६ महिनामा ३ हजार ६ सय नेपाली युवा कोरिया आए
फोनिज कोरिया संवाददाता
सोल/काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) बाट गत जनवरीदेखि हालसम्म ३ हजार ६ सय ८४ जना नेपाली कामदार कोरिया प्रवेश गरेका छन् । ६ महिनाको अवधिमा धेरै कोरिया प्रवेश गर्ने प्रवासी कामदार मध्ये यो दोश्रो ठुलो संख्या हो | पहिलोमा कम्बोडिन र तेश्रोमा इण्डोनेसियन कामदार यहाँ आएका छन् |
इपिएस प्रणालीमार्फत ३० हजारभन्दा धेरै नेपाली कामदार कोरिया पुगिसकेका छन् । नेपाली कामदार इमान्दार, परिश्रमी भएको र सरकारले कोरियामा गैरकानूनी कामदार घटाउन गरेको प्रयासले नेपाली कामदारको कोटा बढेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलालको भनाइ छ । गएको वैशाख १२ गते गएको विनाशकारी भुँइचालोपछि भने १ हजार ५ सय ६७ जना कोरिया गएका छन् ।
ईपीएस पाठ्यक्रम परिवर्तन हुने
त्यसैगरि इपिएस कोरियन भाषा परीक्षाको पाठ्यक्रम परिमार्जन हुने भएको छ । पाठ्यक्रम परिवर्तन भएपनि प्रश्नपत्रको मोडल भने पुरानै हुनेछ । कार्यस्थलमा चाहिने उत्कृष्ट क्षमता भएका आवेदकहरुलाई छनौट गर्न पाठ्यसामग्री परिमार्जन गरिएको एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ ।
आउँदो असोज २ र ३ गते हुने छैंटौं कोरियन भाषा परीक्षामा सामेल हुनेहरुलाई भने इपिएसस्तरीय पाठ्यसामग्री (हान्गुक अ फ्योजुन ग्योजे) र परिमार्जन गरिएको नयाँ पाठ्यपुस्तक दुवैबाट प्रश्न सोधिने सेन्टरका निर्देशक ली दो सिर्कले पत्रकार सम्मेलनमा जानकारी दिए |
सम्मेलनमा बोल्दै सिर्क अर्को वर्षदेखि भने परिमार्जन भएको पाठ्यक्रमबाट मात्रै प्रश्न सोधिने जानकारी दिए |
परिमार्जन भएको पाठ्यसामग्री एचआरडी कोरियाको वेवसाइट www.hrdkorea.or.kr, इपिएस टपिकको वेवसाइट epstopik.hrdkorea.or.kr र इपिएसको वेवसाइट eps.go.kr बाट डाउनलोड गर्न सकिनेछ ।
नेपालमा यस अघि पाँचौं पटक परीक्षा संचालन भइ सकेको छ भने छैंटौं कोरियन भाषा परीक्षा आउँदो असोज २ र ३ गते काठमाण्डौं र पोखरामा हुँदैछ । परीक्षाका लागि ५१ हजार ४ सय ९९ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।