फरक
आकाश एउटै छ
घाम र जुन पनि ।
फरक त ताप
र शितलतमा पो छ ।
समय पनि उस्तै छ
सेकेन्ड, मिनेट, घन्टा, दिन, महिना र बर्ष
फरक त्यति मात्रै हो
दिन महिना जस्तो
महिना बर्ष जस्तो
बर्ष एक जुनी ।
ढुकुर उस्तै गरि गीत गाउँदैछ
गौथली भिरको सल्लाघारीमा झै
फरक यति छ
यता विकासको रुप विजुलीको तारमा बसेर
गाउँदैछ ।
यता पनि साथीभाइ आफन्त छन
फरक त
ती सबै ‘आर्लराम जिन्दगी’ बाँचिरहेका छन्
फुर्सत छैन
एक्कै छिन सास फेर्न पनि ।
हो
यताको पनि आकाश एउटै हो
घाम र जुन पनि ।
फरक त ताप
र शितलतमा पो छ ।