। बरु कहिलेकाहीँ नियमित यात्रा भित्रैबाट अनपेक्षित यात्रा तय भैदिन पुग्छ। समय र गतिको पुरक सम्बन्ध जस्तो। मानिसको जिवन नै त जन्मदेखि मृत्युबिचको यात्राहो। देश छोडेर पृथ्विको अर्को भुगोलमा पुगेको एक परदेशिको यात्रा पनि जिवनचक्र भित्रकै एउटा यात्रा नै त हो ।

आत्मिय मित्र तथा कवि समिर तामाङ बम्जनजीको “मजदुरको देश”  शिर्षकको एउटा कवितामा , एउटा श्रमिक जहाँ श्रम गर्न पाउँछ र श्रमको सम्मान हुन्छ।त्यहि नै उसको देश हुन्छ भनेझैँ , घरिघरि हो  कि जस्तो लागेर आउँछ। यस्तो लाग्नुको कारण आफैले पनि परदेशी भुमिमा अहिले सम्म करिब छ सात वटा वर्षहरु फटाइसकेकाले पनि होला।अझै कति बिताउनु पर्ने हो।थाहा छैन।यो प्रत्येक परदेशिएकाहरुको अनुत्तरित प्रश्न पनि हो। कोरियाको यो छ सात वर्षमा छ सात वटै वसन्त्त, ग्रिष्म _ हिउँद लगायतका ऋतुहरु बिताइए ।

सदाझैँ यस वर्षको गर्मि बिदा पनि अङ्ग्रेजी मिति अनुसार अगष्ट महिनाको पहिलो हप्तामा पर्यो। संयोगले समिर जि लगायत हामी केहि साथिहरुको एकदुइदिन बिदा मिल्न गयो। करिब एक हप्ताको बिदामा कतै जाने कि! भन्ने सल्लाह भयो।  ४ जना साथिहरुले राजधानीबाट पुर्व २१० कि.मि बढि दुरिमा पर्ने खाङ्वन्दो प्रान्तको खाङ्नुङ भन्ने नगरको छङ्दोङ्जिन भन्ने ठाउँमा जाने सल्लाह गर्यौँ । तर अरु २ जना साथिको काम परेपछि अन्तत: फेरि समिर जि र म मात्र भयौँ | हामी दुइ मात्र भने पनि जाने निधो गरियो। अगष्ट २ तारिक शनिबारको दिन हामी आ- आफ्नो कोठाबाट निस्कियौँ । लोकल बसको यात्रा बाट राजधानी सियोलसम्म जाने निधो गरियो।त्यसपछि पुन: एक्सप्रेस बस चढेर गन्तव्यको यात्रा गर्ने योजना तय भयो।रमाइलो चाहिँ राजधानी सम्म जाने बस दुबै जना सङ्गै चढ्ने योजना थियो तर सिट प्याक भएकोले म चढेर आएको बसमा समिर जि अटाउनु भएन।म अगाडि गएँ ।समिर जि लोकल बस र ट्रेनको यात्रा गरेर एक घण्टा पछि मात्र आइपुग्नु भो।त्यतिबेला सम्म मैले युटुवमा नेपाल आइडलको एउटा एपिसोड नै हेरेर सकाएछु।  जसले कुर्न सजिलो र रमाइलो पनि भयो।

मैले अगाडि नै १ बजेर ०५ मिनेटको बसको टिकट काटेर राखेको थिएँ ।त्यसैमा यात्रा सुरु गरियो।ठिक १:०५  मै बस गुड्न सुरु भयो। नयाँ ठाउँको यात्रा भएकाले उत्सुकता र रमाइलो महशुस हुँदै थियो।राजधानीको हानगाङ नदि तरेर बसले आफ्नो पुर्व लाग्ने बाटो समात्यो।अर्थात् एक्सप्रेस हाइवे ।हामी बसबाट देखिने बाहिरका दृश्यहरु अवलोकन गर्दै बढ्यौँ ।कतिपय ठाउँका फोटो र भिडियो समेत खिच्दै गइयो ।बस आफ्नै रफ्तारमा गुडिरहेको  थियो।एक्प्रेस हाइवेको गज्जबको फाइदा कतै ट्राफिक लाइटमा अडिनु पर्दैन थियो। दक्षिण कोरिया आफैमा ६५% बढि भुभाग पहाडले ढाकिएको छ ।जसमा ९ वटा प्रान्त मध्ये यो खाङ्वन्दो सबैभन्दा बढि पहाडि भुभाग भएको प्रान्त हो।तसर्थ बाटामा प्राय पहाड नै पहाड देखा पर्थे।बिच बिचमा थोरै समथर र भिरालो जमिन भएको ठाउँमा बस्ति देखिन्थे।भौगोलिक हिसाबले विकट जस्तो मानिएपनि सडक सन्जाल र विकास अनि सुविधाले त्यस्तो विकट नै जस्तो देखिदैन थियो। यात्रा जारी थियो। मलाइ अघिल्लो रातमा त्यति राम्रो निद्रा परेको थिएन ।नयाँ ठाउँको यात्रा भएकोले  बसबाट दृश्यअवलोकन गर्दै जाने मन थियो। तर थोरै समय निदाएछु।समिरजिले भने त्यो मौका गुमाउनु भएन छ। बाह्य दृश्यलाइ सानो सानो क्लिपमा रेकर्ड गरेर टिकटकमा समेत पोष्टयाउन भ्याउनु भएछ। जहाँ म झुल्दै निदाएको समेत क्लिप पनि समेटिएको रहेछ। एकछिन त्यसैले अर्को रोमान्चकता थप्यो। पछि हेरेर दुबै जना हास्यौँ । यात्रा अगाडि बढिरहेको थियो। करिब दुइ घण्टाको यात्रापछि फ्यङछाङ भन्ने ठाउँको एक छिन आराम गर्ने ठाउँमा( ह्युगेसो) पुगियो।त्यहाँ ड्राइभरले १५ मिनेटको समय दियो।  जुन स्थान अघिल्लो कार्यकालका पुर्वराष्ट्रपति “मुन्जेइन” बस्ने क्षेत्र हो। यसैपनि पहाडी भुभागसहितको प्रान्त र स्थान।बिलकुलै गाउँ देखिन्थ्यो। यहि एक्सप्रेस हाइवे बाहेक अन्य सबै गाउँ थिए । पुर्वराष्ट्रपति जस्तो मान्छे, यस्तो गाउँमा गएर साधारण जिवन बाचिरहेका छन्। त्यो स्थान देख्दा अचम्म पनि लाग्यो। तर केहि समय  अगाडी नेपाली समाचार माध्यममा हाम्रा पुर्व राष्ट्रपतिहरुले आफ्नै घर हुँदा हुदै पनि मासिक घरभाडा लगायतका विभिन्न सुविधा सहित वार्षिक ३५ देखि ५० लाख बराबरको सुविधा लिने गर्छन भन्ने समाचार पढेको थिएँ । तर उनि  मुन्जेइन जम्मा २ जना सुरक्षा लिएर गाउँमा बस्छन् भनिन्छ।आलु, प्याज लगायत फलफुल, तरकारी खेति गर्छन्।हाइकिङ गर्ने गरेर दैनिकि बिताउँछन् ।बरु एउटा पुस्तकालय समेत स्थापना गरेका छन्।मलाइ त्यहाँ पुग्दा ल्याटिन अमेरिकी देश उरुग्वेका विश्वका सबैभन्दा गरिब राष्ट्रपति भनेर चिनिने ” होसे मुहिका- पेपे” को पनि याद आएको थियो। उनले उस्तै साधारण जिवन बिताएका राष्ट्रपति थिए। उनि वहालवाला राष्ट्रपति हुँदा समेत राष्ट्रपति भवनमा बस्न मानेन्।  न तलबभत्ता लिए। लिएपनि सबै जसो दान गर्थे।त्यो  प्रेरणादायि कुरा पनि सम्झिएँ । कसैबाट प्रभावित भएर सिक्नु पनि त ठुलो कुरा हो भन्ने लाग्यो। मनमनै दुइ पात्रप्रति श्रद्वाभाव  जागेर आयो।ड्राइभरले दिएको १५ मिनेटको समयमा हामी झरेर पाइखाना गयौँ ।फ्रेस भएर एक- एक कप कफि लियौँ । मैले एउटा “सन – ग्लास” पनि लिएँ ।त्यति गर्दा १४ मिनेट सकिसकेछ।ड्राइभरले हामीलाइ नै कुरिरहेका रहेछन्।हामी बस चढेपछि तुरुन्तै बस कुदाउन सुरु भयो।कारण,  कोरियनहरु समयको अत्यन्तै महत्व राख्छन ।

पुन; थोरै समयको आरामपछि गन्तव्यतिरको यात्रा सुरु भयो।हामी उसैगरि बाहिरि दृश्य हेर्दै अगाडि बढ्यौँ ।ठुला र फराकिला बाटाले गर्दा बसको यात्रा आनन्ददायी थियो। पहाडी क्षेत्र भएपनि कतै स्याउ, कतै अङ्गुर त कतै प्याज खेति देखिन्थे।खालि जमिन त्यति देखिदैन यहाँ ।त्यो बहुत अचम्म लाग्छ।नेपालमा भने एउटा सर्वे अनुसार पाँच लाख परिवारले ग्रामीण स्थानको घरबारी छोडेर स्थानान्तरण भएको समाचार विश्व घटना भन्ने युटुव च्यानलले प्रसारण गरेको थियो। दिमाखमा त्यो कुरा पनि सम्झेँ ।यहाँ पनि सहर केन्द्रित बसाइ नभएको भने होइन।यसै यात्रा बिच करिब डेढ घण्टा पछि खाङ्नुङको बस टर्मिनलमा पुगियो। हाम्रो बसको यात्रा पनि यहिँ सम्मको थियो।बसबाट झर्यौ।अन्य ३/४ जना नेपाली साथिहरु पनि उतै जाने रहेछन्।उनिहरु पनि मोबाइलमा नक्सा हेर्द जाने तरखर गर्दै थिए।हामी दुइजना पनि त्यसै गरि हेर्दै थियौँ ।तर धेरै वटा बस परिवर्तन गर्नुपर्ने देखेपछि ट्याक्सि चढ्ने निधो गर्यौँ । त्यसभन्दा अगाडी बासबस्ने स्थानको टुङ्गो लगाउनुपर्ने थियो।तसर्थ गुगलबाट सर्च गरेर होटलमा फोन गरि कोठा बुक गर्यौ।त्यसपछि ट्याक्सि चढेर करिब ३० मिनेटमा होटल पुग्यौँ ।लगभग ५ बजिसकेको थियो।पुन: छोटो यात्रा गरियो। होटलमा गएर अनलाइन बुक गरेको जानकारी गराएपछि साँचो लिएर कोठा गयौँ ।केहि छिनको आराम पछि हामी बाहिर टहलिन निस्कियौँ ।

यतिबेला समय करिब ६ बजिसकेको थियो।तर गर्मिको समयमा दिन लामो हुने भएकोले भर्खर सुर्यले आफ्नो रङ परिवर्तन गरेर रातो हुदै ओझेल पर्न खोज्दै थियो। हामी सिधै समुन्द्र किनारमा गयौँ ।गोधुली साँझ पर्न लागिसकेकाले मान्छेहरुलाइ समुन्द्रमा पौडी खेल्न बन्द गरिसकिएको रहेछ।तर किनारमा बसेर सामुद्रिक छालहरु हेर्न र नजिकै जान भने दिइएको थियो।हामीलाइ चाहिएको पनि त्यति नै थियो।साँझपखको सामुद्रिक तट , मानिसहरुको धेरथोर जमघट ।क्षितिजमा सुर्यास्त हुदै गरेको क्षण ।हुत्तिएर आउने समुन्द्रका छालहरु वास्तवमै अत्यन्त लोभलाग्दा दृश्यहरु थिए।अरुबेलाको प्रेसर वास्तवमा त्यहि छालले बगाएर लगेझैँ पनि भयो।हामी फोटो सुट गर्ने, टिकटक बनाउने , छाल सङ्ग जिस्किने गर्दै निकै बेर त्यहाँ रमायौँ । वास्तवमा दुखि हुने अनेक कारण होलान।तर खुशि हुने स्रोत आफ्नै तत्परता मात्र हो। यो क्रम सकिएपछि थोरै भोकको अनुभव भयो खासमा भोकको अनुभव त हामिलाइ बस टर्मिनलमा झर्ने बेलामा  पनि  नभएको भने  होइन ।त्यसपछि तत्काललाइ भोक मेटाउन केहि कुरा खाने कुरा भयो।तट नजिकै “स्ट्रिट फुड” को एकल स्टल थियो।जहाँ सामुद्रिक परिकार थिए।लाइभ कोरियन गित घन्किरहेको थियो ।स्टलवालाले केही पेशेवर गायक गायीकाहरुलाइ राखेर लाइभ कन्सर्टको आभाष दिलाइरहेको थियो । भन्ने हो भने, माहोल हेर्दा त्यहाँ एकल स्टल भएकोले तिनको एकल साम्राज्य थियो । मानिसहरु कोरियन रक्सि सोजु र बियर खाँदै थिए। समुन्द्रको किनारमा बसेर समुन्द्री खानाको रसस्वादन गर्ने प्रस्ताब गर्नु भयो समीर जि ले । नयाँ ठाउँ नयाँ उत्साह, नयाँ अनुभव महसुस हुँदै थियो । त्यस अघिका अनेकन सरसंगत, संवाद र सहयात्राहरुले म थोरबहुत परिचित थिएँ उहाँको शैली सँग । कुनै बिशेष ठाउँ, विशेष अवसर विशेष बस्तुस्थितिलाइ अझ विशेष बनाउने उहाँको आफ्नै एक हदसम्मको सन्तुलित थ्योरी थियो । जसलाई त्यहाँ पनि एप्लाइ गर्नेवाला हुनुहुन्थ्यो।  म भने आफ्नै निती सिद्वन्तमा अनुबन्धित र अडिग रहेको कुरा पनि उहाँलाइ जानकारी थियो । साँझमा पनि गर्मी उस्तै थियो स्टलभित्रको पंखाहरु चलिरहेका थिए । हामी गएर  बसेपछी पंखालाइ हामितर्फ फर्काउदै अर्डर लिन आए । के खाने भन्नेमा हामी स्पष्ट थिएनौँ एकछिन अनकनाउदै पहिला चिसो स्लाइडर ल्याउन भन्यौँ। त्यसबिचमा अलि फरक हाउभाउमा, सवैतिर यस्तो गर्मी छ यो कान चाहिँ किन चिसो हुमन जि भन्नुभो। मैले बिनाप्रतिकृया हेरेँ । पत्याउनुभएन? भन्नुभो । मैले भनेँ कान चिसै हुन्छ नि । हो कान चिसै हुन्छ यस्तो गर्मी छ आज कान पनि तताऔँ भन्नू भो । मैले आशय बुझेको थिएँ तर अवाक् भएजसो ।त्यसपछी उहाँको ब्याख्यात्मक अनुरोध लाई नकार्न मन लागेन । हामीले पनि अक्टोपसको सुकुटि, कुखुराको फ्राइ गरेको खुट्टा एक सोजु , एक बियर र एउटा स्प्राइट मगायौँ । म अन्य बेला धेरथोर बियर मात्र पिउने मान्छे भएपनि छोडेको निकै भएको थियो।तर त्यस साझ समिर जि को अवस्था र अनुरोधलाइ स्विकारेर थोरै बियर लिएर साथ दिनुपर्ने बाध्यता आइलाग्यो। त्यति बेला एउटा  नेपाली उखान  “गाँस छोड्नु तर साथ नछोड्नु” भन्ने याद आयो। बस्दै जाँदा मलाइ कान तताउने  शब्दसंग अलि रमाइलो लाग्यो र सोधेँ यो शब्द कसरी  आयो? उहाँले त्यो शब्द आफ्नो नभएको बरु लेखक खगेन्द्र संग्रौलाको संस्मरण संग्रह “सम्झनाको कुइनेटोहरु”  भित्र रहेको निर्मल लामा सँग सम्बन्धित एउटा संस्मरणमा निर्मल लामाले उक्त शब्द प्रयोग गर्ने गरेको र शब्दलाइ ब्यबहारमै प्रयोग गरेबापत पार्टीभित्र आलोचना सहनु परेको छोटो किस्सामा आफ्नो स्पष्टीकरण टुङ्ग्याउनु भयो । सामुन्द्रिक किनारमा समुन्द्रको छाल, हावाको झोक्का सङ्गै हामी केहि बेर त्यहिँ अनेक गफ गर्दै रमायौँ । त्यसपछि अलि अगाडी पट्टि गएपछि तटबाट समुन्द्रको थोरै बिच भागतिर अवलोकन गर्न बनाइएको ब्रिजतिर गयौँ। पारिपट्टी अघि छोडेर आएको स्ट्रीट स्टलमा गीत बजिरहेकै थियो । बास्तवमा त्यसले एकल साम्राज्य जमाइरहेकै थियो। हामी एकर्कामा कुरा काट्यौँ आलोचना गर्यौ खासमा त्यसले एक किसिमको लुट नै मच्चाइरहेको थियो । त्यतिबेला १० बजिसकेको थियो। समुन्द्रका छालहरुको आवाज, चिसो हावाका झोक्काहरुको स्पर्शले गर्मिको समय भएपनि बडो आनन्द आइरहेको थियो।निकै बेर त्यहाँ बसेपछि त्यो दिनको रुटिनलाइ बिट मार्ने बिचार गरियो।बेलुकाको थोरै खाना खाने बिचार गरियो।होटेल लगभग बन्द गर्ने तर्खर रहेछ सबैतिर। समुन्द्रमा गएपछी समुन्द्री खाना नै खाने चाहनाको जोडबलमा बल्ल एक ठाउँमा हाम्रो नेपाली स्वाद मिल्ने अलि पिरो हुने सामुन्द्रिक परिकार हेसानमुल पाउने रेस्टुरेन्ट भेटियो ।बेलुकाको खाना खाएपछि यात्रा र, त्यहाँको गुमफिरको थकानले  गर्दा सुत्ने स्थानतिर लागियो।

यो स्थान कोरियाको सबैभन्दा पहिला सुर्योदय भएको देखिने ठाउँ रहेछ।त्यसैले नाम नै전동진(छ्न्दोङ्जिन) भनिएको रहेछ।हामीले पनि बिहानै त्यस अवसरको उपयोग गर्नुपर्ने थियो।तर हामी अघिल्लो रात ढिलो सुतेकाले बिहान १० बजे सम्म बिउँझिएछौँ। त्यो अवसर गुम्यो।हामी त्यसपछि उठेर नित्यकर्म सकेपछि बाहिर निस्कियौँ । दिउसोको खाना खाने समय भैसकेकाले हामी खाना खाने मेसोतिर लाग्यौँ ।अघिल्लो दिन नै सामुन्द्रिक तटको दृश्यअवलोकन गरिसकेकाले अब हामी त्यहिँ नजिक रहेको “सनक्रुज रिसोर्ट” मा उक्लिने योजना गर्यौँ । वास्तवमा यस स्थानको आकर्षण यहि पानीजहाज आकारको रिसोर्टकै कारण बढेको देखियो। स्वदेशी तथा विदेशी धेरै पर्यटकको उपस्थिति देखिन्थ्यो।दक्षिण कोरिया वास्तवमा रोजगारीको मात्र गन्तव्य नभएर पर्यटनमा पनि राम्रो हिस्सा ओगट्न सफल देश मानिँदो रहेछ। वार्षिक ३ करोड विदेशी पर्यटक भिजिटका लागी आउँछन भन्ने समाचार पढेको थिएँ । क्षेत्रफलको हिसाबले नेपाल भन्दा आधा सानो तर जनसङ्ख्याको हिसाबले डबल धेरै भएको कोरियामा पर्यटकहरु यति धेरै भित्रिनु अत्यन्तै ठुलो कुरा हो।प्राकृतिक रुपमा मलाइ लाग्छ हामी निकै धनि छौँ । हाम्रो प्रकृतिले दिएको त्यहि उपहारलाइ सजाए मात्र पुग्छ।तर यहाँ कृत्रिम विकास अत्यधिक गरेर आकर्षण गरिएको छ । फरक त्यति हो,  हाम्रो देशमा समुन्द्र छैन। हामी पानीजहाज आकारको रिसोर्टमा पुग्यौँ ।१० तलाको यो रिसोर्टमा आकार देखि सम्पुर्ण सुविधा समुन्द्रमा चल्ने पानीजहाजकै जस्तो उपलब्ध गराइएको रहेछ। यसो सोच्यौँ एउटा व्यक्तिको थोरै मात्र पनि नयाँ आइडिया भयो भने प्रत्येक स्थानले मुहार फेर्ने रहेछ।यस किसिमको सोँचाइ यहि रिसोर्टलाइ देखेर उत्पन्न भएको थियो। तल समुन्द्र, त्यसको डाँडामा यस रिसोर्ट थियो।समुन्द्रको किनारबाटै पर्खाल र लिफ्ट लगाएर माथि जाने बाटो समेत थियो। हामी सिधै नवौँ तलामा उक्लियौँ । जहाँ थियो अत्यन्त सुन्दर कफिसप। हामीलाइ कफिको लत नै बसिसकेकाले यो “के खोज्दा के मिलेको भन्ने” उखान जस्तै भयो। कफि मगायौँ । समुन्द्रलाइ पर्दा बनाएर अनेक तरिकाले फोटो खिचियो। कफिको चुस्कि र त्यसको स्वादमा गफ सुरु भयो। कुरा त अघि तल यस रिसोर्टको बनावट देखि गम्भिर रुपमा सुरु भैस्केको थियो। तर कफि अगाडी भएपछि झन लम्बिदै गयो।कुरा गर्ने क्रममा हामी आजको कोरिया बिकाशको मेरुदण्ड मानिने सौल-बुसान  एक्सप्रेस हाइवेको प्रसङ्गमा पनि पुग्यौँ । उक्त द्रुत मार्ग बनाउन सन् १९६०/७० को दशकमा तत्कालीन राष्ट्रपति पार्क चुङ हि ले सुरुवात गरेका थिए। त्यतिबेला दक्षिण कोरिया अत्यन्तै गरिब थियो।यहाँका मान्छेहरु अहिले हामी नेपालीहरु विदेशिए जस्तै विदेश जान्थे भनिन्छ।तत्कालिन अवस्थामा कोरियनहरुलाइ जर्मनीमा काम गर्न पठाइएको थियो । जर्मनि सङ्ग ऋण  माग्दा नदिएपछि हाम्रा मानिसलाइ श्रम गर्न दिनुहोस भनिएको थियो रे।त्यसपछि श्रम सम्झौता गरेर पुरुषहरुलाइ कोइला खानिमा र महिला नर्सहरुलाइ अस्पतालमा काम गर्न पठाइएको थियो भनिन्छ।त्यहाँ बाट उनिहरुले पठाएको पैसाले राजधानी सियोलबाट बुसान जाने ४२८ कि. मि  एक्सप्रेस हाइवे बनाइएको थियो ।यो जम्मा १९६८- ७० दुइवर्ष भित्र बनाइएको थियो भन्ने इतिहास छ ।जसले १५ घण्टा बढि समय लाग्ने बाटो ५ घण्टामा झरेको थियो ।जतिबेला यस बाटोको औचित्य माथि नै प्रश्न र विरोध उठेको बताइन्छ। जस्तो हाम्रो फास्ट ट्रयाकको खोकना क्षेत्रमा हाल विवाद छ।तर राष्ट्रपति हि ले टेबलमा स्केल राखेर सिधा रेखा तानेर देखाएका थिए रे समेत भनिएको सुनिन्छ।बरु अर्को रोचक कुरा त्यतिबेला जो आफ्ना नागरिक जर्मनिमा श्रम गर्दै थिए।त्यहिँ गएर राष्ट्रपति पार्क चुङ हि ले तपाइहरुलाइ धितो राखे जसरी यहाँ काम गर्न पठाउनु परेको छ। तपाइहरुको आाँशु र पसिनाले नयाँ बाटो खुलेको छ। देश सुन्दर र उज्यालो हुनेछ भनेर भनेका थिए रे। त्यो प्रसङ्गमा पुग्दा एकछिन भावुक पनि भइयो।लाग्यो यदि, “नेपाल विकास हुन्छ भने प्रत्येक नेपाली केहि वर्षको लागि  धितो बस्न तयार छ।”

त्यो समयमा सुरु भएको एक्सप्रेस हाइवे वास्तवमा अहिले जता गयो ,त्यतै देख्न सकिन्छ।त्यहि बेला  सामाजिक सन्जालमा नयाँ पत्रीका , सिधाकुरा लगायतका अनलाइ खबरले फोटो सहित हाम्रो काठमाडौं – तराइ द्रुत मार्गको समाचार छापे। त्यहि प्रसङ्ग चलेको  हुनाले हामिले पनि सोच्यौँ हाम्रो पनि त बन्दैछ।एकदिन यस्तै बाटोमा हामी पनि दौडिने दिन आउनेछ।नागढुङ्गा- नौबिसे सुरुङ मार्गको पनि याद ।बरु यो चाहिँ सन्चालन हुने तरखरमा छ ।सम्भवतः यो दुइ बाटो नै नेपालको पहिलो सुरुङमार्ग भएको बाटो हुनेछ। काठमाडौं – तराइ जोड्ने द्रुत मार्ग हाम्रो पहिलो एक्सप्रेस हाइवे हुनेछ।तर दुखको कुरा ०७४ सालमा सुरु भएको यो आयोजना ८ वर्षमा पनि सम्पन्न हुन सकेको छैन। जम्मा ४२% काम सकिएको छ। त्यो सम्झिदा फेरि नमिठो लागेर आयो। ७१ कि. मि बनाउन यतिको समय लाग्नु हाम्रो काम गर्ने गति कछुवाको झैँ भएर हो भन्दा फरक पर्दैन। खैर, अस्थिर राजनिति, सबै क्षेत्रमा राजनितिकरण ( politicization) भएपछि राज्यका सबै अङ्गहरुले द्रुत गतिमा काम गर्न नसक्नु स्वभाविक हो। हस्तक्षेप बिनाको राज्यका अङ्गहरु छन भने सत्तामा कुनै पात्रको फेरबदलले प्रभाव पार्दैन भन्ने उदाहरण हेर्न पर जानु पर्दैन।अमेरिकाका राष्ट्रपति ट्रम्प निर्वाचित हुने बित्तिकै १०० भन्दा बढि कानुनमा हस्ताक्षर गरे। यहि दक्षिण कोरियामै तत्कालिन राष्ट्रपति युनसक यलले एकाएक ” मार्सल ल” लागु गरेपछि उनलाइ महाअभियोग लगाइयो।तर गत जुनमा चुनाव नहुन्जेल सम्म राज्यका सबै संस्थाहरुले जनतालाइ उसैगरि डलिभरिको काम गरिरहेको हाम्रै आँखाले देखियो।

पहिलो चरणको कफि सकिएपछि पुन दोस्रो लट मगायौँ । कफिसपको डिजाइन वृत्त(circle) आकारमा गरिएको थियो।त्यो सङ्गै अर्को विशेषता यो बिस्तारै घुम्ने रहेछ। ताकि सबैतिरको दृश्य सबैले देख्न पाउँन्। पहिलो र दोस्रो चरणको कफि पिएर सक्दा यसले एक फन्का लगायो ।नयाँ अनुभव भयो हाम्रो लागि। यतिबेला लगभग अपरान्नको ४ बजिसकेको थियो।हामी त्यहाँबाट निस्किएर पुन फोटो भिडियो खिच्दै ओर्लियौँ ।तल झरेपछि पनि उसैगरि फोटो र भिडियो  खिचियो। उत्त स्थानको मुख्य ठाउँहरु लगभग एकरात दुइदिनको बिचमा घुमिसकिएकाले बेलुका साँझसम्म फर्किने योजना बनायौँ ।मुख्यत: त्यसको भोलिपल्ट मौसम प्रतिकुल रहने र वर्षा हुने भनिएपछि फर्किने निधो गरिएको हो। सानो करिब एउटा टोल जस्तो मात्र स्थान भएपनि यातायातका सबै सुविधा पुगेकाले सो स्थानमा पर्यटनले राम्रो आर्थिक उन्नयन भएको अनुमान गरियो।

यो अनुमान सङ्गै हामीले त्यहाँको भिजिटलाइ विट मारेर अन्तत: फर्किने भयौँ ।छोटो तर अत्यन्त मिठो रमाइलो क्षणहरु बितायौँ ।जसलाइ स्मृतिका पानाहरुमा दर्ज गरेर फर्कियौँ ।पुन; खाङ्नुङ बस टर्मिनल सम्म आइपुग्न ट्याक्सि समायौँ । बसको टिकट अलनाइनबाट बुक गरिसकेकाले चिन्ता थिएन।बरु ५:३० बजे तिर त्यहाँ आइपुगेकाले समय अझैँ बाँकि थियो।किनकि हाम्रो बसको समय ६:२० को थियो।यसपटक हामीले राजधानी जाने बसको टिकट नपाएकाले हामी बस्ने नजिकैको उइजङ्बु नगरमा पुग्ने बस बुक गर्यौँ समय बाँकि भएकोले केहि खाएर चढ्ने कुरा भयो।हामी रेस्टुरेन्टको खोजि गर्न थाल्यौँ । आइतबारको दिन सार्वजनिक बिदा हुने भएकोले र खाना खाने समय नभएकाले पनि धेरै जस्तो बन्द थिए।एउटा भेट्टायौँ र पस्यौँ ।खाना अर्डर गर्यौ।सङ्गै समिरजिले फेरि यो ठाउँको बिदाइको क्षणमा थोरै कान तताउने कुरा गर्नु भो। यात्राको समय भएकोले उचित त थिएन तर फेरि साथकै कुरा आएपछि परिस्थितिको सामना गरियो। खानपिन सकेपछि लगभग ६ बज्यो।बस छुट्ने समय पनि हुन लागेकाले हामी बस टर्मिनल तिर लायौँ । बस आफ्नो समयमा ठिक गुड्न सुरु गर्यो ।हाम्रो फर्कने यात्रा सुरु भो।नभन्दै मौसमको पुर्वानुमान अनुसार बिचबाटो तिर नपुग्दै पानी पर्न सुरु भैहाल्यो। फर्किदै गरेपनि मन आनन्द थियो।चाहेको ठाउँमा गुमेर फर्किएकाले पनि होला।तर त्यस सङ्गै अर्को आपत् पनि आइलाग्दै थियो। दुबैजनालाइ पिसाबले च्यापेर रमाइलो भन्दा बढि कष्ट महशुस हुँदै थियो।बस कुदाइएको १ घण्टा पनि नहुदैको समय थियो यो। एक्सप्रेस बस भएकोले निश्चित स्थान बाहेक अन्य ठाउँमा रोक्दैन थियो।त्यहि  भएकाले पनि यो कठिनाइ आइलागेको थियो।त्यहि बेला महशुस गरियो।यो यात्राको क्रममा थोरै या धेरै जति परिमाणमा भएपनि पिउने कार्य गलत रहेछ।मैले मनमनै शिव परियारको ” पिउदिन भन्दा भन्दै, पिलायो साथिले”  भन्ने गित सम्झिएँ । समिरजिलाइ पनि यात्रामा त्यसो गर्नु उचित नहुने रहेछ भन्ने लागिरहेकै रहेछ।त्यसपछि यात्राको क्रममा अबदेखि  पिउने काम बन्द गर्ने भन्दै “मौखिक सन्धिमा” शाब्दिक हस्ताक्षर गरियो ।करिब डेढ घण्टा जति यात्रा गरेपछि एउटा स्टेसनमा मान्छे चढाउने रुट पर्ने रहेछ।त्यहाँ बस रोकियो।यहि मौकामा चालकलाइ एकछिन रोकिदिन अनुरोध गरेर वास रुम गएर आइयो।त्यसपछि बल्ल आनन्दको सास फेरेर यात्रा सहज भयो।

बसले पुन यात्रा सुरु गर्यो। हामी गफिदै थियौँ ।१ घण्टा कुदेपछि खास आराम गर्ने ठाउँमा ( ह्युगेसो) पुगियो र बस रोकियो।यहाँ ड्राइभरले १० मिनेटको समय दिए।हामी पुन; शौचालय गयौँ ।त्यसपछि एकएकवटा आइस कफि लियौँ ।सायद यतिबेला रातको ९ बजिसकेको थियो।सिमसिम पानी पर्दै थियो।मौसम शितल थियो।१० मिनेटको समय सकिएपछि पुन बस चढियो ।यसपटक पनि हामी नै अन्तिम प्यासेन्जर रहेछौ।हामी आउने बितिकै बस दौडाइयो । जाँदा ३ घण्टा अलि बढि लागेको थियो।तर फर्किदा ४ घण्टा नै लाग्यो।एक्सप्रेस हाइवे र ट्राफिक जाम निकै व्यस्त समय बाहेक नहुने बाटोमा समेत ३/४ घण्टा लाग्ने बाटो भनेपछि दुरिको हिसाबले टाढा नै थियो। जाँदा र आउदा हाइवेका बिचमा ४०/५० भन्दा बेसि सुरुङ मार्ग समेत पार गरियो होला।

सुरुङ मार्गमा प्रबेश गर्दै पिच्छे मनमा फरक अनुभुती हुन्थ्यो ।  दिउँसो सनक्रुज रिसोर्टको दशौँ तलामा रहेको सर्कल क्याफेमा गरेको कुराकानी पुन याद आयो “हाम्रो पनि बन्दैछ” नि । तर फेरि यहि कुरा सम्झिएपछि लाग्यो, बाटोको नाम “द्रुत मार्ग” , काम कछुवाको गतिमा कसरी हुन्छ।उनिहरुले ४२८ किमि २ वर्षमा बनाउन सक्छन् भने हामी ७१ किमि बनाउन १० वर्ष लगाउदैछौँ ।कुदिरहेको द्रुत मार्गलाइ नियाल्दै यिनै कुराहरुले मनमा आन्दोलन गर्न थाले। सोँचे यात्रा भन्दा बढि त मनमा कुरा पो खेल्न थाल्यो क्यारे! झसङ्ग जस्तो भएछु।

लगभग हाम्रो गन्तव्य नजिकिदै थियो। पानी पर्छ छोडेको थियो।तर पानी परेकै कारण शितलता प्रदान भएको थियो।हामि उइजङबु स्टेशन आइपुगियो।त्यतिबेला रातको १० बजिसकेको थियो।तर सहर निदाएको थिएन।किनकि सहर निदाउदैन पनि।हामी यहाँ झरेर पनि पुन:  अर्को लोकल बस चढ्नु पर्ने थियो।समिर जि र मेरो कार्यस्थल र बसाइ फरक फरक भएकाले यहाँबाट छुट्टिएर बस चढ्नु पर्ने थियो।हामीले थकानका कारण त्यसै गर्ने निधो गर्यौँ  र छुट्टियौँ ।कोठा नपुगुन्जेलको लागि पुन अर्को यात्रा गर्दै आफ्नो – आफ्नो गुँडतिर लाग्यौँ ।

यसरी एउटा यात्रामा अनेक अनुभव, तुलना र क्षणहरु मन र मष्तिस्कमा भरण गरेर यात्रा टुङ्गयाइयो । र, अक्षरहरुको पिँजडामा कैद गरेको नियात्रा लाइ छोडिदियौँ बिद्युतिय तरङगहरुको संसारमा अनि हामी कैद भयौँ नित्य दैनिकिको पिँजडामा ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...