कोरियाली अनुभव – आवाज एउटै सुनाई फरक


कोरिया आई पुगेको दुईहप्ता भएको थियो । छुट्टिको दिनको साँझपख दाइहरूसँगै घुम्न निस्किएँ । हामी बसेको कोठा नजिकै सडक पार गरिसके पछि एउटा खोल्ची आइपुग्दो रहेछ । खोल्ची हानाम् सिटीको वीचमा पर्दो रहेछ । हामी सबै साईकल लिएर त्यहि खोल्ची हुँदै निस्क्यौँ । खोल्चीमा कञ्चन पानी कलकल बगिरहेको थियो । माछाहरू पानी भित्र कत्ला फिजाउदै उडिरहेको देखिन्थ्यो ।

खोल्चीको दुबै किनारामा मान्छे हिँड्ने सानो बाटो थियो भने एक साईडमा साईकल मात्र कुद्ने बाटो थियो । छेऊ छेऊमा एकैनासका स–साना रुखहरू थिए । सुस्त हावाको तालमा बाटो वरपरको फूलहरु घरी दयाँ घरी बयाँ हल्लिनुमा मस्त देखिन्थ्यो । यो दृश्यले मन अनायासै फुरुङ्ङ भएर आउथ्यो । खोल्चीको किनारै किानार गए “हान्गाङ”(हान नदी) पुगिदो रहेछ । जाँदै गर्दा कतिपाए ठाऊमा ब्यायम गर्ने मेशिनहरू देख्न्थ्यो भने थकाई मार्ने प्रतिक्षलय पनि देख्न सकिन्थ्यो । त्यहि वरपर शौचालयको पनि ब्यबस्था रहेछ ।

मान्छेहरू कोहि दौडिरहेको देखिन्थे त कोहि गफ गर्दै पाईला अलि छिटो छिटो सार्दै गरेको दृश्य देखिन्थ्यो । हान्गाङ पुग्नु अघि एउटा सानो जंगलमा आईपुग्यो । त्यहाँ साईकल अलि बिस्तारै चलाउन भनिएको रहेछ । मेरो अगाडीबाट एउटा मृगले स्वाट्ट बाटो पार गर्यो । म झल्यास्स भएँ । दाइहरू कोहि अलि पछि पछि थिए । चराचुरुङ्गीको चिरविर चिरविरले वातावरण निकै रमाईलो र संगितमय तुल्याएको थियो । जंगल कटे पछि हान्गाङ देखियो ।

फल्याक जस्तो लामो बस्ने ठाऊँ रहेछ जहाँबाट हान्गाङको दृश्य मजाले अबलोकन गर्न सक्थ्यौ । सान्ध्यकालीन समय सूर्यको गुलाबी निर्मल किरण पखेटा जस्तै आकाशमा फैलिएको थियो । हामी सबै जना एकछिन थकाई मार्नु पर्‍यो भनेर बस्यौँ । हान्गाङ नदी भने थकाई नमारी आफ्नै तालमा बगिरहेको थियो । यस्तो लाग्थ्यो कि उस्लाई कहिलै थकाई लाग्दैन । परबाट हेर्दा निकै शान्त र कञ्चन देखिन्थ्यो । छेउमा हान्गाङको पानी माथि तैरिने पानीहाँस र वरिपरीको दृश्य अवलोकन गर्ने दुर्बिन पनि रहेछ । दुर्बिनबाट हेर्दा एक हुल पानीहाँस कति सजिलैसँग तैरिरहेको देखिन्थ्यो । एक छिन हेरिबसेँ अनि यसो सोचेँ । के यी पानीहाँसहरू हामीले बाहिरबाट हेर्दा जत्ति सजिलोसँग तैरिएको देख्छौ भित्रबाट त्यत्ति नै सजिलो छ होला त ? हामी  मानवहरूले बाहिरबाट जस्तो देख्छौ त्यस्तै बुझ्छौ, अनि जस्तो बुझ्छौ त्यस्तै ब्याख्या गरिदिन्छौ ।

बास्तावमा बाहिर जत्ति सजिलो देखिन्छ त्यत्तिनै भित्र खुट्टा चलाएर कष्ट गरिरहेको होला है ?

अनि एकछिन बसेर हामी कोठा तिर फर्किदै थियो बाटो छेऊमै एउटा ढुकुर पाईला चाल्दै चरिरहेको देखे । त्यो ढुकुर नजिकैबाट मानिसहरू आउने जाने गर्दा पनि अरुले ढुङ्गाले हान्ला मार्ला भन्ने केही डर थिएन । कत्ति स्वतन्त्र भएर खेलिरहेको देखेँ । मैले दाइलाई भने यो जगत मानवको मात्र हैन । यो दुनियाँमा जत्ति पनि प्राणी  प्राकृतिक बोट विरुवाहरू छन्, सबै सबैका लागि हुन । सबै सँग मिलेर बस्नु पर्छ भनेर यहाँ कोरियालीहरूले कत्ति बुझेको है दाइ ? अब कुनै युगमा बुद्धको जन्म भयो भने सायद यही भुमिमा हुन्छ होला । सबै आ–आफूमै कत्ति स्वतन्त्र छ ।

कम्पनीमा जाँदा साईकल चलाउदै सुरुङ मार्ग पुग्नु ठीक अगाडी बाटोको छेऊ देखि भित्ता भरी फूलै फूलको बगैचा र स-साना मन्दिर जस्तो लाग्ने, ढुङ्गाद्धारा निर्मीत मुर्तीहरू देखेँ । आहो कस्तो राम्रो पार्क अब आउने हप्ता एक्लै भए पनि आएर फोटो खिच्नु पर्छ भनेर सोच्दै कम्पनि गएँ । कम्पनिमा भोलि स्कुलबाट पाहुना आउने खबर  सुनायो । भोली पाहुना आउने भने पछि आजै काम अलि चाँडो सिध्याएर सरसफाई गर्ने चलन रहेछ । सी फुडको कम्पनी भएकाले घरी जिल्लाबाट घरी स्कुलबाट घरी क्षेत्रबाट चेकजाँच गर्न आईराख्ने रहेछन् । हामी त्यत्ति सरसफाई गरी काम गर्दा पनि भित्ता तिरको स सानो कुराहरू सबै खोतालेर हेर्ने गरेको देख्दा कोरियामा खानपान परिक्षणर स्वास्थ्य प्रति कति संवेदनशील छन् भन्ने कुरा अनुमान लाउन सक्थ्यौँ ।

केही दिन पछि अरू साथीहरू लोट्टो(चिट्ठा)काट्ने भनेर बजारको बाटो गए । सुवास दाइ र म चाहिँ सिधै सुरुङको बाटो हुँदै कोठा जाँदै थियो । मैले अस्ति देखिएको पार्क देखाउँदै सोधेः दाइ त्यहाँ कस्तो राम्रो पार्क रहेछ घुम्न आऔँ है यो हप्ता? दाइले हाँस्दै भन्नु भयो यो त हामी जस्तो जिवीतहरूको पार्क नभएर चिहानहरुको पार्क हो । त्यस पछि मनमा चिसो पस्यो बेलुका ९ बजेको समय थियो । अरु बेला थाहा नहुँदा एक्लै हिँडिरहने म थाहा पाएपछि साथीहरु सँगै मात्र हिँड्न थालियो ।

हरेक महिनाको १० तारिख तलव आउने दिन रहेछ । म र एकजना साथीको विदेशी परिचय पत्र बनि नसकेकाले बैंक खाता थिएन । हामी २४ तारिख कोरिया आई पुगेकोले अघिल्लो महिनाको २४ देखि ३० तारिख सम्मको ७ दिन काम गरेको तलव एकजना दाइको खातामा हालिदियो । तलव झन्डै ५० हजार नेपाली आएको थियो । दाइहरू आउनु भएको ४ बर्ष भईसकेको थियो । हामी कोरिया आएको दिन अशोक दाइले साईकल अर्डर गर्नु भएकोले उहाँलाई तिर्नु थियो ।

साईकलको कत्ति पो भन्नु भाको थियो दाई?

८० हजार वन ।

नेपाल हुँदा १५ रुपियाँ गाडीभाडा नभएर जमल देखि चाबहिल सम्म हिँडेर गएको मान्छे म । नेपाली रुपिँया मगजबाट हटि सकेको थिएनँ म तर्सिएँ । त्यो भनेको नेपाली कत्ति हो र दाइ ?

८ हजार नेपाली ।

ए..त्यत्ति पो हो?

हस् दाजै ए.टि.एमबाट झिकेर क्यास दिन्छु ।

दाइहरू केही महिना भित्र घर जाने भएको थियो । दोङसऊलको टेक्नो मार्टमा सपिङ गर्न जाने कुरा भयो । मलाई त अझै कोरिया देख्नु र हेर्नु थियो । त्यस हप्ताको शनिवार बेलुका दाइहरु संगै मिसिए म पनि । ट्रेन स्टेशनसम्म बस चढेर गयौँ । त्यस पछि लिफ्ट चढेर अण्डरग्राउण्डको ट्रेन स्टेशन प्रवेश गरियो । जहाँ एटिएममेशिन, यातयात कार्ड रिचार्ज गर्ने ठाऊँ देखि सपिङ गर्ने ठाऊँ, पसलहरूको सबै सुबिधाहरू देख्न सकिन्थेँ । जमिन भित्र छु जस्तो महशुस पनि नलाग्ने, एक छिन पछि पो आश्चर्य मान्दै आहो म त जमिन भित्र पो छु त है !

भित्र कयौँ मान्छेहरू आवत जावत गरेकोदेख्छु । न त धुलो छ, न त हिलो नै,पुरा झलमल्ल उज्यालो र सफा देखिन्थ्यो । एक छिन पछि ट्रेन आयो र जीवनमै पहिलो पटक ट्रेन चढ्दा अचम्म र वास्तविक कोरियाको महशुस भईरहेको थियो ।

एक छिन सोचे सायद मेरो देशका नेताहरू विदेश भ्रमण जाँदा बाहिर मात्र घुम्छन् होला । नत्र यत्तिको बर्षसम्म नेताहरुले अलिकति गर्ने आँट त गर्नु पर्ने हो । नेपाल यत्तिको हुन कत्ति औँ बर्ष लाग्ला ? के हाम्रो पालामा यस्ता कुराहरुको शुरुवात गर्लान ? यस्ता प्रश्नको फिलङ्गोहरू मगजमा उडेर आईरहन्थ्यो ।

ह्या छोड्दिऊ यस्ता कुराहरू बरु नयाँ ठाऊको नयाँ–नयाँ कुराहरू हेरेर आनन्द लिनु पर्यो । सबै कुरा बिर्सेर अवलोकन र महशुस मात्र गरिरहेँ । हामी दोङसउलको “खाङ्ब्यन स्टेसन” पुग्यौँ । ट्रेनबाट ओर्लेर अर्नडरग्राउण्डबाट बाहिर ननिस्किकनै भित्र भित्रै टेक्नो मार्टको अन्डरग्राउण्डको ३ तला मुनि पुग्यौँ । यसो सोचे अझै पनि पो म त जमिन मुनि नै पो छु है ! अनि लिफ्ट चढ्दै माथी उक्लदै सपिङ गर्दै हिड्यौँ । सपिङ गरिसके पछि विनायोजना एक्कासी दोङ्देमुन जाने कुरा भयो ।

दुङ्देमुन पुगे पछि प्राय विदेशीहरू र नेपालीहरू धेरै देखिन थाल्यो । त्यहाँ नेपाली रेष्टुरेण्टहरू धेरै रहेछन् । खानपान गर्ने र घुम्फिर गर्दा रातीको ११ बज्यो । लौ त अव कोठा फर्कौँ भन्दै ट्रेन स्टेशन गयौँ । झन राती पो मान्छे झन बढी देखिन थाल्यो । कोठा आईपुग्न लाग्दा १२ बज्न लागेको थियो तर पनि मान्छेहरूको घुँइचो घटेन । राती १२ बजे पनि एउटी महिला आफ्नै स्वईच्छा पहिरनमा निर्धक्क भएर हिँडिरहेको देख्दा मलाई लाग्थ्यो कि मेरो देशमा मेरो देशका चेलिबेटीहरू पनि कहिले यसरी ढुक्कसँगले शुरक्षित महशुस गरेर हिँड्न सक्लान ? छोरीचेली कतै गएर ढिला भयो भने आफ्ना अभिभावकलाई बढी चिन्ता हुने मेरो देश ।

अनि मैले एकजना दाइलाई सोधेँ

दाई के हाम्रो देशले ठुल्ठुला विकास गर्न नसके पनि कम्तिमा पनि यहाँको जस्तै नागरिकलाई सुरक्षा दिन सक्दैनन् र ? हाम्रो चेलिबेटीहरू रात परे पछि कहिले सम्म त्रसित भएर हिड्नु पर्ने ? यहाँ हेर्नुस त एउटी महिला यत्ति राती पनि निर्धक्क भएर हिँडि रहेकी छे ।

दाइले भन्नु भयो खै भाई एउटी किशोरी बालिका निर्मला पन्तको त अहिले सम्म बलत्कारी पता लाउन सकेको छैन, त्यस पछि पनि कति जना निर्मलाहरूको बलत्कार पछि हत्याको समाचार सुनिसक्यो । यस्ता घट्ना नेताहरूको घर धुरीमा टेकेको भए थाहा पाउने थियो । के गर्नु तिनीहरू त पुँजिपतिहरू सबै शुरक्षित र विलाशी जीवन विताउछन् । तिनीहरू कहाँ जनताको शुरक्षा र देशको विकासको लागी नेता भएका हुन र भाइ ? अनि मैले फेरी सोधेँ तिनीहरूलाई जनताले नैचुनेको नेता हैनन र दाइ ?

खै के भन्नु भाई नेपालका अलि अलि बुझ्ने जत्ति सबै विदेशमा पलायन छन् । विदेशबाट भोटहाल्ने नीति बनाउदैनन् । खाली हामीले पठाएको रेमिटेन्सबाट ट्याक्स काट्छन् । विदेशमा बगाएको पसिना र रगत चुस्छन् मात्र । गाँऊघरमा बुढाबुढी मात्र छन् । तिनीहरू कि त आफ्नो पहिलै देखि हाल्दै आएको पार्टीलाई भोट हाल्छन् कि त जस्ले जे भन्यो त्यसैमा हाल्छन् । त्यसै माथि पाटीले राम्रो ब्यक्ति भन्दा पनि पैसा अलि भएको ब्यक्तिलाई टिकट दिन्छन् । चुनावमा अलि अलि खर्च जाँदैनन् । चुनावमा भएको खर्च त उठाउनै पय्रो नि भाइ । देशमा अलि अलि देखिएको युवाहरू अधिकांश पार्टीको कार्यकर्ता हुन् । शिक्षकहरूलाई त राजनीतिको विल्ला भिराएर विद्यालयको शिक्षा नै काम नलाग्ने बनाएका छ ।

भो भाइ देशको कुरा नगरौं ।

मन निशासिएर आउँछ ।

यति भन्दै कोठा जाँदै गर्दा एउटा ट्याक्सि वालालाई ट्रफिकले सभ्य भाषामा सम्झाउदै गरेको देखेँ । मन मनै सोचेँ वाह! यो पो हो त देशका प्रशासनिक संस्कार अनि जनताको सेवक..। एकछिन पछि कोठा पुग्यौँ । यसरी नै कम्पनि आउने जाने गरि दिनचार्य विताउदैँ गरेँ । गर्मी सिजन सकिए पछि जाडो शुरु भयो । केही समय पछि बिहान कम्पनि जाने क्रममा बर्षकै पहिलो पटक हिँऊ पर्‍यो । जाँदा जाँदै साईकलबाट ओर्लेर बर्फिलो भुँईमा टेकिहेर्न मन लाग्यो । हिऊँमा टेक्दा चरप् चरप् आवाज आउँदो रहेछ । यस्तो हिँऊ पाईला मुनी परेको जीवनमा पहिलो पटक भएकाले ज्यादै खुशी महशुस भईरहेको थियो ।

फेरी साईकल चढेँ । बर्फिलो बाटो भएकाले अलि सतर्क अपनाएर कुदाउनु पर्ने थियो । हिँऊका स–सना भुवाहरु उडेर वेतोडले गालामा झाप्पड हान्दै थियो । हात चिसोले कठ्याङ्ग्रेको थियो । यसरी नै केही समय काम्पनीमा आवत जावत गरेँ । केही दिन पछि साहुले कम्पनि नयाँ ठाऊमा सर्नु पर्ने वताए । हामीले काम गर्दै आएको कम्पनि साहुले भाँडामा लिएको रहेछ । तीन तलाको मात्र थियो । साहुले अन्तै जग्गा किनेर नयाँ कम्पनि बनाउदै गरेको कुरा त केहि समय अगाडी सुनेको थिएँ । केहि समय पछि हानाम्सिटी कै “छोईदोङ”भन्ने ठाऊँमा बसाई सर्यो । जहाँ हाम्रो कम्पनी देखि रोडपारीपट्टी सऊल पर्थ्यो ।

नयाँ कम्पनी ६ तलाको बनेको रहेछ । कम्पनिको छत माथि गाडि राख्ने पार्किङ थियो भने ५ तलामा अफिस र एक साईडमा साहुसाहुनी बस्थे । हामीलाई ४ तलामा सुव्यबस्थित बस्नेकोठाहरू बनाएको रहेछ । तीन तलामा काम गर्नु पर्थ्यो । एक र दुईतलामा चाहिँ समानहरू भण्डारण गर्ने ठाऊँ बनाएको रहेछ ।

कम्पनि देखि लोट्टेटावर नजिकै जस्तो देखिन्थ्यो तर साईकलमा २५ मिनेट जत्ति लाग्ने रहेछ । बेलुका भने लोट्टेटावर झिमिक झिमिक गर्दै आफ्नो छालाको रंग बदल्दाको दृश्य देख्दा निकै रमणीय लाग्थ्यो । कम्पनिको वरीपरि कम्पनिकै मात्र घना विल्डिङहरू देखिन्थ्यो ।

हाम्रो कम्पनीमा खाना बनाऊन निषेध भएकोले खाना नजिकैको रेष्टुरेण्डमा खानु पर्थ्यो । खाना खाने ठाऊँमा अर्को कम्पनिको दुईजना दाइहरू भेटिए । एक छिन परिचय गर्‍यो र हप्तान्त भेट्ने बाचा गर्दै हामी छु्ट्यौ । कम्पनीको छेऊमा भने भर्खर मात्र बन्न लागेको जग हाल्दै गरेको कम्पनि देखिन्थ्यो भने काम गर्ने मान्छे भन्दा मेशिन धेरै देखिन्थ्यो । कम्पनिको पछाडी पट्टि सानु टापु र जंगल थियो । जाडोले गर्दा पातहरू सबै झरेर त्यस जंगलमा झिँगटो जस्ता रुखहरू उभिएका थिए । नाङ्गिएको रुखहरूको विचबाटै पल्लो पट्टिको घरहरू देख्न सकिन्थ्यो । राती आकाशरुपी कालो छतले माथीबाट छोपिए पछि निष्पट अन्धकार फैलिन्थ्यो । त्यस जंगलमा कुनै चराचुरुङ्गीको आवाज आउदैनथ्यो । आउथ्यो पनि कसरी? त्यस जंगल रित्तो थियो । पंक्षीहरूको लागी खाने बस्ने वातावरण केही थिएन । यसो सोचे केही नहुँदा कोहि नहुँदा रहेछन् । यत्ति सनट्ट छाउँथ्यो कि मुसा हिँडेको भए पनि चाल पाईन्थ्यो । झ्यालबाट हेर्दा फिका शुन्य आकाश र ती निस्तब्धता वातावरण नैराश्यले डुबेको प्रतीत हुन्थ्यो । खाली बतासहरू झ्यालको भित्तामा सुसाउँदै बाहिर भुई भुई आवाजहरू निकाली रहन्थ्यो । त्यही समयमा न्युजतिर कोरोनाको हल्लाफट्टा फुट्ट सुन्नमा आउदै थियो ।

दाइहरूको पनि घर जाने वेला भयो । एक जना दाइ बेलाबखत बाँसुरी बजाईरहनु हुन्थ्यो । त्यो बाँसुरी बडो जतनले माया गरेर राख्नु हुन्थ्यो । घर जाने बेला मलाई चिनो छोडेर जानु भयो । केही समय बजाउने कोसिस गरे खासै धुन निस्केन । त्यत्तिकै थन्काएर राखेँ । राती यसो ढल्किन खोज्दा बाँसुरी बेवारिसे तरिकाले सिरानी छेऊमा लडिरहेको देखेँ । यसो सोचेँ बाँसुरीको महत्व धुन निकाल्न जान्नेलाई थाह छ । बजाउन नजान्नेलाई के थाहा हुन्छ? जसरी जीवनको महत्व जिउन जान्नेलाई थाहा हुन्छ ।

दाइहरू नेपाल गएको केही समय पछि कोरोनाको कहरले संसार भरी तरंग ल्यायो । कोरोनाले धनि,रङ्क भनेर कुनै भेदभाव नगरी सबैलाई समान व्यवहार गर्यो । तर समान व्यवहार गरेको भए पनि यदि नकारात्मक प्रभाव पर्छ भने त्यसको कुनै तुक रहेनछ । साहुनीले बाहिर घुम्न नमिल्ने जानकारी गराईयो । भर्खर भर्खर कम्पनी सरेकोले गर्दा समानहरू व्यवस्थापन गर्ने क्रममा केही ससानाटेबलहरू र कपडा झुण्ड्याऊने ह्याङ्करहरू नअट्ने भए छन् । साहुनिले सबैलाई माथी बोलाएर को को लाने हो? भनेर सोधिन् । मलाई एउटा किताब राख्ने टेबलको आवश्यक परिरहेको थियो । मैले “नादो खाज्यखल्लेयो” म पनि लान्छु”भन्नु पर्नेमा (नदो खाज्यखाल्लेयो”तिमी पनि लान्छु)भन्दिए छु ।”ना” (म )को ठाऊँमा “न” (तिमी)उच्चारण भएछ । साहुनीले या नादो खाज्यखाल्लगो? ओई म पनि लाने भनेको? भनेर झण्डै मारेन । सबै जना मुर्छ पर्ने गरि हाँस्यौँ । साहुनी पनि हाँसिन् । केटाहरूले जिस्केर भन्दै थियो धन्न साहु छैन नभए तलाई मार्थ्यो ।

कोरोनाले गर्दा स्कुलहरू बन्द भएकाले कम्पनीमा काम खासै भएनँ । त्यही कोरोना कालमा भने हेर्दा हेर्दै पर छेऊ तिर ठुल्ठुला विल्डिङहरू ठडियो । हाम्रो कम्पनी छेऊको हामी आऊँदा भर्खर जग हाल्दै गरेको विल्डिङ त्यति थोरै कामदारले सोचेको भन्दा छोटो समयमा ठड्याएको देख्दा अचम्म लाग्यो । सायद आधुनिक टेक्नोलोजीको कमाल होला ।

एक दिनको कुरा हो, रेष्टुरेण्टमा हामी पुराना ग्राहक भईसकेकाले हामीलाई त्यहाँका अन्टिहरूले जिस्काई रहन्थ्यो । एक दुईजना बाहेक प्राय साथीहरूले गोरुको मासु खाँदैनथ्यो बंगुरको चाँहि खान्थ्यो । खाना बुफे सिस्टम थियो । मासु फ्राई गरेर राखेको रहेछ छाला नभएकोले चिन्न सकेनँ । आन्टीहरूले “च्वाँ”को भनेर “बाँ”को ख्वाईदियो । केटाहरूले मेसो पाएनन् । खास हाम्रै ग्रुपको एकजना उट्पट्याङ केटा र अन्टीहरूको योजना रहेछ । पछि थाह पाएँ ।

जाडोको सिजन गईसकेको भएर खासै जाडो थिएनँ । अर्को कम्पनिको दाइहरूसँग भेटेर लौन कोरोनाले कोठा बस्दा बस्दा दिक्क लाग्यो । तपाईहरू त पुरानो प्राय ठाऊँ घुमिसकेको मान्छे, घुम्न जाऔ न कित यता कतै नजिक समुन्द्र छ भने त्यतै जाऔँ भने । उनीहरुले योजना बनाए उसो भए सप्तान्तमा ईन्छन् जाऔँ । मैले हुन्छ भने अरु साथीहरूलाई नि भने तर जान मन गरेनन् । सप्तान्तमा ईन्छनको समुन्द्र जाँदै गर्दा एउटा गाँउ जस्तो ठाऊँमा आईपुग्यो । त्यो ठाऊँ यत्ति सफा थियो कि है मैले सन्देश गुरुङदाइलाई सोधेँः दाइ यहाँ एकान्त गाउँ जस्तो ठाऊँमा पनि कत्ति सफा गरिराख्छन है?

दाइले भन्नु भयोः यिनीहरूले अलि अलिसफा त गर्छन नै भाइ तर यहाँको मान्छेहरूले सफा गर्नु भन्दा बढी फोहोर गर्दैनन् । यो सामन्य जस्तो लाग्ने जवाफ निकै गहन लाग्यो । मनमनै सोचेँः ए हो त है! सफा गर्नु ठुलो कुरा हो कि फोहोर नगर्नु ठुलो कुरा हो? डाक्टरले त रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो भनेको सुनेको थिएँ । यी कुराले मन सिधै काठमाण्डौ पुग्यो । नेपालमा कम्सेकम सफा नगरे पनि फोहोर नगर्ने संस्कारको विकास भईदिए कत्ति जाती हुन्थ्यो ।

त्यस पछि केही समयमा समुन्द्र पुग्यो । पहिलो पटक देखेको समुन्द्र निकै रमणीय थियो । समुन्द्रको छालमा एकछिन पौडि खेल्ने र किनार नजिकैको वालुवामा फोटो खिच्ने गरेर बेलुका फर्कियो । केही समय पछि कोरोनाले गर्दा स्कुलहरू बन्द भएकोले कोरियन सरकारको स्कुलमा गर्नु पर्ने खर्च बच्यो । त्यो बचेको खर्चलाई सदुपयोग गर्ने उद्धेश्यले कोरियन सरकारले हरेक बिद्यार्थीहरूलाई (सन्मुल)उपहार स्वरुप सि फुड बाँड्ने निर्णय गर्यो । त्यस पछि २ महिना जति कम्पनी दिन रात व्यस्त भयो । साहुले राती काम गर्ने कामदार अन्तैबाट झिकायो । त्यस पछि अलि अलि फाईदा भएछ क्यारे साहुले (होईसिक) कम्पनिको पार्टी पो गरौँ भन्यो ।

काम्पनिको पार्टी गर्न गयौँ । पार्टीमा प्राय (सुल) रक्सी र (मेक्चु) बियर हुँदा रहेछ । नेपाल हुँदा म खासै खाँदिनथे । त्यहि चाडपर्वमा गाऊँघरको साथीहरू सँग कहिले कही खान्थेँ । त्यस माथी काठमाण्डौ बस्दा कोहि पनि साथीले नखाने भएकाले नखाएको धेरै बर्ष भईसकेको थियो । त्यस दिन ईन्छनमा त्यत्रो समुन्द्रको छालले नडुबाएको मलाई, साहुले दिएको एकगिलासले डुबायो । त्यो फेरी जति पटक हाले पनि एकै गिलास हुँदो रहेछ । साहुको मायालाई इन्कार गर्नै सकेनँ । त्यसो गर्नु यहाँ कोरियाको सँस्कारले दिदैनथ्यो । मैले अल्कोहल हैन माया पिईरहेको थिए । मायाले डुबाउछ भन्थ्यो हो रहेछ । तर यसरी देखिने मायाले जत्ति डुबाए पनि केहि समय पछि हराऊदो रहेछ ।

त्यहि बखतमा अफिसमा काम गर्ने एउटी युवती आईन् । मेरो नजिक थचक्क बसेर(छिङगु)साथी भन्दै छेउमा भएको बियर हाल्न खोज्यो  । मैले हैन मैले धेरै खाईसके बरू तिमीलाई चाहिँ म हालि दिन्छु भनेर हालि दिएको लगभग ६ ईन्चको गिलासमा २ ईन्च बियर ४ ईन्च फिजले भरियो । मेरो त्यो गोर्खे कन्फिडेन्ट र कला देखेर उनी  जिल परिन् । शायद अब जीबनमा म सँग बियर खान कहिलै आउन्न होली ।

म त्यसरी त पानी पनि पिऊन सक्दिनँ जसरी तिनीहरूले अल्कोहल पिएका थिए । मदोन्मत्त भएर कोठा आईपुगेँ । भरे कोठा आएर सुतेको त कोठामा त भुकम्प आएझै हल्लेको अनुभुती भयो । भित्ता हेर्छु फननघुमिरहेको देखेँ । एक छिन आँखा चिम्लिए निदाएको पत्तै पाएनँ । भोलि बिहान काममा जानु पर्ने, टाऊको दुखेर नसक्ला जस्तो भईरहेको थियो । तैपनि जसोतसो गएँ । अब यसरी खानु ठिक हैन जस्तो लाग्यो । त्यस दिन देखि नोनड्रिङकर चाहि हैन भन्नुलाई बाहेक नखाने निधो गरेँ ।

केहि समय पछि झ्यालबाट देखिएको जंगलका रुखहरूमा कलिला मञ्जरीहरू पलाएको दृश्यहरू देखिनथाल्यो । बिस्तारै बाटोको छेऊतिर भएको रुखहरूमा फूलहरू फक्रिन थाल्यो । केहि समय अगाडी निर्जिव लाग्ने रुखहरूमा कम्पित पातहरू देखिन थाल्यो । चराचुरुङ्गीको चिरविर आवाजहरू गुञ्जिन थाल्यो । ती रुखहरूले हिजो सुक्खा खडेरी केहि नहुँदा छोडेर गएका ती चरीहरूलाई अतितका सबै कष्टहरू भुलेर आफ्नो सन्तान झै काखमा बास दिदै थियो । ती वृक्षहरू सुसाएको देख्दा चाडपर्वमा आफ्नो सन्तान आऊँदा आमाको मुहारमा देखिएको चमक झै उल्लासिदै गरेको भान हुन्थ्यो । साँझ परे पछि चरीका बथानहरूबाट थरी–थरी कलरव अवाजको गुञ्जायमानले पुरै वातावरणलाई सजीव तुल्याउथ्यो । कहिले काहीँ यस्तो लाग्थ्यो कि जीवनमा ठूलो धैर्यता पनि चाहिँदो रहेछ । स्थाई केहि पनि छैन । हिजो रित्तो हुँदा छोडेर गएकाहरू पनि आज रंगिचङ्गी बसन्तमय हुदाँ सबै रमाउन आउने समय पनि आउँदो रहेछ । फेरि दोष ति निर्दोष वृक्षको थिएनँ मौसमको थियो । हाम्रो जीवनमा यस्तै मौसमहरू आईरहने र गईरहने गर्छन । कहिले अनकन्टार खडेरी र चुनौतीहरू लिएर आउछ त कहिले बसन्तको बहार लिएर आउछ । राती सुत्ने तरखरमा थिएँ । यसै गुञ्जायमान आवाजबाट एउटा परिचित आवाज झ्याल छेडेर आए झै लाग्यो । झ्यालको पर्दा अलि पर सारेर सबै आवाजलाई पन्छाउदै कान थापिरहेँ । पर जंगलको विचबाट सुमधुर आवाजमा “काफल पाक्यो” काफल पाक्यो” भनिएको आवाज कानमा पर्यो ।

हैन यो त विदेश हो । विदेशी चरीले स्वदेशी गीत कसरी गायो ? कतै म सपनामा त छैन ? गुगलमा सर्च गरि हेरेँ, साच्चिकै रहेछ । जसलाई कोरियाली भाषामा “पकुगी”भनिदो रहेछ । आफ्नो गाँउको चिनेको ढुङ्गाको त माया लाग्ने मलाई त्यो आवाजले मनमा छुट्टै अनुभूती तुल्यायो । अनायासै त्यो चरीको धुनले गाउँ तिरको विस्मृत यादहरुलाई सजिव बनायो । अनि सोचेँ यी पंक्षी बिना पासपोर्ट विना भिषा खुल्ला आकाश हुँदै स्वतन्त्र भएर संसार डुल्दैछन् । हामी मानव पनि यस्तै भई दिएको भए कस्तो राम्रो हुन्थ्यो होला है? हुन त उस्को पनि आफ्नै चुनौतीहरू होलान् । हामी अरुको राम्रो र सजिलो मात्र देख्छौं । यसै क्रममा एउटा प्रश्न मगजमा खडा भयो । हाम्रो देशमा काफल भएर पो हामीले “काफल पाक्यो “ सुनियो त के कोरियनहरूले यस्तै सुन्लान ? एकछिन सोचे त्यस पछि आखाँ उँग्न थाल्यो । यो प्रश्नलाई सिरानीमा थन्काएर म सुतेँ ।

भोली पल्ट बिहान काममा जाँदा प्रश्न पनि साथमा लिएर गएँ । यसको जवाफ कसरी पाउन सकेला भनेर सोच्दै थिएँ । एउटा सोच आयो हामीले “हाच्छ्यु”गर्दा “हाच्छ्यु”नै सुनिन्छ, यिनीहरूले कस्तो सुनिदो रहेछ? भनेर सोधेँ । उनीहरुले अर्कै भन्यो ।”छेछेगी”भन्दो रहेछ । अनि बिरालोको म्याउँ–म्याउँ, कुकुर भुकाईको आवाज सोधेँ । बिल्कुलै फरक जवाफ आयो । हामीले सुनेको सुनाउदाँ नि निमिल्दा रहेछ । अनि बुँझे कि यो दुनियाँमा एउटै आवाजलाई अलग अलग मान्छेले फरक –फरक सुनिँदो रहेछ । सायद यो नै बहुदेश र बहुभाषाको सौन्दर्य होला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...