देवकोटा जयन्ती विशेष विश्वकाव्य गोष्ठी सम्पन्न, कोरिया च्याप्टरले मनायो लक्ष्मी जयन्ती
सउल, दक्षिण कोरिया ।
कार्तिक १४, २०७८
अनेसास कोरिया च्याप्टरको आयोजनामा देवकोटा जयन्ती विशेष विश्वकाव्य गोष्ठी भव्य रूपले सम्पन्न भएको छ । कार्यक्रम जुम अनलाईन भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
कार्यक्रममा अतिथि कविहरू मुकुन्द प्रयास, केजी सुब्बा, युग सर्वनाम, परिविक्रम ममता मृदुल, गौतम मनिष, ज्ञानेन्द्र ब.सिंह, सुलभ अधिकारीलगायतले देवकोटाप्रति श्रद्धा- सुमन व्यक्त गर्दै रचना वाचन गरेका थिए ।
अनेसास केन्द्रका अध्यक्ष, प्रखर हाइजिन एवम् आख्यानकार प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि माइलाले देवकोटाका व्यक्तित्व र कृतिबारे प्रकाश पारे । त्यसैगरी नेपाली भाषासाहित्यको उन्नयनमा कोरिया च्याप्टरको अथक योगदानको प्रशंसा गरे । कोरिया च्याप्टर अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष आर. एन.अधिकारीको संयोजन र महासचिव ह्यारी बोण्डको संचालन रहेको थियो । कार्यक्रममा युवा स्रष्टाहरूलाई सम्मान-पत्र अर्पण गरिएको थियो ।
नेपाली साहित्यमा देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र पूर्वीय र पाश्चात्य दर्शन पाउँदछौ। महाकवि कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने विराट प्रतिभा हुन् । देवकोटाका कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ। महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । वि.सं. २०१६ मा उनी शिक्षा मन्त्री हुँदा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गराएका थिए । साथै, नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि उनले सक्रिय योगदान दिएका थिए ।
नेपाली भाषासाहित्य, संगीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था कोरिया च्याप्टरले स्रष्टा सम्मान, भानु जयन्ती, लक्ष्मी जयन्ती , मोती जयन्तीलगायत विभिन्न कविता प्रतियोगिताहरू र सम्मेलनहरू गर्दै आएको छ भने लामो समयदेखि काव्य- सुधा नामक विश्वव्यापी साप्ताहिक रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ ।