एउटै रूखबाट करोडसम्म आम्दानी
टीकाप्रसाद भट्ट
रामेछाप – छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका ससना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने फल बोधिचित्तको किनबेच रामेछापमा हरेक वर्ष बढ्दो छ ।
बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामाजस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् । ‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधा बोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए । दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । खेर जाने गयो बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।
चार वर्ष भयो बोधिचित्तको भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए । ४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुगनपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।
गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए । तामाङ बोधिचित्तबाट पैसा लिनेमा जिल्लामा अगुवा किसान हुन् । उनले २ वर्षअघि २३ लाख, ३ वर्षअघि १२ लाख र तीभन्दा अघिल्ला वर्षमा समेत लाखौं रुपैयाँ आर्जन गरेका थिए । यो वर्ष तामाङले लगाएको एउटै रुखमा फलेका बोधिचित्तका दानाको १ करोड मोलिएको छ । रुखमै आउने व्यवसायीलाई बिक्री गर्दा थोरै दाम आउने भएकाले उनले आफैं टिपेर बिक्रीका लागि काठमाडौंतिर लगेका छन् । उनले भनेको मोलमा बिक्री भएन भने पनि दानाबाट यो वर्ष कम्तीमा पनि ६० देखि ७५ लाख कमाउने उनको लक्ष्य छ ।
मझुवाकै किसान हिरा तामाङले मंगलबार दाना टिपे । उनले गत वर्ष २ लाखको दाना बिक्री गरे । तर यो वर्ष धनबहादुरकै हाराहारीमा पैसा लिनेमा उनि पर्छन् । उनको बारीमा झन्डै २० वटा रुखमा झपक्क दाना लागेका छन् । साना रुख भएकाले थोरैथोरै गर्दा पनि तयारी दाना १२ पाथी हुने अनुमान उनले गरेका छन् । आउने वर्षदेखि दाना दिनेखालका सयौं बिरुवा उनको बारीमा हुर्किंदै छन् । आगामी वर्षदेखि कम्तीमा १ करोड रुपैयाँ लिनेमा उनी पर्छन् । हिराको बगैंचामा फलेका बोधिचित्तका बिरुवा कुनै त यस्ता छन् जुनमा ६ मुखेसम्मका दाना निस्किएका छन् । ६ मुखे एउटै दानाको एक लाखसम्म मोलमोलाइ हुने गर्छ ।
मझुवा गाविसमा धेरैले बोधिचित्त लगाएका छन् । तर फलेका रुख भने थोरै छन् । आउँदो वर्षदेखि फल दिने खालका बिरुवा धेरै किसानकामा हुर्किंदै छन् । उक्त गाविसका हरेक घरमा बोधिचित्तका रुख लगाइएका छन् । कसैले पुरै जग्गामा लगाएका छन् ।
केही वर्षदेखि बोधिचित्तका बिरुवा हुर्काएर बिक्री गर्दै आएका मझुवाकै प्रकाश प्रधानका अनुसार मनग्यै पैसा आउन थालेपछि बिरुवाको माग ज्यादै बढेको छ । हरेक वर्ष उनले ७ देखि १० हजारसम्म बिरुवा बिक्री गर्छन् । प्रतिबिरुवाको ३ सय रुपैयाँसम्म पर्ने बोधिचित्तको बिरुवा मागबमोजिम पुर्याउन हम्मेहम्मे परेको प्रधानले बताए ।
बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ । कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । फागुनमा फूल खेलेर असारको पहिलो सातामा टिप्न हुने बोधिचित्त वर्षमा दुईपटक फल्छ । यो पहिलो लट हो । दोस्रो लट साउनमा फूल खेल्ने र कात्तिकमा टिप्ने गरिन्छ । यो लटमा भने पहिलो लटमा झैं धेरै दाना लाग्दैन ।