‘भोटे’ शब्दको ऐतिहासिक यात्रा

नेपाली समाजमा ‘भोटे’ शब्दको प्रयोग व्यापक छ, तर यसको वास्तविक उत्पत्ति र ऐतिहासिक विकासबारे धेरैलाई जानकारी छैन। यो शब्द विभिन्न सन्दर्भमा फरक-फरक अर्थमा प्रयोग हुँदै आएको छ—कहिले घृणा वा उपेक्षाको भाव व्यक्त गर्न त कहिले बलियो वा मजबुत अवस्था जनाउन। प्रस्तुत लेख ‘भोटे’ शब्दको निर्माण, प्रयोग र यसको वास्तविक इतिहासमाथि प्रकाश पार्ने प्रयास हो।
भिडियाेमा
वर्तमान प्रयोग र यसको वैदेशिक विस्तार
हाल ‘भोटे’ शब्द नेपाली समाजमा दुई मुख्य अर्थमा प्रयोग भएको पाइन्छ। कतिपय अवस्थामा यसलाई खराब चरित्र वा हेयको भाव व्यक्त गर्न प्रयोग गरिन्छ, भने कतिपय अवस्थामा यसले बलियो, मजबुत वा ठूलोपनलाई जनाउँछ। उदाहरणका लागि, ‘भोटे ताल्चा’ भन्नाले मजबुत ताल्चा र ‘भोटे कुकुर’ भन्नाले बलियो तथा ठूलो कुकुर भन्ने बुझिन्छ।
यो शब्द नेपालमा मात्र सीमित छैन; वैदेशिक रोजगारीका लागि जापान, कोरिया वा अन्य मंगोलियन वर्णका मानिसहरू बसोबास गर्ने देशहरूमा पुगेका नेपालीहरूले त्यहाँका स्थानीयलाई ‘भोटे’ भनेर सम्बोधन गरेको पाइन्छ। यसले नेपाली समाजमा विकसित भएको घृणा वा उपेक्षाको भावलाई विदेशमा पनि विस्तार गरेको देखिन्छ।
ऐतिहासिक परिप्रेक्ष्य: तिब्बती वंश र भौगोलिक सम्बन्ध
नेपाली इतिहासकारहरूको भनाइलाई लिने हो भने ‘भोटे’ शब्दले मूलतः तिब्बती वंशज, तिब्बती संस्कृति, तिब्बती भूगोल र परम्पराबाट आएका समुदायलाई जनाउँछ। विशेष गरी नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई यो शब्दले इंगित गर्छ।
‘बोद्’ बाट ‘भोट्’ सम्मको यात्रा: बौद्ध धर्म र भारतीय सम्बन्ध
यो शब्दको उत्पत्ति खोज्दै जाँदा ईसापूर्वको समय, भारतीय भूगोल, भारतीय भाषा र उच्चारण शैलीमा पुगिन्छ। ईसापूर्वदेखि तेह्रौँ शताब्दीसम्म हालको भारत (प्राचीन नाम जम्बुद्वीप) मा सयौँ बौद्ध विश्वविद्यालयहरू थिए, जसमा नालन्दा, विक्रमशिला, तक्षशिला, वल्लभी आदि प्रमुख थिए। यी विश्वविद्यालयहरूमा आजको चीन, तिब्बत, कोरिया, जापान, इन्डोनेसिया, थाइल्यान्ड, मंगोलियालगायत विश्वका धेरै देशबाट हजारौँ विद्यार्थीहरू बौद्ध शिक्षा लिन आउँथे। बौद्ध शिक्षाका अतिरिक्त खगोलविद्या, आयुर्वेद, योगविद्या, चिकित्सा, संगीत, पाली साहित्य, तर्क, व्याकरण, दर्शन साहित्य, गणित, विज्ञान, मनोविज्ञान, भाषाविज्ञान, कानुन, युद्धनीति, इतिहास, वास्तुकला, चित्रकला, अर्थशास्त्रजस्ता साठीभन्दा बढी विषयको अध्यापन हुन्थ्यो।
बौद्ध धर्म विश्वभर फैलिनुमा यसको समतावादी विशेषताका साथै ती विश्वविद्यालयहरू र त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरूको ठूलो भूमिका छ। चीनका बौद्ध शिक्षा अध्ययन गर्ने विद्यार्थी तथा यात्रीहरूमध्ये तेस्रो शताब्दीदेखि सातौँ शताब्दीका इत्सिङ, फाहियान र ह्यु येन साङ प्रमुख छन्। उनीहरूले बुद्धको जन्मस्थल, बौद्ध विश्वविद्यालय, विहार, महाविहार, स्तुपा, मठ आदिको विस्तृत जानकारीसहित भारतीय समाजबारे आफ्ना पुस्तकहरूमा उल्लेख गरेका छन्, जुन आज पनि उपलब्ध छन्।
भारतबाट फर्किँदा उनीहरूले बौद्ध धर्मलाई पनि सँगै लगे। भारतमा ‘बुद्ध’ लाई ‘बुद्’ भनेर उच्चारण गरिन्थ्यो। यही ‘बुद्’ शब्द चीन र तिब्बतमा पुग्दा ‘बोद्’ शब्दमा परिणत भयो। उदाहरणका लागि, अंग्रेजीको ‘pension’ शब्द नेपालका गाउँघरमा ‘पिल्सिन’ भएजस्तै। अन्ततः, तिब्बतको परम्परागत नाम बुद्धप्रतिको आदर र सम्मानमा ‘बोद्’ देश हुन पुग्यो, जसको अर्थ बुद्धको देश हो। यसरी ‘बोद्’ शब्दको व्युत्पत्ति र पारस्परिक सम्बन्ध बुद्धसँग जोडिन्छ। सन् १९५० अघिसम्म स्वतन्त्र रहेको तिब्बतको यही परम्परागत नाम ‘बोद्’ पछि अपभ्रंश भएर ‘भोट्’ बन्यो।
‘भोट्’ बाट ‘भोटे’ र नेपाली समाजमा यसको अर्थको विस्तार
‘बोद्’ शब्द ‘भोट्’ बनिसकेपछि नेपाल-तिब्बतबीचको व्यापारले चर्चा पायो। त्यस बेला ‘भोट्’ देश (वा भोट बजार) र नेपालबीच व्यापार गर्ने व्यक्तिहरूलाई ‘भोटे’ भन्न थालियो। विशेष गरी नेपालको उत्तरी हिमाली क्षेत्रका मानिसहरू जो तिब्बतको भोट बजारसम्म पुगेर व्यापार, व्यवसाय गर्थे, उनीहरूले ‘भोटे’ को संज्ञा पाए।
त्यो समयमा यातायातको सुविधा नभएकाले गधा, घोडा, खच्चड प्रयोग गरी वा आफैँ भारी बोकेर व्यापार गरिन्थ्यो। विशेषगरी भारी बोक्नेमा तामाङ समुदाय पर्थ्यो । किनकि हिन्दु वर्ण व्यवस्थाले मासिन्या मतवाली बनाएर ढाक्रेको काम लगाउथ्यो । जुन कुरा जंगबहादुरको बि स.१९१० को मुलुकी ऐनमा पनि स्पष्ट देख्न सकिन्छ । यसरी भारी बोकेर कयौँ दिनको पैदल यात्रा गरी व्यापार गर्नु शारीरिक रूपमा निकै चुनौतीपूर्ण थियो। दैनन्दिनको भारी बोक्नु कुनै शारीरिक व्यायामभन्दा कम थिएन। त्यसकारण, भोटसम्म भारी बोकेर व्यापार गर्नेहरूलाई समाजले बलशाली, मजबुत, दरिलो र शक्तिशाली मान्न थाल्यो। यसरी शारीरिक रूपमा मजबुत ती व्यक्तिहरूलाई ‘भोटे’ भनेर सम्बोधन गर्न थालियो। आज पनि कतिपय तामाङ जातिले आफूलाई प्रसंगवश ‘म भोटेको छोरा हुँ’ भन्नुको तात्पर्य आफू बलियो छु, मजबुत छु भन्ने अर्थ लाग्छ।
समग्रमा, ‘बोद्’ जस्तो सम्मानित र आदरार्थी शब्द देशको नाम हुँदै जातिसूचक संज्ञा शब्द बन्यो। कालान्तरमा ‘भोट्’ सम्म व्यापार गर्न जानेको संख्या बढ्न थाल्यो र अन्य जातिहरू पनि यसमा सामेल भए। जब ब्राह्मण-क्षेत्रीहरू भोट बजार पुगे, उनीहरूले त्यहाँका मानिसहरूले गाई काटेर मासु खाएको देखे। यो दृश्यले उनीहरूलाई आश्चर्यमा पार्यो । किन भने नेपालमा हिन्दुहरूले गाईलाई पवित्र मान्छन्, र गौवध कानुनले बर्जित छ।
त्यसैले उनीहरूले ‘भोटे’ शब्दको भाष्य नै परिवर्तन गरिदिए। अब ‘भोटे’ भन्नाले भारी बोकी व्यापार गर्नेहरू मात्र नभई गाईको मासु खानेहरूलाई पनि जनाउन थाल्यो। नेपालमा खासगरी तामाङ जातिले गाईको मासु खाँदै आएको हुनाले उनीहरूलाई पनि ‘भोटे’ भनियो।
अब यो प्रश्न उठ्न सक्छ कि गाईको मासु खाने दलित समुदायका केही जातिहरूलाई किन ‘भोटे’ भनिएन? यसको कारण के हो भने ‘भोटे’ शब्द नेपालमा तीनवटा आयाम सहित आएको छ: पहिलो भोटको यात्राबाट, दोस्रो बलवाचक संज्ञाबाट, र तेस्रो गाईको मासु भक्षण गर्नेबाट। तर विशेषगरी गाइको मासु सार्की, वादी लगायतले खान्थे, किनकि सार्कीले गाईको मासु खान्थ्यो र गाइको छालाको जुत्ता चप्पल बनाउथ्यो । वादीले पनि गाइको मासु खान्थ्यो र छालाको उपयोग पञ्चेबाजा (दमाह, ढोलक, ट्याम्को, मादल) आदिमा गर्थ्यो। तर उनीहरु भोट् सम्म जान्थेनन् उनलाई समाजले अछुत मान्थ्यो तर बलशाली मान्थेन त्यसकारण उनीहरु भोटे भएनन् । बरु, भारी बोक्ने तामाङ समुदाय, जसले नेपालमा गाईको मासु खान्थ्यो, उसले ‘भोटे’ उपनाम पायो।
‘भोटेकोसी’ देखि आधुनिक प्रयोगसम्म
यो शब्दको कहानी यहीं सकिँदैन। समाजले ‘भोटे’ शब्द मानिसलाई मात्र भिराएन; तिब्बत (भोट) मुहान भएर बग्दै आउने नदीलाई समेत ‘भोटेकोसी’ नामाकरण गर्यो, जुन आज पनि यथावत् छ।
आज जब नेपालीहरू चीन, जापान, कोरियाजस्ता देशमा पुग्छन् र त्यहाँका मानिसहरूलाई ‘भोटे’ भनेर सम्बोधन गर्छन्, यसको कारण नेपालभित्रै गाईको मासु नखाने ब्राह्मण-क्षेत्रीहरूले गाईको मासु खानेलाई घृणा र उपेक्षाको भावले ‘भोटे’ भनेर सम्बोधन गरेको प्रचलन हो। यो प्रचलन नेपाल र भोटको व्यापारका बेला त्यहाँ गएका ब्राह्मण-क्षेत्रीहरूले स्थापित गरेका थिए। अब तिनैका सन्तान जब गाई खाने देशमा पुग्छन्, उनीहरूले त्यहाँका बासिन्दालाई ‘भोटे’ सम्बोधन नगर्ने कुरै भएन। अर्को आश्चर्यको कुरा त, कहिलेकाहीँ एउटा गाई खानेले अर्को गाई खानेलाई पनि ‘भोटे’ शब्दले सम्बोधन गरेको पाइन्छ, जसले यस शब्दको अर्थमा आएको सामाजिक जटिलतालाई दर्शाउँछ।
यसरी ‘बुद्ध’ बाट ‘बुद्’, ‘बुद्’ बाट ‘बोद्’, ‘बोद्’ बाट ‘भोट्’ र अन्ततः ‘भोटे’ सम्मको यो शब्द यात्राले यसको बहुआयामिक र विकसित अर्थलाई स्पष्ट पार्छ।