सजीव विम्बहरुको थुप्रो – “आमाको तासफोटो “
तास फोटो आहा! आज भन्दा कम्तिमा पनि डेढ दशक अघि कति ठूलो महत्त्व थियो । कति ठूलो प्रयाय थियो यादहरु संगाल्न । प्राय घर घरको सिकुवाहरु लस्करै झुण्डिएका तास फोटोको फ्रेमहरु ले सानो तिनो ग्यालरी लाग्थे । प्रत्येकको पर्स भित्रका साईड पकेटहरु मा एक दुई तास फोटो जरूर भेटिन्थ्यो । यिनै तास फोटोमा अल्झिएको याद बोकेर नेपाली साहित्यको आँगनीमा टुप्लुक्क हाजिर भएकी छिन् कवि सुष्मा रानाहमा । आँगनीमा भर्खर उनले बिसाएको थुञ्चेरुपी आमाको तासफोटो भित्र धित मर्ने कविता चेसुङ् बोकेर आएकि छिन् । अनि म चै तात्तातो आराखासंग आमाको तासाफोटो नामक पेरुङ्गोभरी कोचिएका थरी थरीका कविताहरू को कोसेली खोतल खातल पार्दैछु ।
कवि सुष्मा रानाहमा साविक पल्लो किराँत खोटाङमा जन्मिएर प्रवास कोरिया मार्फत नेपाली साहित्यमा पदार्पित हुँदैछिन् । उसो त ऊनी कोरिया पुग्नु अगावै नेपाल हुँदै बखत पनि फुटकर कविता लेख्थिन् । तर कोरिया पुगेपछि भने आफ्नो मातृभूमिलाई सिंगो कविता संग्रहको कोशेली पठाएकी छिन् । हालै उनको कविता संग्रह आमाको तासफोटो विमोचन भएको छ । प्रवासी नेपाली साहित्यको कित्तामा कोरिया अलिक कमजोर थियो – धेरैले भन्थे । शायद यहीँ अभावले होला कोरियाबाट नै प्रतिनिधित्व गरेर नेपाली कविता क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बढाउँदै लगेकी छिन् कवि सुष्मा रानाहमाले । यहीं उपस्थितिलाई थप प्रभावशाली बनाउन कवि रानाहमाले हालै आमाको तासफोटो नामक कविता कृति सार्वजनिक गरेकि छिन ।
कविता कृति आमाको तासफोटो भित्रका कविताहरू मा हराई रहँदा कवि संगै कहिले कोरियाको पहाड सिंगारेर फुल्ने साकुराको सेतो बगैंचामा पुगिन्छ । कहिले हिउँ फुलेर सेताम्मै भएको कोरियाको फाँटहरू मा पुगिन्छ, कहिले कर्कश मेसिनको ध्वनि गुञ्जिरहेको कोरियाको खोङजाङ तिर पुगिन्छ । त कहिले खोटाङको ट्याम्के डाँडातिर घाम ताप्न पुगिन्छ । कविको कविताहरू मा बतासिदा बतासिदै मन कोरियाको हेउन्दे समुन्द्र देखि कविको जन्म गाउँ छोएर बग्ने रावाखोला, सावाखोला, साप्सुखोला को उर्लँदो भेलहरू मा पखालिन आई पुग्छ ।
पाईलाहरु कति आतुर होलान्
फर्किजान आफ्नै घरदेश
तर छल्किएर मेटाईदिन्छन् सधैँ
हेउन्दे किनाराका छालहरू ले ।
(पातालको उत्सव, पृष्ठ ४९)
बाबा, अझैसम्म बगिजाने साप्सुको चोखो दहमा
घरी चाउरिँदै गएको अनुहारहरू को छायाँ हेर्दै
घरी निधारको पसिना र आँखाको आँसु पखाल्दै
उहीँ पुरानो गीत गाउछौं रे !
(बाबालाई पार्शल, पृष्ठ ६४)
परदेश देखि गाउँका सुख दुःखका कथा, नारी चिन्तन देखि सवाल्टर्न चिन्तन अनि पहिचानको घनीभूत आवाज यी सप्पै सप्पैको समष्टिगत रूप हो, आमाको तासफोटो ।
सुन,
‘ कक्टेल ‘ बनाएर तोङ्बा कहिल्यै तानिँदैन
कुर्सी र पार्टीको लागि आफ्नो अस्तित्व
पहिचानको छातीमा ट्याङ्की बनाउनेलाई
कहिल्यै माफी दिइँदैन
(नारी, पृष्ठ ८९)
आमा आफैमा सिर्जना हुन, आमाबाट हामी सिर्जित हुन्छौ । आमा सृष्टि हुन । भौतिकतावादी नजरियाले हेर्न थाले सृष्टि अर्थात् आमाको खोजी अन्त्यहीन प्रश्न बन्न जान्छ । हामी अर्थात् मानव अनि होमोसिपेन्स, अनि होमो इरेक्टस् अनि होमोहैबिलेस – अष्ट्रियोपिथेकस – रामा पिथेकस – पृथ्वी – नेबुला – बिग ब्याङ – सिंगुलाराटी । तर भावानात्मक नजरियाले हेरे माथिको तमाम प्रश्न एकै झमकमा भेटिन्छ केवल आ- आफ्नो आमाहरु संग । आमा अर्थात् सृष्टि माथि अर्को सृजना खोज्नु आफैमा महान काम हो । प्रख्यात लेखक म्याक्सिम गोर्कीले आमा उपन्यास लेखे पश्चात आफूलाई कहिल्यै नमर्ने घोषणा गरेका थिए रे । निश्चयपनि आमा माथि सिर्जना जन्माउनु आफैमा महान र अमर काम हो । कवि सुष्मा रानाहमाले पनि आमा माथि सृजना जन्माएर अर्को महान काम गरेकी छिन् ।
कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको
आमाको पुरानो एक थान फोटो
अथवा आमाको जवानीको तासफोटो सुरक्षित छ मसित।
(आमाको तासफोटो, पृष्ठ ५९)
कवि सुष्मा रानाहमाको कविता संग्रहमा आमाहरु फरक फरक परिवेशमा थुप्रैपटक प्रवृष्ट हुन्छ्न । शीर्ष कविता ‘आमाको तासफोटो’ भित्र आमालाई अगाध स्नेह व्यक्त गरिएको छ । ‘छोरा’ कवितामा बुबासंगै जोडिएर आउने आमाको दुःखका कथा व्यक्त छन् । अनि ‘ लिम्दै फूपुलाई’ कवितामा लिम्दै फुपू जन्माएर हुर्काउने आमाको मार्मिक बखान गाउने कविले ‘कलिलो आलाप ‘ कविताको लागि भने आमालाई गाली पनि गरेकी छिन् । जो आमाहरु आमा कर्तव्यबाट भागेका छन् ती आमाहरु माथि कविले जरूर रूपमा शसक्त प्रश्नको आँधी हुत्याउने जमर्को गरेकी छिन् । कविता संग्रह भित्र पटक पटक दोहोरिई रहने आमाहरु माथि फरक फरक बोध व्यक्त गरिनुले ऊनिमा सार्वभौम सत्य माथि पनि प्रश्न गर्न सक्ने दार्शनिक क्षमता छ भन्ने निर्क्यौलमा पुगेँ ।
तिम्रो क्षणभरको भूल हुँ
तर धर्तीको सबैभन्दा सुन्दर फूल हुँ
तिम्रो कुरुप सम्भोगको भोग म
तिम्रो घृणित आवेगको वेग म
…………………….
म ब्रम्हाण्डको सबैभन्दा चहकिलो जुन हुँ
के अझै बाँचिरहेछौं?
आमा,
घृणा गर्छु म तिमीलाई ।
(कलिलो आलाप, पृष्ठ १०१)
अधिकांश नेपाली जवान पाखुराहरुमा राहधानीले ल्याप्चे हानेको छ । धेरै नेपाली जवानहरूले सुनौलो भाग्यको खोजीका लागि राहधानीलाई पथ प्रदर्शकको भुमिका दिनै पर्छ । उहीँ राहधानी सिरानी राखेर अधिकांश युवा युवतीहरु परदेशको बिछ्याउनाबाट आफ्नो देशको सपना देखि रहेका छन् । कवि आफै प्रवासमा भएकैले पनि होला कविता संग्रहमा अधिकांश कविता प्रवासकै हावाले छोएर बग्छन् ।
राजधानीमा बनाएको
राहधानीको पानाहरूमा
मेरो लागि लेखिएको सत्र सय पैसठ्ठी दिनहरू
सीमित औंलाहरूमा भाँचिन थाले देखि
थप सामीप्य बढेर आएको हो राहधानीसंग
यो चिसो दुनियाँसँग ।
(राहधानीसंगको सामिप्य, पृष्ठ ७१)
कविता कृति आमाको तास फोटो भित्र करिब चार दर्जन कविताहरू छन् । चार दर्जन कविता आफैमा धेरै ठूलो परिमाणको कविता हो । कवि बैरागी काईलाले जीवनभरमा करिब तीन दर्जन कविता लेखेको छु भन्नु हुन्थ्यो। उहाँको संख्यालाई त काँचै निलि पठाउने परिमाणमा कवि सुष्मा रानाहमाले एउटै कृतिको लागि कविता लेखेछिन् । यसमा छानिएर पो यति संख्याको कविता भएका होलान् । अझै कति लेखेकी होलिन् कवि ज्यू ले । कवि ज्यूको यो तावततोड गतिलाई कम आँक्न मिल्दैन । तथापि त्यो गतिमा अलिकति ब्रेक चै लगाउनुस् है भनेर सुझाव दिन मुनासिव लागेको छ । ढिला गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न । हतार नगरी आफ्नै गतिमा गए नेपाली काव्यिक नगरीको लागि कवि सुष्मा रानाहमा लामो दौडको घोडा हुन । कम्तिमा पनि उनको काव्य कृति भित्रका कविताहरू ले यहीं प्रमाणित गर्न खोज्छन् ।
कवि सुष्मा रानाहमाको काव्यिक अनुशिलनता उच्च हुँदा हुँदै पनि उनी समसामयिक र घटनाप्रधान विषयहरू संग धेरै रुमल्लिएकि छिन् । काव्यिक शिल्प र काव्यिक सौन्दर्य निर्माणमा अलिकति मेहनतको अभाव पनि देखिन्छ । पछिल्लो समय नेपाली कवितामा मिथकको प्रयोग एउटा फेसन जस्तै भएको छ । आफूलाई पहिचानवादी कवि हुँ भन्न पनि केही मिथक प्रयोग गर्नै पर्छ भन्ने बाध्यता छ, धेरै कवि लेखकहरूलाई । अनुकूल स्थानमा मिथकको प्रयोगले कविता सुन्दर बन्न सक्छ तथापि प्रतिकूल रूपमा मिथकको प्रयोगले कविता भारी बनिदिन्छ । कवि रानाहमाको ज्यादातर कविताहरू मिथकको अनावश्यक प्रयोगले पेदू-पेदु थिचिएका छन् । यति हुँदा हुँदै पनि कवि सुष्मा रानाहमाको कविता सुन्दर भने अत्याधिक छन् । स्थानीयकता, पहिचान र नारी सौन्दर्यको विषयहरूमा उनको अत्याधिक खुल्ने प्रयासलाई सह्राना व्यक्त गर्न सकिन्छ । कविको आगामी काव्यिक यात्रा निरन्तर रहिरहोस् । यहीँ अपेक्षा सहित ओझेलिन्छु । सेवारो।