कोरियामा 'कर्मा ब्यान्ड'ले धुम मच्चाउने
धन गुरुङ
सोल-कोरियनहरुको दोस्रो ठुलो चाड छुसकमा कर्मा ब्यान्डले कोरियामा धुम मचाउने भएको छ । तमु धीँ कोरियाको आयोजनामा आउँदो सेप्टेम्बर २७ तारिकको दिन हुन लागेको ‘रोधीँ साँगीतिक सौगात भाग ३’ मा नेपालको चर्चित ब्यान्ड ‘कर्मा’ कोरिया आउन लागेका हो ।
तमु हाउस व्यवस्थापन तथा दैवी प्रकोप सहयोगार्थ हुन लागेको उक्त कार्यक्रम पुर्ण रुपमा सामाजिक कार्यमा समर्पित रहेको तमु धीँ अध्यक्ष सुरज गुरुङले जानकारी दिए । रोजगारको शिलशिलामा यहाँ रहेका नेपालीहरुले काम छोड्दा र विभिन्न समस्यामा रहेकाहरुलाई बस्न सजिलो होस् भन्दै सेल्टर स्थापना गर्न लागेको गुरुङले बताए । नेपालमा विभिन्न समयमा आइरह्ने दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्नु कार्यक्रमको अर्को उदेश्य रहेको छ ।
कर्मा ब्यान्ड लाइभ कन्सर्ट इन कोरिया नाम दिएको कार्यक्रममा कर्मा ब्यान्डसहित लोकदोहोरी क्षेत्रका अहिलेका व्यस्त गायिका कृष्णा गुरुङ र चर्चित भर्सटाइल गायिका श्रेयसी चेम्जोङले कोरियामा रहेका नेपालीहरुलाई मनोरञ्जन दिने छन । कार्यक्रम सेप्टेम्बर २७ मा कोरियाको राजधानी सोल नजिकैको शहर दोङ्देमुनस्थित छाङसिन स्कुल कन्सर्ट हलमा हुनेछ ।