काम


कोरियाको काम । बिहान आठ बजेदेखि रातको दस बजेसम्म । ‘खेसोक’ चौध घन्टा । नेपालकालाई के थाहा यसरी नै तीस दिनमा एकतीस दिन काम गरेर कमाइ हुने हो दुई लाख । नुहाइ धुवाइ गरेर ओछ्यानमा पल्टिएँ । किन किन पहिलेका कुराको याद आयो । नेपालमा हुँदा थोरै पैसाका लागि गरेका रमाइला कामको सम्झना भो ।
०००
आमाबा बिहानै उठे । सेतो टिका र खादा लगाइदिदै भने राम्रो राम्रो काम गर्नु, राम्रो कुरा सिक्नु, धेरै पढ्नु । एसएलसी पास भए पछि गाउँमा बसेर पढ्ने ठाउँ थिएन । ठूलो शहर काठमाडौ पुग्नु थियो । तर आमाबाले ठूलो बन्नु भने पनि मेरो मनमा धेरै कुरा थिएन । मलाई ठूलो हुनु थिएन । तर पनि मनमा कता कता लागि रहन्थ्यो पत्रकार बन्न पाए ।

मनको कुरालाई मिल्ने बिषयमा पत्रकारितामा भर्ना गरेँ । जब यो कुरा बालाई कसैले सुनाइ दिए । तिनी रिसाका थिए रे । छोरोले राम्रो बिषय पढ्ला भनेको त यो नामै नसुनेको पत्रकारिता । ती छक्कै परेरे । हाम्रो भेटमा बाले मलाई कहिल्यै यो बिषयमा कुरा गरेनन् ।

पत्रकार हुन्छु भन्ने बनाउने काम बालै नै ल्याएका पानासोनिक रेडियोले गरेको थियो । त्यो बेला मेरा गाँउमा बिजुली बति थिएन । नत पत्रपत्रिका । मनोरञ्जनको एकमात्र साधन रेडियो थियो रेडियो नेपाल । त्यही रेडियो नेपाल हो मलाई पत्रकार बन्न हौस्याउने । रेडियो नेपालको म नियमित स्रोता थिएँ । दिन भरि बज्ने सबै र्कायक्रम कति बजेर कति मिनेटमा बज्छ थाहा पाउँथे ।

कति बज्यो भनेर समेत रेडियो सुनेरै भन्दिन्थे । त्यो बेला रेडियोमा खुबै बज्थे नारायण गोपाल, बच्चु कैलास, प्रेमध्वज प्रधानदेखि लालबहादुर खाती, प्रेमराजा महत, बमबहादुर कार्की । ती सबै पालै पालो रेडियोमा बज्थे । म तिनलाई पालै पालो सुन्थे । बा भन्थे ‘लोक गीत र लोक सेलो आए बजाउने नत्र होइन बुझिस् ।’

‘बुझे ।’ बाको प्रश्न भन्दा पहिले नै उत्तर हुन्थ्यो । तर मलाई आधुनिक, पप, लोक जुन गीत भएपनि चल्ने । बस रेडियोमा गीत बज्न पर्यो । त्यसैले म रेडियो मार्दिनथेँ ।

बाले रेडियो नबजा भन्नुको कारण थियो । एउटा त म बिद्यार्थी । मैले रेडियो मात्र सुने भने बाको छोरोलाई धेरै पढाउने लक्ष्य फेल खान्थ्यो । दोस्रो कारण झन तगडा थियो । हाम्रो घरमा भएको पानासोनिक रेडियोलाई महिनाको एक जोर नयाँ र अर्काे जोर पुरानो टाइगर ब्याट्रि चाहिन्थ्यो । त्यो भनेको कम्तिमा महिनामा ३० रुपैया र्अथात एक दिन रेडियो मैले घन्काएँ भने बाको खल्तिको एक रुपैया चिलिम । अनि त बाको पारो किन नतातोस ।

तर मेरा बा सधै घरका घरै बस्न भ्याउदैनथे । अनि पानसोनिक मेरै झै थियो । घन्काउने बजाउने सबै मेरै काम । आमालाई जे बजाए पनि फरक नपर्ने । उनी सुन्थिन् । उनी लोक सेलो चाही खुब मनपराउथिउन् । रेडियो नेपालले बेलुकी साढे पाँचमा लोकगीतको कार्यक्रम दिन्थ्यो । उनी त्यसमा लोक सेलो कहिले बज्छ सुन्थिन् । मैले धेरै चर्काे बजाउदा भन्थिन् ‘गरि खादैन यस्ले पनि काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।’

रेडियो घरमा आउँदाको कुरो पनि रमाइलो लाग्छ सम्झदा । एक दिन इन्डियाको लाउरेले गज्जवको ठूलो बाकस काँघमा हालेर हाम्रो घर गाउँलाई नै र्थकाउँदै आए । हाम्रो घर मुल बाटैमा छ । अनि हजुर बा भेगकै नम्बरी कर्मी अर्थात कामको सिप जान्ने । राम्रो काठको केही सामान बनाउन प¥यो कि मानिसहरु हाम्रो घरको आँगनमा आउँथे र भन्थे लौ घ्याङाली बाजे यस्तो खालको कुरा बनाइदिन प¥यो । यति हातको यस्तो बुट्टाको । जस्लाई जस्तो चाहिने हो त्यस्तै खालको सामान । हजुरवा तिनका माग अनुसारका सामान बनाउथे । ती बनाउन अराउने मानिस आउँथे र्हेथे र आफूले बनाएको भन्दा पनि राम्रो सामान बनेको देखेर खुशी हुदै भन्थे त्यसै भन्दैन रैछन् है मान्छेले घ्याङाली कर्मी भनेर ।

ती हजुर बा काठको काममा लागेपछि दुनिया बिर्सिन्थे । यो लाउरे आएको दिन हजुरबाको खासै काम थिएन क्यारै त्यतिकै बसेका थिए । लाउरे हजुरबाको नाम लिदै हाम्रो घर आयो । हजुरबाले खै केके कुरा गरे कुन्नि ती लाउरे त्यो दिन हाम्रैमा बस्ने भए । बेलुकाको लागि हिमालमा घाम नपुग्दै रातो भाले ढाल्यो । अनि अरु कुरा धेरै बनाए । मर्लाई पनि खुब रमााइलो लाग्यो । उनले नयाँ कुरा बोकेका थिए । गाउँमा पुजाको जागरम बसेर दोहोरी घन्किएझै गीत घन्किन्थ्यो उनले बोकेको सामानबाट । लाहुरेले बोकेको सामान के रहेछ सोध्न मन लाग्यो मैले सोधेँ उसले बिस्तारै भन्यो लाहुरेको जापनिज जम्बो क्यासेट ।

लाउरे जापानिज जम्बो क्यासेटमा अनेक गीत बजाउँथ्यो । म केही बुझ्दैनथे । शायद हाम्रो घरमा भएका कसैले पनि बुझेनन् । हजुरवाले त भन्नु नै भयो बाबु नेपाली गीत छैनन् ? लाउरेसँग नेपाली गीत पनि रहेछ । उस्ले बजायो लाउरेको रेलिमाई फेसनै राम्रो । घरमा भएका सबै  खुशी भए । मैले पनि बल्ल गीत बुझे । भाले भोज सकियो । भोलिपल्ट हजुरबाले भाका मिलाएर क्यासेट छोड्नका लागि कुरा गरे । लाउरेले मानेनन् । अर्काे पटक बिदामा आउँदा ल्याउने कुरा गरे ।

हजुरवाको भाले भोज बिफल भो । त्यसको एक र्बष जति पछि होला ती लाउरे फेरी आए ।

पहिले जस्तो उसँग ठूलो क्यासेट थिएन । लुगाले सिलाएको झोलामा हालेको सानो बज्ने भाँडो थियो । लाहुरेले हजुरबालाई सामान दिदै भने यो जापानिज पानासोनिक रेडियो हो । निक्कै टिक्छ ।

ला मैले जम्बो क्यासेट भनेको त यो त जापानिज पानसोनिक रेडियो पो रहेछ । लाहुरले आफ्नो बचन पुरा गरे । हजुरबाको मन अलि खिन्न भएपनि फेरी भाले भोज भो । रेडियोमा समाचार आयो, गीत आयो, अनि अरु के के हो के के ? सबै हामीले बुझ्ने भाषामा । मलाई पहिलेको लाहुरेले नदिएको क्यासेट भन्दा यो राम्रो लाग्यो । बोक्न पनि सजिलै सकिने । त्यसपछि सुरु भयो रेडियो र मेरो सम्वन्ध । केही दिन हजुरबाले रेडियो कसैलाई छुन दिएनन् । म हजुरबा नभएको मौकामा खोल्ने बन्द गर्ने र बोकेर हिड्ने गर्थे ।

खै के भएर हो हजुर बालाई रेडियोले तानेन । त्यसपछि बाले त्यसको हेरबिचार गर्न थाले । अनि मेरो अधिकारै भो चलाउने । पुर्खेउली सम्पतीको हेरचाह । रेडियोको मिटर हुन्थ्यो हातैले घुमाउने । त्यो खै के भएर हो बज्दै जाँदा स्याँ आउँथ्यो । त्यसलाई मिलाउने सिप मेरा बाको भन्दा मेरो बढि थियो । पहिले पहिले मलाई विस्वास नगरेका बाले आफै मिटर घुमाउथे । उनले धेरै चोटी घुमाउदा पनि स्याका स्या भएपछि तिनले यो काम मलाई जिम्मा दिए ।

मैले मिटर बज्ने ठाँउ कन्ठै गरे । काठमाडौ क्षेत्रीय प्रशारण, पोखराको क्षेत्रीय प्रशारण, सुर्खेत क्षेत्रीय प्रशारण कतिमा अनि कति बजे के कार्यक्रम आउँछ । त्यसपछि बाले रेडियोको जिम्मा मलाई नै दिए । एक दिन बाले रिसको झोकमा भने

‘तँ यसरी नै रेडियोमा झुन्डि रहिस भने के बन्लास खै ?’

‘म पनि यसरी नै रेडियोमा काम गर्छु ।’ बाले मेरो कुरा पत्याएनन् ।
००००

गाउँमै थाहा थियो पत्रकारिता पढाइ ग¥यो भने रेडियोमा बोल्न पाइन्छ । पढाइ आरआरमा हुन्छ ।
पढेको धेरै समय मेरो रेडियोमा बोल्ने सपना सपना नै रह्यो । पत्रकारिताको कुरा हुन्थ्यो । रेडियोको इतिहासको हुन्थ्यो । तर कसरी रेडियोमा बोलिन्छ कसरी रेडियो नेपालमा पुगिन्छ । कुन गेट सजिलो हो कहिल्यै कक्षामा छलफल भएन ।  तैपनि कुनै न कुनै दिन आउला भनेर मैले हरेस भने खाइन । त्यस बीचमा रेडियोमा बोल्ने प्रयास नै नगरेको भने होइन । कोठामा रेडियो छैदैथ्यो । मन पर्ने रडियो कर्मीको शैलीमा आफ्नो बोली बनाउने प्रयास भो । र्कायक्रममा बोल्दै गर्दा मेरो पनि उसको झै स्वर मिले जस्तो लाग्थ्यो । तर साथीसँगीलाई सुनाउन भने लाज ।

बोल्दा पनि मेरो शुद्धाशद्धी थिएन । मेरो रेडियोमा बोल्छु भन्ने सपना झन्डै बिलाउदै गएको । त्यस्तैमा काठमाडौको एउटा एफएममा काम पाइएला जस्तो भो एक घन्टा बोलेको दुईसय पचास । मेरो भागमा एउटा र्कायक्रम हप्ता भरिमा । बोल्नको लागि सिँहदरबारको स्टिुडियो जानु पर्ने । रेडियोबाट बोल्न पाउने कुराले मात्रै पनि झन्डै र्हटफेल । र्कायक्रम र्रेकडेड थियो । स्टुडियो गज्जबको थियो । भित्र बोलेको बाहिर नसुनिने अनि बाहिर बोलेको भित्र । हात चलाएको हाँसेको सबै देखिने । बिचमा सिसा राखिएको थियो । त्यही सिसा बाहिरबाट टेक्निसियनले भित्र बोल्नेले दिएको इसराको गीत बजाउँथे, बिज्ञापन बजाउँथे, रिर्पाट बजाउँथे ।

मेरो रेडियोमा बोल्ने दिन आयो । दिएको समय भन्दा अलि अघि पुगेको थिएँ । म भन्दा अघिको र्कायक्रम लाइभ थियो । उनले यसरी नै र्कायक्रम गरे । टेक्निसियन हाँसी हासी र्कायक्रम बजाइ रहेका थिए । लाग्यो मज्जैको मान्छे रहेछन् । लाइभ र्कायक्रम सकियो अनि पालो आयो मेरो । टेक्निसियनले बिभिन्न इसारामा भन्ने तरिका सुझाए । ब्रेकको बेला के भन्ने, गीत बजाउने बेलामा के भन्ने, बिज्ञापनको बेलामा के भन्ने । स्टुडियो छिर्ने बित्तिकै मलाई निक्कै असजिलो भयो । टेक्निसियनले सिकाए एयरफोन लगाउन लगाए ।

अनि उनले सुरु भनेर इसरा गरेपछि कसरी बोल्ने भनेर पनि भने । उनी बाहिर निक्लिए । स्टुडियोको ढोका लाग्यो । मैले एयरफोन टाउकोमा राखेँ । त्यसको भारी कति भने मैले तामाकोशीमा दस पाथी चामाल बोके भन्दा पनि बढि । के बोल्ने भनेर स्क्रीप्ट लेखिएको थियो । पहिलो शब्द नमस्कार स्रोता भन्नु पर्ने ।  टेक्निसियनले बोल्ने इसारा गरे । मेरो मुखबाट नमस्कार भन्ने शब्द निस्कदै निस्केन । साटोमा स्वास्वा र अँअँअँ मात्रै निस्कियो । टेक्निसियनले सम्झाए । नडाराइ भन । यो लाइभ होइन अलिअलि बिग्रे बनाउन मिल्छ । उनी फेरी स्टुडियो बाहिर निस्किए ।

अनि फेरी सुरु भन्ने इसारा दिए । स्क्रिप्ट अक्षर यताउती हल्लियो । पढ्न खोज्यो झन दोडिन्छ । कहिले यता कहिले उता लौ फसाद । मैले अहिले सम्म यस्तो अक्षर हल्लिएको थाहा थिएन । यसरी अक्षर चल्न थालेपछि डर बढ्दै गयो । झन्डै सास बन्द होला जस्तो । नमस्कार भन्न खोज्यो न भन्दा अरु केही आउँदैन । बल्ल बल्ल न भनियो । त्यहाँ भन्दा अरु शब्द मरि आएन । सक्दै नसकेपछि मलाई भाउन्न भो । एसि भएको कोठामा पसिना पसिना भएँ । धेरै समयमा पनि केही भन्न नसकेपछि अघि सम्मको टेक्निसियन डन भए । केहो रेडियोमा बोल्छु भनेर मात्रै हुन्छ ? बोली पनि चाहिन्छ नी ।

अनि उनले आफ्ना हाकिमलाई गाली गरे कस्ता कस्ता मान्छे पठाउँछन् मान्छेहरु । उनको कुराले सिँहदरबार र्छिदा आफै सिँह झै सम्झेको म अब पानीमा भिजेको बिरालो भन्दा पनि तल पुगेँ । दाइ अलि प्राक्टिस पुगेन जस्तो छ । म अलि पढेर फेरी रेर्कड गरुँ है । उनले ठूलो आँखा तरे ।

मैले हुन्छ भनेको बुझेँ । सोचे साला कत्रो प्राक्टिसथ्यो कोठामा । कस्तो मज्जाले नमस्कार स्रोेता भन्न सक्थे । रेडियो नेपालको एकसय एक नम्बरी र्कायक्रमको नक्कल गर्न सक्थे । अरु त अरु हजुरबाले लाउरेबाट भाले भोजमा उपहार पाएको रेडियो काँधमा झुन्ड्याएर गोठाला जाँदाको पनि प्राक्टिस थियो । यी सब कुरा सम्झेर आउँदा आफै देखेर वाक्क लाग्यो । अनि यत्रो लामो सपना पुरै हुन लागेर फेरी हराउन लागेकोमा पछुतो पनि ।

मनमनै सोचे हुन्न केटा यसरी त कम्मर कस्नु पर्छ । रिसाएर डन भएका टेक्निसियनलाई सानो स्वरले सोधे सर बाथरुम कता छ ? अघि दाइ भनेको उनलाई सरमा प्रमोशन गरे तर उनी बोलेनन् । आँखैले इसारा गरे स्टुडियो बाहिर । बाथरुममा पसेर मुख धाएँ । नयाँ जोसले हातमा भएको स्क्रिप्ट पढेँ । खरर गयो । अघि स्टुडियो भित्र यसरी गाको भए । फेरी दोहो¥याएँ । फेरी नअट्की नै खरर गयो । अलि जोस बढ्यो ।
अनि स्टुडियोमा छिरेँ । टेक्निसियनले डाइलग मारे के हो भाइ पिसावै आयो कि के हो ?

हो भनुँ कि होइन । केही बोलिन ।

फेरी स्टुडियोमा छिरेर बोल्ने आँट गरेँ । टेक्निसियनले भने भाइ फेरि बिग्रे म रेकर्ड गर्दिन ।

स्टुडियो छिरे । अघि भन्दा अलि शान्त भएको अनुभव गरेँ । एक पटक स्क्रिप्ट हेरेँ । अनि पानसोनिक रेडियोको शैलीमा पढेँ । उनी छक्क परे । आधा घन्टाको र्कायक्रम बोल्न पर्ने जम्मा जम्मी थियो होला दस मिनेटको स्क्रिप्ट । एक दुई ठाँउमा बिग्रियो । मैले दोहो¥याएँ । भएको हातको स्क्रिप्ट भ्याए पछि बाहिर निक्लिएँ ।

अघिको डन टेक्निसियन खुशी भएछन् । स्वर त राम्रो रैछनी भाइ बोल्ड । पहिले चाही किन हतासिएको त । पहिले पनि कतै काम गरेका थिएनौ । त्यसपछि सुरु भयो पत्रकारिताको काम ।
०००

भोली त आइतबार । साप्ताहिक बिदा हुनु पर्ने । तर कम्पनी ‘फाप्प’ छ । कति सम्झनु ती रमाइला दिन । अहिले बेलैमा नसुते भोली गाह्रो हुन्छ । लौ सुतेँ है ।

[email protected]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...