Advertisement
SKIP THIS

नियात्रा : पाँचवर्षपछि कोरियाबाट सोलु हुँदै पोखरासम्म


बाला राई

पखेटा पलाएपछि आफ्नो गुँड बिर्सेर कतै उडेको पंक्षीजस्तै सात समुद्र काटेर कोरियाको जीवनशैलीमा भुल्न थालेको पनि आधा दशक हुन लागेछ । विकसित मुलुकको भौतिक सुखसयलमा तन रमे पनि मन भने आफ्नै जन्मभूमिको यादमा तड्पिरहन्थ्यो हरपल । जन्मदिने बाबुआमा, साथीसंगी, आफन्तसँगै संघर्ष गर्दै बितेका आधा जिन्दगीका पाटाहरु हरेकपल मानसपटलमा ताजा भएर आइरहदा हररात सपनीमा ऐठन भए झैं लाग्थ्यो ।

जन्मभूमि छाडेर कर्मभूमिमा बाध्यताले रम्दै गरेकी म एकमहिना अघि मातृभूमि नेपाल गएकी थिएँ । भूकम्प र नाकाबन्दीको पिंडामा थलिएर भर्खरै तङग्रन लागेको मेरो देशलाई सान्त्वनाका शब्द उदगार गर्न नसकेपनि थोरै सदभाव् र माया बाँड्न पाउँदा खुशीले मन फुरुङग भएको थियो । दक्षिण कोरियाको इन्छन एयरपोर्टबाट सातघण्टा लामो कोरियन एअरको उडानपछि काठमाडौंको त्रिभुवन विमानस्थलमा पाइला टेक्दा मन त्यसै खुशीले गद्गदाउन थाल्यो । बेलाबेलामा हुने प्राकृतिक प्रकोप अनि सदियौंदेखिको राजनैतिक अस्थिरता कायमै भए पनि मैंले पाँचवर्ष अघि छाडेको मेरो देशको साजसज्जा र वातावरणमा पनि खासै परिवर्तन भएको रहेनछ ।

सामान लिएर विमानस्थलबाट बाहिरिदा गेटमा हाम्रै स्वागतमा हातमा खादा बोकेर पर्खिरहेका रहेछन् अभिन्न मित्र मन्जु गुरुङ र उनका श्रीमान किम ह्योङह्यो । एकैछिनमा भेटिए मेरो आमासँगै बस्ने नातेदार भाई हेमराज राई । हामी ट्याक्सी चढेर आमा बसेको घरतिर लाग्यौं कालोपुल । आमा हाम्रै स्वागतमा ढोकामा उभिरहेकी थिइन् । हामी पुग्नसाथ तीनवर्षपछि भेट्न पाएकी छोरी, नातिनी र ज्वाइलाई गल्र्याम्म अंगालो हालेर हर्षका आँसु खसाउन थालिन् । साँझपख छुट्टै बसेका बुबा पनि हामीलाई भेट्न आए । पहिलो पटक नातिनी र ज्वाइलाई देख्दा उनमा पनि खुशीको सिमा रहेन । लामो समयपछिको पारिवारिक भेटघाट र कुराकानीमा मध्यरात बितेको पत्तै भएन ।

 

गत बैशाखमा गएको महाभूकम्पले भत्किएको धरहरा अनि वसन्तपुरको ऐतिहासिक स्थल भत्किएको तस्विर र टेलिभिजनमा मात्र देखेको थिएँ । एकपटक आफ्नै आँखाले हेर्ने कौतुहलता जाग्यो अनि लागें परिवारसहित त्यसतर्फ । मलाई अग्लो स्थानबाट तल हेर्न असाध्यै डर लाग्छ । एकपटक काठमाडौंको बालाजुमा रकक्लाइम्बिङ गर्दा पहाडको टुप्पोमा पुगेर तल झर्ने बेला साह्रै डर लागेको थियो । कोरियामा पनि कहिलेकाँही आठ तला, १८ तलामा बस्ने आफन्तको अपार्टमा जाँदा झ्यालबाट बाहिर हेर्दै रिंगटा लाग्छ । एकपटक समुद्रको छेउमा रहेको २९ तले टावरमा लिफ्टबाट चढेर समुद्र हेर्दा डरले तत्काल बाहिरिएको थिएँ । डरकै कारण कोरियामा रहेको विभिन्न टावरमा घुम्न गएपनि माथि चढेकी छैन ।

काठमाडौंको नौतले धरहरामा भने एकपटक चढेकी थिएँ । तर डरले बाहिर ननिस्की भित्रै भ¥याङमा बसेको बेला हावाले धरहरा नै हल्लाए झैं लाग्यो । त्यो बेला डरले चिच्याएको त्यो क्षण अहिले टुक्रिएको धरहरा अगाडि बसेर सम्झिरहें । त्यसपछि हामी वसन्तपुरतिर लम्कियौं । भूकम्पको धक्काले चर्किएको बसन्तपुरको पुरानो दरबार अनि भत्किएको मन्दिरका भग्नावशेषलाई एक फन्को मार्दा अतितका धेरै यादहरु ताजा बनेर छाइरहे चलचित्रको रिल घुमेझैं ।
केही दिनको काठमाडौं बसाइपछि मेरो जन्मथलो सोलुखुम्बुको लागि यात्रा तय भयो । पहिला सोलु जानलाई कि त हवाइमार्ग कि तीनचारदिन हिडेर जानुपथ्र्यो । अहिले सोलुसम्म गाडी जाने बाटो बनेको रहेछ । मलाई गाडीबाट सोलुसम्मको यात्रा गर्ने रहर जागेर आयो । बुबाले बिहान ५ बजे नै टाटासुमो जीव लिएर आउनुभयो । मेरै आग्रहमा मन्जु र उनका श्रीमान पनि सोलु जाने तयारीमा थिए । मेरो फुपाजु, मन्जुको भदा र जीवचालकसहित हामी नौ जनाको यात्रा लम्कियो सोलुखुम्बुको मेरो गाउँ मुक्लीतर्फ ।

 

उकाली, ओराली, घुम्ती र कुइनेटाहरु पार गर्दै गाडी गुडिरह्यो आफ्नै रफ्तारमा । कोरियामा कहिल्यै गाडीले नमात्ने मेरी सानी छोरीलाई गाडी लागेछ । रुदै छाद्दै गर्दा मेरो सातोले ठाउँ छाड्यो । श्रीमान भने काठमाडौं पुगेकै दिनदेखि काठमाडौंको धुले सडक, अव्यवस्थित सवारी साधन, धुवाँ उडाउदै गुड्ने थोत्रे गाडी र जथाभावी हर्न बजाएको अनि मान्छेहरु जथाभावी बाटो काटेको देखेर दिक्क भइसकेको थियो । ‘खाना खाने बेलामा समेत बत्ती छैन, किन यति लामो लोडसेडिङ ? नुहाउने बेला धारामा पानी आउदैन किन जनता चुप लागेर बसेको ?’ भन्दै घरिघरि मलाई सोधिराख्थ्यो ।

झन् सोलु जाँदा भीरको साँघुरो र धुलाम्मे कच्ची बाटो देखेर डरले मुटु कमाउदै सोधिरहन्थ्यो, ‘किन यस्तो खराब बाटोमा गाडी चलाएको ? किन पक्की बाटो नबनाएको ? यो देशको सरकारले के गर्छ ? यो देशको मान्छेहरु किन कामै नगरी बसेका ? यो पहाडहरु फोरेर किन सुरुङ मार्ग नबनाएको ?’ आदि इत्यादि प्रश्नहरुले म आजित भइसकेको थिएँ । मसँग उसलाई दिने उचित जवाफ थिएन । एउटा राजधानी नजिकै बन्न लागेको फर्पिङ सुरुङमार्ग त यत्रो वर्ष भयो पुरा गर्न सकेका छैनन् यत्रो अजंगको पहाडहरु कहिले फोरेर सुरुङ मार्ग बनाउने होला मैंले भन्थें ।
बाटो हेर्दा मन चसक्क भएपनि लामो समयको अन्तरालपश्चात आफ्नो जन्मभूमि टेक्न पाउँदा मनभरी खुशीको रौनकता छाएको थियो । हामी १० घण्टाको बस यात्रापछि सोलुखुम्बुको पाताले भन्ने ठाउँमा दिनको चार बजे नै पुग्यौं ।

उत्तर दिशामा लहरै उभिएका सेताम्मे हिमालहरु अवलोकन गर्दै फोटो खिच्यौं । त्यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा सहित नुप्से हिमाल, लोत्से, मकालु, थामसेर्खु, गोक्यो, नुम्बुर, चोयुलगायतका थुप्रै हिमालहरु देखिने रहेछ । उसिनेको आलु र नुनचिया खाएर र्सिर बग्ने चिसो सिरेटोको परवाह नगरी माथी अग्लो डाँडामा रहेको टावरसम्म पुगेर हिमाललाई झन् नजिकबाट दृश्यपान गर्दा हिमालको फेदीमै पुगेका महसुस भएको थियो ।

 

अर्को दिन बिहान गाडी चढेर हुँइकियौं मुक्लीतिर । बाटोमा भदौको जस्तै भुई कुहिरो उडिरहेको थियो । छिनमै उघ्रिने र छिनमै बादलले ढाक्ने मौसमले समेत मसँग लुकामरी खेलिरहे जस्तो लाग्यो । त्यहाँको वनपाखा, खोलाखाल्सीमा भर्खर फुल्न थालेको लालीगुराँस फूलले मलाई स्वागत गर्न रातो कार्पेट विछ्याइदिए जस्तो लागेकोले गर्वले मेरो छाती ढक्क फुल्यो । तर मलाई कताकता हिनताबोध पनि भइरहेको थियो । किनकी यहाँको बोटविरुवा अनि छहराछाँगाले के सोच्दो हो ? कति निष्ठुरी ठान्दो हो मलाई यहाँको माटोले । जुन ठाउँले मलाई जन्मायो हुर्कायो, यसैलाई बिर्सेर सातसमुद्र पारी पुगेको छु । त्यसबेला मेरा बाध्यताहरु मनभरी छचल्किन थालेपछि अनायसै नयनहरु रसाएर आए ।

म मेरो गाउँलाई छाडेर परदेसिए पनि किशोरावस्थामा मेलापात गर्दै साटेका कतिपय रमाइला पलहरु कहिलेकाही नजरभरी ठिंग उभिदिन्छ । तनले मनले कहिले पनि बिर्सन नसकेको मुक्लीका पाखापखेरा अनि पानी पँधेराहरुभरि मन डुलिरहन्छ । धेरै पछि तिनै विगतका सम्झनाहरुलाई नजिकबाट पुनः महशुस गर्दै थिएँ । अतितका स्मृतिसँग साक्षातकार हुँदाहुँदै मेरो गाउँ मुक्ली पुगेको पत्तै भएन । घर अगाडि गाडी रोकिदा पो झसंग भएछु ।

गाडीबाट झर्नसाथ भग्नावशेष भएको मेरो जन्मघरको आगानतिर दौडन थालें । मेरो घरबारीमा अझै किराती थुलुङ राजा रामलिहाङको दरबारको भग्नावशेष छ । जसलाई ओगानेम भनिन्छ । त्यहि नजिकै म जन्मे हुर्केको घर पनि भग्नावशेषमा परिणत भएछ । मैंले खेलेको आगान, फुलबारी, करेसाबारी, सुन्तला, केरा, कागती, अम्बा, आप, ज्यामिर, भोगटे, बिमिराको बोट भएको ठाउँहरुमा नयाँ विरुवा हुर्कन थालेछन् । म कोरिया हानिएपछि बुबाले सोलुखुम्बु हर्वल गार्डेन कम्पनी भनेर एउटा प्रोजेक्ट चलाउन थालेका रहेछन् । त्यहि कामअन्र्तगत पहिला मकै, धान, कोदो, आलु, फापर जस्ता अन्न उमार्ने मेरो बारीमा अहिले विभिन्न हर्वलको विरुवा, रुद्राक्षे, किवी, आवोकाडो सुन्तलालगायतका थुप्रै फलफुलको विरुवाहरु लगाएका रहेछन् । ‘अब यहि ठाउँमा घर बनाउछु अर्को पटक तिमेरु आउँदा किवी पनि फल्छ आफ्नै घरमा बस्नुपर्छ,’ बुबा आगामी योजनाहरु सुनाउदैहुनुहुन्थ्यो ।

 

अर्कोदिन आइतबार मैंले पढेको गाउँकै विद्यालयमा सानो कार्यक्रम राखिएको थियो । मन्जु गुरुङ र मसहित कोरियन नागरिकसँग विहे गरेर गएका केही नेपाली चेलीहरुको सक्रियतामा स्थापना गरिएको नेपाली चेली समाज दक्षिण कोरिया र नेपाल कोरिया कल्चर सेन्टरको तर्फबाट हामीले श्री बिरेन्द्रोदय उच्चमाविका विद्यार्थीहरुलाई पाँचसय थान कलम र कापी, भलिवल, फुटवल अनि दुनोट र कुजिजहरु  बाँड्यौं । सानै सहयोग भएपनि त्यहाँका विद्यार्थी, शिक्षक र स्थानीयहरुले खुशी आभार गर्दै हाम्रो कामलाई गाउँकै उदाहरणीय कार्य भएको बताउँदा गर्वले शिर उचो भएको थियो । मलाई कक्षा सातसम्म पढाउने अंग्रेजी शिक्षक होम कार्की र गणितको शिक्षक लालबहादुर विश्वकर्मा सर अझै त्यहि विद्यालयमा हुनुहुदोरहेछ । धेरै वर्षपछिको अन्तरालमा भेट्न पाउँदा उहाँहरुको नजरमा पनि त्यत्तिकै खुशी झल्कन्थ्यो ।

 

बिद्यालयको कार्यक्रम सकेर हामी सदरमुकाम सल्लेरी लाग्यौं । दुईदिनको सल्लेरी बसाइपछि हामी काठमाडौं फर्कियौं । मौसम खुला भएकोले हिमालको दृश्यावलोकन गर्दै फर्किने क्रममा ओखलढुंगाको पुरै गाउँबस्तीलाई ढाकेर बसेको बादलको समुद्र झन् मनमोहक देखिन्थ्यो । ‘दुई वर्ष भयो सोलु काठमाडौं गाडी चलाएको यस्तो अदभूत दृश्य कहिल्यै देखेको थिइन,’ गाडी चालक गणेश चौधरी पनि मख्ख पर्दै भन्दैथिए ।

सगरमाथा हेरेर हिमालप्रति झनै आर्कषित भएका मेरा श्रीमान अन्नपूर्ण हिमाल नहेरी नर्फकने अडान लिएपछि हामी पोखरातिर हानियौं । तर दुर्भाग्य, पोखरा पुरै बादलले ढाकेको थियो । मौसम खुलेको भए फेवातालको आगानबाटै अन्नपूर्ण र माछापुछ«े देखाएर फर्काउला भन्ने सोचेको थिएँ । अर्को दिन कतै मौसम खुलिहाल्ला कि भन्ने आशामा साराङकोटसम्म पुग्यौं । त्यो दिनपनि मौसमले धोका दियो तर विभिन्न मुलुकबिच हुन लागेको अन्र्तराष्ट्रिय प्याराग्लाइडिुङ प्रतियोगिताको उदघाटन कार्यक्रम रहेछ त्यहि हेरेर भए पनि चित्त बुझायौं । तर श्रीमानको अन्नपूर्ण हेर्ने चाहना भने पुरा हुन नसकेकोले कोरिया फर्किन्जेल भनिरह्यो, ‘अब पाँचवर्ष पछि फेरी नेपाल गएर अन्नपूर्ण नहेरी छाड्दिन तर सोलु चाँही जाँदिन बाटो खराब छ ।’

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...