प्रथम सिन्धुपाल्चोक कपको उपाधि बागलुङले जित्यो

अमिर योञ्जन । प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को उपाधि बागलुङ भलिबल टिमले जित्यो । हिजो आइतबार सुवन सहरको आजु विश्वविद्यालयको कबड हलमा भएको फाइनलमा बागलुङले विश्वकर्मा समाजका भलिबल टिमलाई सोझो सेटमा जितेको हो । पहिलो सेटमा बागलुङले २५–१९ र दोस्रो सेटमा २५–१० को अङ्कमा जित निकालेको थियो ।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा विश्वकर्मा समाजका भलिबल टिमले पार्वत भलिबल टिमलाई सोझो सेटमा जितेको थियो । फाइनलमा बागलुङसँग खराब प्रदर्शन गर्दा उपाधि उचाल्न चुकेको हो । विजेता टिम बागलुङले नगद २० लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता विश्वकर्मा समाजका भलिबल टिमले नगद १२ लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा बागलुङका स्पकर झपेन्द्र केसीले पुरस्कार पाएकाे थियो ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ, दक्षिण कोरियाका अध्यक्ष पार्वती मोक्तान, आयोजक सिन्धुपाल्चोक समाजका अध्यक्ष राज लोप्चन, नेपाली सम्पर्क समिति (एनसीसी)का वरिष्ठ उपाध्यक्ष हर्क विष्ट, बागमती प्रदेश एकता समाजका अध्यक्ष सरोज केसी, नेपाल तामाङ घेदुङका अध्यक्ष राजकुमार स्याङ्तान, नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडालगायत विभिन्न समाजका प्रतिनिधिहरू उपस्थित थियो ।
पुरस्कार प्रायोजकहरू भेटघाट रेष्टुराँ सुवन, अोली एजुकेशन सेन्टर, सान्तवना पुरस्कार प्रायोजक – सेवा मोबाइल सुवन र रोयल रेष्टुराँ फेन्तेक रहेका छन् । त्यस्तै हानपास रेमिट, सिन्हान बैंक, E9 ट्राभल एण्ड टुर र एकेएस स्पाेर्टले प्रतियोगिता सफल पार्न सहयोग गरेकाे थियो ।