डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
कोरियाको दक्षिणी भेग थेगु सहरमा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार आउँदो डिसेम्बर २८ तारिक मनाउने भएको छ । तमू धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा नेपाल टेलिभजनबाट प्रसारित नेपाल आइडल रियालिटी शो सिजन ३ की गायिका ममता गुरुङ र डान्सर/कोरियाग्राफर पवित्रा गुरुङको साथमा थेगु स्थित 대구 광역시 동촌로 28 ( 구르세상수1) हलमा सो “तमु ल्होसार-२०८२” मनाउने भएको हो ।
तमू समुदायको वर्ग चक्र अनुसार सप्री-ल्हो (सर्प वर्ग) लाई विदाई र त-ल्हो (घोडा वर्ग) लाई स्वागत गरी यस पटकको ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं दक्षिण कोरिया थेगु शाखा अध्यक्ष मदन गुरुङले जानकारी दिए । आफ्नो मौलिकता जोगाउन संस्था लागिरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट आमन्त्रित चर्चित कलाकार ममता गुरुङ र डान्सर पवित्रा गुरुङको आगमनसँगै यसपटकको ल्होसार थप ब्यापक हुने संस्थाका वरिष्ठ सल्लाहकार हर्क गुरुङले विश्वास व्यक्त गरे ।
निकै लामो समय ट्रेण्डिङमा रहिआएको “ए ङोल्स्यो मारा” लगायत गुरुङ र नेपाली गीत गरेर झण्डै डेढ दर्जन गीतमा आफ्नो आवाज भरिसकेकी कलाकार ममता गुरुङ र पवित्रा गुरुङको नृत्यले कार्यक्रम थप आकर्षक र बाक्लो सहभागिता हुने अपेक्षा रहेको सन्दर्भ संस्थाका उपाध्यक्ष कृष्ण गुरुङले थपे । आमन्त्रित कलाकारहरु सहितको स्थानीय कलाकारहरु दिया खड्का, दिनेश गुरुङ, जीतेन श्रीष मगर र मुस्कान मुकारुङ राई लगायतको बेजोड साँस्कृतिक प्रस्तुति रहने सो कार्यक्रममा स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था समेत गरिने ल्होसार कार्यक्रम संयोजक दुर्गा गुरुङले बताए ।
तमू धीं दक्षिण कोरिया थेगु शाखाद्धारा आयोजित “तमु ल्होसार २०८२” लाई सभ्य र भव्य सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु एवं संघसंस्थाहरुलाई गरिमामय उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।