ढलेका सपनाहरू (कविता)
अमृत राना
म,
सपना देख्दै थिएँ
तेन्जिङ बन्दै थिएँ
सगरमाथा चढ्दै थिएँ
अचानक
हिमपहिरो खसेझैँ भयो
म झस्किएर बिउँझिएँ
आफैलाई हेरेँ
फगत एकसरो ओछ्यानमा
पुरानो सिरानी अनि सिरकमा
थर्थर काँप्दै
गुट्मुटिएको देखें !
म,
सपना देख्दै थिएँ
निर्मल अनि स्वच्छ नदी भई
हजारौँ माइल यात्रा तय गर्दै थिएँ
अचानक
चट्याङ परे झै भयो
आकाश खसे झैँ भयो
म झस्किएर बिउँझिएँ
आफैलाई हेरेँ
पसिनाले भिजेको थिएँ
तीर्खा लाग्यो
पानी खोजें
नदी बगर भइसकेको थियो
पसिना पुछेँ
मुख भिजाएँ
तिर्खा मेटाएँ !
म
सपना देख्दै थिएँ
वसन्तको पालुवा झैँ पलाउँदै थिएँ
शितल छहारी बन्दै थिएँ
अचानक
हुरी चले झैँ भयो
पात खसे झैँ भयो
म झस्किएर बिउँझिएँ
आफैलाई हेरेँ
चैत मासको रुख झै भएको देखें
रित्तो हात अनि खाली खुट्टा भेटें !
म,
सपना देख्दै थिएँ
सुन्दर महल बनाउँदै थिएँ
सयौँ थरी फुलहरू सजाउँदै थिएँ
अचानक
खटिया हल्लिएझैँ भयो
भूकम्प गएझैँ भयो
म झस्किएर बिउँझिएँ
आफैलाई हेरें
घर ढलिसकेको थियो
फुलहरू नष्ट भइसकेको थियो
मेरो शिर
त्रिपाल मुनि निहुरीरहेको देखें
दरिद्रता भुइँ भरी छर्पष्टिएको पाएँ
आफैलाई कहीँ कतै आश्रित भएको भेटें !
हो त्यसैले,
म
सपनाहरू देख्न छोडेँ
बाटो फिर्ता मोडेँ
जो हुँ ! त्यही भएँ
जहाँ छु ! त्यहीँ रहें
मरे
सबै इच्छा चाहनाहरू
धरहरा भई
ढले
सबै सपनाहरू !
पाल्पा
हाल -दक्षिण कोरिया