NRNA कोरियाले करिब १० करोड वन नोक्सानमा रहेर कोष हस्तान्तरण गर्यो

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ। जुलाई २६/२७ तारिख सम्पन्न अधिवेशनले नयाँ नेतृत्व पार्वती मोक्तान पाएको छ।
नवौँ कार्यसमितीको आर्थिक प्रतिवेदनले संस्था ठूलो घाटामा गएको देखाउँछ। आठौँ कार्यसमितीबाट नवौँ समितिलाई
कूल १४ करोड ४४ लाख ३० हजार ४ सय ४० वन हस्तान्तरण गरेको थियो भने नवौँ कार्यसमितीको आर्थिक प्रतिवेदन अनुसार ५ करोड ६३ लाख ७२ हजार ५ सय ३० वन वचत देखिन्छ। यस बचतमा थप हुनेगरी नयाँ सदस्यता शूल्क ३८ लाख १० हजार वन उठ्न बाँकी रहेको छ। यस अधिवेशनका लागि १,४१२ जनाले सदस्यता लिएका थिए, सदस्यताको जम्मा रकम १ करोड ४१ लाख २० हजार वन घटाउने हो भने मूल कोषको वचत ४ करोड ६० लाख ६२ हजार ५ सय ३ वन बचत देखिन्छ भने संस्थाको घाट रकम ९ करोड ८३ लाख ६७ हजार ९ सय ३७ हुन आउँछ। उठ्न बाँकी रकम भने सेन्ट बि रेमिट्यान्स सँग सहकार्य गरेको हुनाले उक्त रेमिटबाट भुक्तान हुने बुझिएको छ।
निर्वाचन समितीबाट उमेद्वार शुल्क बापतको रकम भने यो समाचार तयार गर्दासम्म हस्तान्तरण गरि नसकिएको जानकारी प्राप्त भएको छ। संस्थाले भलिवल, फूटबल प्रतियोगिता तथा नेपाल डे जस्ता ठूला कार्यक्रममा घाटा व्यहोर्नु परेको देखिन्छ।
दशौँ अधिवेशनको आर्थिक प्रतिवेदन प्रस्तुत हुँदै गर्दा केहि सवाल जवाफ भएका थिए। संस्था नोक्सानमा गएको देखेपछि उपस्थिती धेरैले आक्रोश युक्त भाव पोखेको पाइएको थियो। NRNA पूर्व वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले प्रतिवेदनको विस्तृत रुप माग गर्दै गत अधिवेशनमा निर्वाचन समितीले बुझाएको रकमको खर्च विवरण माग गरेका थिए।
यसैगरी NRNA बुसान शाखाका नवनिर्वाचित अध्यक्ष दोस्तीहाङ राईले केन्द्रको खर्च मितव्ययिता नभएको र शाखालाई के कति सहयोग गरेको कतै उल्लेख नभएको गुनासो व्यक्त गरेका थिए। यसैगरी यस संस्थाका पूर्व उपाध्यक्ष अ्मृत राईले संस्थाले घाट जाने कार्यक्रम पटक पटक गरिनु दुखद रहेको बताएका थिए। NCC कोरियाका उपाध्यक्ष मनोज सुवेदीले कोरियामा हरेक संस्थाहरु घाटामा किन गइरहेको छ? भनेर प्रश्न गर्दै NRN जस्तो ठूलो घाटामा जानु नेपाली समाज र संस्थाको लागि अति दुखको कुरो रहेको बताएका थिए। पाँच स का अध्यक्ष विष्णु थापाले NRNA सँग सहकार्य गरेको मनाएको दशै कार्यक्रमको रकम प्रतिवेदनमा उल्लेख नगरिएको प्रति प्रश्न गर्दै खर्च भएको भए उल्लेख गरेको भए सार्थक हुने धारणा राखेका थिए। अन्य उपस्थितीले ‘कार्यक्रम खर्च’ मा कार्यक्रमको शिर्षक मात्र राखेको भएपनि बुझ्न सहज हुने सुझाव दिएका थिए।
प्रश्नहरुको जवाफमा तत्कालिन अध्यक्ष वुद्दि गुरुङले आफूहरुले नाफा मै जाने भनेर कार्यक्रम नगरिएको बताएका थिए। सामाजिक हितको कार्यक्रम, खेलकुद जस्तो यूवालाई सकारात्मक ऊर्जा दिने कार्यक्रम, साथै श्रमिक वर्ग विद्यार्थी वर्गका लागि सहायता हुने कार्यक्रम सञ्चालन गरेको बताएका थिए। सदस्यता शुल्क बापत उठेको रकमको केहि प्रतिशत केन्द्र ICC मा समेत बुझाउनु परेको अवगत गराएका थिए। आफूले खर्च गरेर कतिपय कार्यक्रममा उपस्थित भएको जानकारी गराएका थिए।