कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
कवि शकुन आँसुद्वारा लिखित कविता संग्रह “नवयुगकि सुम्निमा” को कोरियामा समिक्षागत चर्चा कार्यक्रम सम्पन्न भएको छ। इतर अभियानले गत आइतवार दोङ्देमुन स्थित सेमाउल सभाहलमा कार्यक्रमको आयोजना गरेको थियो। 
कार्यक्रममा आयोजकले ३ वक्ताहरुलाई फरक फरक विषयमा आफ्नो धारणा प्रस्तुत गर्न लगाएका थिए। वक्ता दिपक खनालले “राजनितिक चेतना, दर्शन, भूगोल र विश्व दृष्टिकोण ” विषयमा आफ्नो विचार राखेका थिए। उनले कृतिमा राजनितिक दर्शनभन्दा साँस्कृतिक पहिचानको नजिक रहेको उल्लेख गर्दै आगामी संग्रहमा विश्व दृष्टिकोणले हेर्न सकिने सिर्जनाका लागि शुभकामना व्यक्त गरेका थिए। यसैगरि अर्का वक्ता दिलिप बान्तावाले “मौलिकता, मिथक – बिम्ब, प्रतिक र पहिचान” माथि आफ्नो समिक्षागत धारणा प्रस्तुत गरेका थिए। उनले मौलिकता र पहिचानको विषयमा संग्रह अब्बल रहेको बताउँदै वैचारिक कोणबाट पनि कविता आएको भए सुनमा सुगन्ध हुने विचार व्यक्त गरेका तिए। वक्ता सुष्मा रानाहँमाले ‘नारी शौन्दर्य, संघर्ष तथा नारी मुक्ति” विषयमा रहेको पुस्तक र कविबारे आफ्नो विचार राखेकि थिइन्। कविको स्वभाव जस्तो कविताहरु पनि सालिन रहेको बताएकि थिइन्। उनले कवि नारी भए पनि पुरुषको मनोविज्ञानलाई कवितामा प्रखर रुपले उतारेको तारिफयोग्य बताएकि थिइन्। 
इतर अभियान्ता कवि सुनिल दिप्तको सभाध्यक्ष रहेको कार्यक्रममा, मातृका नेम्बाङ, दिपा मेवाहाङ र सुरेश राईले कवि आँसुको कविता वाचन गरेका थिए। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गैर आवासिय नेपाली संघ, नेपाली सम्पर्क समिति, लगायत साहित्यिक संस्था क्षेतृय तथा जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
तस्वीर – अ्मिर योञ्जन
