भोकसँग युद्ध
जब मैले
भोकको भाषा बुझ्छु भन्ने लाग्यो मेरि आमाले
एकदिन भन्नू भो-
बाबू तँ जन्मिदा मैले
पेटभरी खान सम्म पाएको थिँइन
आधा पेट खाएरै हुर्काएको हुँ तँलाई
लामो दुस्मनी छ भोकसँग मेरो आमाको
आफ्नो दुष्मनसँग कुनै प्रतिरोध नगरेको देखेपछी
फेरि भन्नुभो आमाले
बारम्बार भनिरहनुभयो त्यसपछी-
कान्छा-
मैले भोकसँग लाप्पा खेलेरै यत्रो बनाएँ तँलाई
हृदय भत्किएर बाँकि थिएन कुनै भग्नावशेष
र पनि
नयनका आलीहरु थाम्ने कोसिस गर्दै भनेँ-
आमा-
तपाईंको दुस्मनसँग लड्नको लागि
अब म पनि सामेल हुनेछु बुवासँगै एउटै मोर्चामा
जो बर्षौदेखि भोकको भिषण प्रहारहरु
एक्लै एक्लै सामना गरिरहेको छ
जीवनको पहिलोपटक
बादल फाटेको आमाको उज्यालो मुहारमा
आशाको बिहानी नवकिरण छर्ने प्रणसँगै
सम्हालेँ आप्पाको पुरानो हतियार
“ढाकर र टेकुवा”
निस्किएँ भोकसँगको बिश्वयुद्धमा
भोक-
भोक यस ब्रह्माण्डका एकाध छोडेर
बाँकी तमामको दुस्मन हो
आधुनिक मानव जगतमा कुनै भुखण्ड बाँकी छैन
जहाँ भोकको छर्राहरुले नछेँडेको होस
यसरी संसारको हरेक कुनामा
आफ्नो साम्राज्य जमाएको भोकको सामर्थ्यसँग
टिकिरहन सकेन मेरो पुरानो हतियार
त्यसपछी निस्किएँ छिमेकिको समर्थन जुटाउन
यात्राको एसल्ट लाइनमा थियो
बिश्वब्यापी भोक माफियाहरुको गण
भोको म्यानपावरहरु
अर्को लाइनमा थियो,
बिमानस्थलको भोका कारिन्दाहरु
त्यसपछी भेटिए बहुराष्टृय भोक उद्योगका
महाभोका मालिकहरु
क्रमश भेट्टिँदै गए
हरेक गौँडामा पासो थाप्न तैनाथ
भोको रेमिट्यान्स कम्पनिहरु
यसरी,सामुन्ने आएका
प्रत्येक भोकको हमला सामना गर्दा गर्दै
परेँ निशानामा,
मौका कुरिरहेको भोको मेशिनको
संयोगबश,
हिजो भोकसँगको युद्धकै बिच
दुताबासको भोको मागहरुलाई
सम्बोधन गर्न भ्याएको रहेछु
र त
युद्धमा हारेका प्राणबिहिन जीवन
देश फर्किने काकताली परेको छ
यतिबेला-
मसँग स्वयं म आफै पनि छैन
छ त केवल एउटा भौतिक शरीर मात्रै छ
जसबाट चेतना ( प्राण) अलग भएको त्यतिबेलै हो
जतिबेला भोक सबैको दुष्मन हो भन्ने चेतनाले
लडिरहेको थियो भोकसँग युद्ध
मैले भुलिसकेछु
हिजो गएको आकाशको बाटोहरु
बिमानस्थलको भोको कारिन्दाहरुको भोक मेटाउन
छैनन केही कोशेली मेरो लगेजमा
उनिहरुलाइ थाहा छ
रातो बाकशमा कोशेली आउँदैन भनेर
त्यसैले त भोको अनुहार बोकेर
कोहि तयार छैनन मेरो अध्यागमनको काम गरिदिन
जब,
भोको कारिन्दाहरुको भोक नमेटाइकन बाहिर निस्किएँ
देखेँ,
हिजो म उभिएकै रेखाहरुमा
गलामा खादा र हातमा हरियो पासपोर्ट लिएर उभिएका
युवाहरुको लामो पंक्ती
जसलाइ भोकसँगको बिश्वयुद्धमा होमिनको निम्ति
सरकार बोर्डर पास बाँडिरहेको छ ।
जतिबेला
यो भौतिक शरिरको अन्तिम गन्तव्य तय हुँदै थियो
हर समय, आउने र जानेहरुलाइ
स्वागत र बिदाइ गर्दै मुस्कुराइरहने
गेटमाथिको बुद्धका दुई आँखाहरु
यतिबेला निदाइरहेको थियो
ठिक त्यसैको अलि पर…..
एक मुठी पराल निलिसकेर
भोकको रुन्चे धुवाँ पुतपुताउँदै थियो
एक हुल भोका चिताहरु
अब हुनेछ मेरो भौतिक जीवनकै निर्णायक युद्ध
भोकको बिरुद्ध
भोकसँग अन्तिम युद्ध लड्ने प्रणसँगै
चढाएको छु आफैलाइ भोको चितामाथी
आजसम्मको युद्धमा
जित हारको अनुभबसँगै संगालेर राखेको छु
केही थान असन्तुष्टीको खजनाहरु
म बिष्पोट हुन चाहन्छु
यी भोकको साम्राज्य भत्किने गरि
कोहि आओ र म मा आगो झोसिदेउ ।