Advertisement
SKIP THIS

अन्यौलमै काठमाडौं–हेटौंडा सुरुङमार्ग


 

 

काठमाडौं–हेटौंडा सुरुङ मार्गको निर्माण २०७१ मै सुरु गर्ने भनिए पनि हालसम्म लगानी जुट्न सकेको छैन। नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग निर्माण गर्न देखाएको चासोलाई २०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो। कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो। लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिनेछ।

 

‘म्याद गुज्रेको डेढ वर्ष बितिसक्दा पनि कम्पनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न सकेको छैन,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव इन्जिनियर रवीन्द्रनाथ श्रेष्ठले भने।

 

 

पूर्वाधार विकास कम्पनीले गैरआवासीय नेपाली तथा अन्य स्वदेशी उद्योगपतिबाट नेपालमै ३५ अर्ब रुपैयाँ उठाउने योजना लिएको थियो। यो प्रयास सफल नभएपछि विदेशी कम्पनी गुहार्ने निर्णय गर्यो। ‘सुरुमा नेपाल भित्रैबाट यो रकम जुटाउने हाम्रो योजना थियो, पछि विदेशी कम्पनीसँग सहकार्य गर्ने सोच बनायौं,’ पूर्वाधार विकास कम्पनीका प्रमुख कार्यकारी सुवर्णलाल बज्राचार्यले भने । एक वर्षभित्रै सुरुङ मार्ग निर्माण थालनी गर्ने उनको दाबी छ, जुन त्यति सहज देखिन्न।

भौतिक योजना मन्त्रालयका अधिकारी त यो योजना प्राविधिक रूपमा तुहिइसकेको बताउँछन्। ‘यसको प्राकृतिक रूपमै मृत्यु हुन लागेको छ, हामीले किन हत्या गर्ने भनेर आर्थिक रिपोर्ट बुझाउने म्याद समाप्त नगरेका हौं,’ भौतिक योजना मन्त्रालयका सह–सचिव श्रेष्ठले भने। सुरुङ मार्गले देशलाई फाइदा पुग्ने भएकाले मात्र लगानी प्रोत्साहित गर्न म्याद जीवित राखेको उनको भनाइ छ। कम्पनीका प्रमुख कार्यकारी बज्राचार्यका अनुसार क्यानेडियन कम्पनी इन्फ्राब्यांक्स सुरुङ मार्गमा लगानी गर्न इच्छुक देखिएको छ।

 

 

इन्फ्राब्यांक्स् क्यानडाको लगानी जुटाइदिने निजी कम्पनी हो। यसले क्यानडाको सरकारी कम्पनी क्यानेडियन क्राउन कर्पाेरेसन (सिसिसी) को लगानी निम्ति पहल गरिरहेको बज्राचार्यले बताए।

 

 

सिसिसी र इन्फ्राब्यांक्स्ले ‘३५ अर्बमै सुरुङ मार्ग बनाउन सम्भव छ कि छैन, यसको भौगर्भिक अवस्था कस्तो छ’ जस्ता विषयमा अध्ययन गरी ‘प्रोजेक्ट एसेसमेन्ट स्टडी रिपोर्ट’ पेस गर्न पूर्वाधार विकास कम्पनीलाई पत्राचार गरेका छन्।

 

 

यसका लागि क्यानेडियन इन्जिनियरिङ कम्पनी इएक्सपीमार्फत् सुरुङ मार्ग आयोजनाको जोखिम विश्लेषण, वातावरण, सामाजिक तथा जग्गा व्यवस्थापनको समीक्षा, सञ्चालन तथा मर्मत र वास्तविक लागत समीक्षा गरिएको छ। क्यानेडियन कम्पनीले लगानी गर्छ कि गर्दैन भन्ने इएक्सपीको प्रतिवेदनपछि मात्र निक्र्यौल हुन्छ।

 

 

पहिलो चरणको अध्ययन सकेर इएक्सपी फिर्ता गइसकेको छ। पूर्वाधार विकास कम्पनीले भने उसलाई पैसासमेत तिर्न सकेको छैन। अध्ययनबापत कम्पनीलाई २ करोड रुपैयाँ तिर्नुपर्नेछ। ‘डलर सटहीका लागि राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयको पत्र माग गरेको छ तर मन्त्रालय दिन आनाकानी गरेको छ, त्यही भएर रकम भुक्तान गर्न नसकेका हौं,’ बज्राचार्यले भने।

 

 

यो आयोजनामा २८ अर्ब विदेशी कम्पनीबाट जुटाउने र ७ अर्ब पूर्वाधार विकास कम्पनी आफैंले हाल्ने भनिएको छ। यसमध्ये कम्पनीका प्रवर्द्धकहरूबाट ६० प्रतिशत रकम जुटाउने योजना छ। यो ४ अर्ब २० करोड हुन्छ, जबकि हालसम्म २ अर्ब मात्र उठेको छ। बज्राचार्यका अनुसार बाँकी २ अर्ब २० करोड अग्रिम सेयर निष्कासनबाट उठाउने योजना छ। ‘अग्रिम सेयर निष्कासनको निम्ति धितोपत्र बोर्डलाई पत्र पठाइसकेका छौं,’ उनले भने।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने तत्काल यस्तो सेयर निष्कासनको अनुमति दिने सम्भावना नरहेको बताए। ‘हामीले यसबारे छलफल चलाएका छौं, अध्ययन गरेका छौं,’ उनले भने, ‘यो धेरै जोखिमयुक्त भएकाले तत्काल अनुमति दिने सम्भावना छैन।’ कम्पनीले आफ्नो भागको ४० प्रतिशत रकम सार्वजनिक सेयर निष्कासन गरेर जुटाउने तयारी गरेको छ।

क्यानेडियन कम्पनीले लगानी गरे सुरुङ मार्गबाट उठ्ने रकममध्ये ८० प्रतिशतमा उसकै दाबी हुनेछ। निर्माण सुरु भएको ३० वर्षपछि यसको व्यवस्थापन जिम्मा सरकारमा आउनेछ।

काठमाडौंदेखि हेटौंडासम्म सडकखण्ड २ सय २७ किलोमिटर छ। सुरुङ मार्गको लम्बाइ ५८ किलोमिटर मात्र हुनेछ। निर्माणपछि एक घन्टामै काठमाडौंबाट हेटौंडा पुगिने बज्राचार्य बताउँछन्। चार लेनको यो मार्गमा तीनवटा सुरुङ हुने डिजाइनमा छ। सुरुङको लम्बाइ ४ हजार ५ सय ५२ मिटर हुनेछ। यसको निर्माण पाँच वर्षमा सकिने आँकलन गरिएको छ।

 

 

यो मार्ग प्रयोगबापत् मोटरसाइकलले एकपटकमा १ सय ६० रुपैयाँ, कारले ८ सय, बसले २ हजार १ सय, मिनीबसले १ हजार २ सय ५०, माइक्रोले १ हजार, मिनीट्रकले १ हजार ३ सय, ट्रकले २ हजार २ सय रुपैयाँ तिर्नुपर्नेछ। दोस्रो वर्षपछि यो रकममा ३.५ प्रतिशत वृद्धि हुनेछ। बढेको रकम तीन वर्ष लागू हुनेछ। त्यसपछि अर्को पाँच वर्षका लागि ५.५ प्रतिशत र फेरि अर्को पाँच वर्षका लागि ७.५ प्रतिशत वृद्धि हुनेछ ।

( सेतोपाटी)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...