अलैचीबाट बार्षिक लाखौं आम्दानी
काठमाडौं-माईमझुवा १ याङमाका तोया दाहाल शिक्षक हुन् । उनका दाइ नेत्र व्यापारी । उनीहरू मुख्य पेसाबाट बचेको समयमा करेसाबारीमा लगाएको अलैंची स्याहार्छन् । बिहान बेलुकाको समयमा उनीहरूले थोरै मेहनत गर्दा प्राप्त आम्दानी मुख्य पेसाको भन्दा धेरै छ । कुनै बेला अलैंचीको आम्दानीले राम्रै प्रगति गरेका दाहालभाइलाई रोगका कारण खेती मासिएपछि निकै चिन्तित बनायो ।
पाखाबारीमा मासिँदै गएको बिरुवा ल्याएर उनीहरूले स्थानीय पाराले जगाए अनि खेती विस्तार गरे । अहिले उनीहरूको करेसाबारीमा फस्टाएको अलैंची बगानका कारण जिल्लाकै अब्बल कृषकमध्येमा गनिन थालेका छन् । पुरानो बगान मासिएपछि चार वर्ष अघिदेखि पुरानो बिरुवालाई संरक्षण गरेर खेती विस्तारमा लागेका उनीहरूले अहिले १२ रोपनीभन्दा धेरै जमिनमा बगान बनाइसकेका छन् ।
६ रोपनी जमिनबाट गत वर्षदेखि आम्दानी सुरु भएको छ । गाईको गहुँतलाई अलैंचीमा लाग्ने भाइरसको अचुक औषधि मानेका उनीहरूको प्रयासले वार्षिक १२ लाख रुपैयाँभन्दा धेरै आम्दानी दिने बनाइसकेको छ । ‘पुरानो बिरुवालाई ल्याएर गोबरमल र गाईको गहुँत समय मिलाएर लगाउन थाल्यौं,’ तोयाले भने, ‘बिस्तारै त्यसमा भएको रोग हटेर मौलाउन थाल्यो ।’
केही बोटमा त्यो प्रविधि सफल भएपछि उनीहरूले तिनै बोटबाट बिरुवा उत्पादन थाले । अहिले आफूलाई पर्याप्त बिरुवा राखेर पनि बर्सेनि १ लाख रुपैयाँभन्दा धेरैको बिरुवा र १० लाखसम्मको उत्पादन गर्ने हैसियत उनीहरूको बनिसकेको छ ।
खोल्साखोल्सीमा खेती गरिँदै आएको अलैंची अहिले करेसाबारीमा मौलाएको छ । भाइरसजन्य रोगका कारण त्यस्ता ठाउँमा अलैंची मौलाउनै छाडेपछि दाहाल बन्धुले खेतीपाती हुँदै गरेको जमिनलाई सदुपायोग गरे । वर्षभरि मेहनत गर्दा खान पुग्ने अन्न नफल्ने जमिनमा भएको उत्पादनले उनीहरूको आर्थिक हैसियत मात्र बढेन, जिल्लाभरका कृषकलाई गतिलो प्रेरणा पनि भएको छ । गत वर्ष त्यति आम्दानी गरेका उनीहरूको यो वर्ष उत्पादन बढ्ने पक्का छ । प्रतिमन एक लाखभन्दा धेरै पुगेको अलैंचीले उनीहरूलाई सदरमुकाममा घरजग्गा जोड्न पनि सघाएको छ ।
न्यून आयस्तर भएकी फिक्कल पान्दामस्थित सुकुलमु यल्मोले अलैंची विकास केन्द्रमा ज्यालादारी गरेर थोरै रकमले आर्थिक गर्जो टार्दै आइन् । नजिकै रहेको केन्द्रले बिरुवा उत्पादन गर्ने कामलाई प्राथमिकता दिएपछि उनले प्राविधिकको सरसल्लाहबमोजिम घरमा नै नर्सरी राखिन् । चार वर्षअघि उनले डेढ रोपनी जमिनमा अलैंचीको नर्सरी बनाइन् ।
त्यसका लागि बिरुवा र प्राविधिक पाटोमा सघायो केन्द्रले । दुई वर्षपछि पाँच हजार बिरुवा उत्पादन गरेर २५ हजार हातमा पारेकी यल्मोले बर्सेनि बिरुवाको संख्या बढाइन् र आम्दानी मोटो पार्न सफल भइन् । अर्को वर्ष नौ हजार बिरुवा उत्पादन गरेर ६३ हजार आम्दानी गरेकी यल्मोले यो वर्ष १५ हजार बिरुवा उत्पादन गरेर १ लाख ३३ हजार रुपैयाँ आम्दानी गर्न सफल भइन् ।-कान्तिपुर