कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
डिसेम्बर ७ आइतवार सौल चासोक तङनाममय भएको थियो। किरात याक्थुङ चुम्लुङ कोरियाले छङ्न्याङ्नीको एक हलमा लिम्बू जातिको महान चाड चासोक तङनाम विविध कार्यक्रम गरि मनाएको हुनाले सौल चासोकमय भएको हो। सेवा साम्बा भिम सागर मादेम्बाद्वारा चासोक पूजा गरिएको थियो। 
तङनाममा लिम्बू मौलिक परिकारहरु याङ्बेन, तिते, फाक्सा, वासा , तोङ्बा , थि , किनिम, चाम्रे र सेलरोटी राखिएको थियो। यि मौलिक परिकारको अलावा लिम्बू मौलिक नृत्य केलाङ र यालाङ समेत प्रस्तुत गरिएको थियो । सांस्कृतिक विभागको सामुहिक नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएका थिए। उपस्थिति दर्शकले पनि केलाङ र धाननाचको भरपूर मनोरञ्जन लिएका थिए।
गायक भीम सागर मादेम्बा, मन्दिरा नेम्बाङ, मिथुन तुम्बापो , मान प्रसाद लावती, धिरेन लिङ्ज्याङ , इन्द्र सम्बाहाम्फे र आलाप लिम्बूले पनि आफ्ना प्रस्तुति दिएका थिए। कोरियामा रहेका लिम्बू गायक गायिका द्वारा लिम्बू भाषिक गीत पालाम हाक्पारे आदि पस्किएको थियो। कार्यक्रममा किरात राई यायोक्खाको तर्फबाट साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो।
चुम्लुङ कोरियाका अध्यक्ष विनोद सौदेनको अध्यक्ष्यता र नेपाली राजदूतावासका राजदूत डा . शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्ष शुभराज भोम्जन , एन आर एन कोरियाका अध्यक्ष पार्वती मोक्तान, पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा चुम्लुङ बुसान शाखा, छल्लादो शाखा र जेजुदो शाखाबाट टोलीको उपस्थिति रहेको थियो। भने कोरियामा रहेका सक्रिय राजनैतिक एवम सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज मादेम्बाले स्वागत मन्तव्य दिएका थिए भने निवर्तमान अध्यक्ष दिर्ज काङ्भाले चासोक तङनामको बारेमा विस्तृत वर्णन गरेर प्रकाश पारेका थिए।
लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ। मंसिर पूर्णीमाको दिन देश तथा विदेशमा लिम्बू समुदायले चासोक तङनाम धुमधामका साथ मनाउने गर्दछन्।
