उत्तर कोरियासंग हाइड्रोजन बम भएको खुलासा
साेल , उत्तर कोरियाका नेता किम जोङ ऊनले आफ्नो देश हाइड्रोजन बमयुक्त रहेको बताएका छन्। ‘उत्तर कोरिया बम र हाइड्रोजन बममा आत्मनिर्भर छ,’ सरकारी समाचार एजेन्सी केसीएनएले किमको भनाइ उद्धृत गरेको छ।
उनको भनाइ सही भए उत्तर कोरिया परमाणु क्षमतायुक्त रहेको प्रमाण मिल्ने विश्लेषकहरूको भनाइ छ। उत्तर कोरियाली तानाशाहको उक्त अभिव्यक्तिको स्वतन्त्र पुष्टि हुन बाँकी छ। राजधानी प्योङयाङस्थित एक ऐतिहासिक सैनिक इलाका निरीक्षणका क्रममा किमले उक्त अभिव्यक्ति दिएका हुन्। आफ्ना हजुरबुबा किम इल सुङको सपना पूरा भएको उनको भनाइ छ।
प्योङयाङले परमाणु हतियार बनाएको दाबी यसअघि गर्दै आए पनि हाइड्रोजन बम तयार भएको पहिलोपटक बताएको हो। त्यस्तो बम आणविक हतियारभन्दा शक्तिशाली हुन्छ। उत्तर कोरियाली नेताको अभिव्यक्तिले संसारकै ध्यानाकर्षण भएको विश्लेषक जोन निल्सन राइटले बताए।
अर्का विश्लेषक ली चुन गुनको भनाइमा किमको अभिव्यक्तिबाट उत्तर कोरिया प्रतिबन्धित हतियार निर्माणमा निरन्तर लागिरहेको बुझ्न सकिन्छ। तर, त्यसबारे यकिन जानकारी प्राप्त गर्न कठिन छ। किनभने, विश्व समुदायबाट अलग्गै बसेको कम्युनिस्ट मुलुकमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई प्रवेश अनुमति छैन।