वाह !क्या गजब छ जिन्दगी
![](https://www.fonijkorea.net/wp-content/uploads/2016/07/aish-600x450.jpg)
सोल-उचालेर हेर्छु, थेचारेर हेर्छु म आफनैं सपनाका पानाहरुलाई हरेक दिन ।के गर्नु जति सपना कुंदे पनि प्रत्येक दिन एउटैं रुटिनमा एउटैं बाटोमा हिडनुपर्छ ।कहिलेकाही सोच्ने फुर्सद मिल्यो भने हजार सपनाहरुलाई उठाएर एउटा पहाड बनाउने गर्छु ।
यसरी सोच्छु म कहिलेकांही कोरियामा काम गरेको पैंसाले थोरैं भएपनि परिवारका स साना खुशीलाई टाल्न सकिदोरहेछ ।साथीभाइले मागेको बेला मुख टाल्न सकिदोरहेछ ।मन लागेको बेला खुलेर जम्न पनि पाइन्छ ।कहिलेकाही आफुलाई पनि खुशी लाग्छ ,दुख गरेर गरेर कमाएको तलब कम सेकम समयमा विना अवरोध त पाइन्छ ।
दुई चार जोर आफनो मन पर्दो कपडा फेर्न नि पाइने अनि चिटिक्क परेर हप्तामा एकचोटी फुर्सद पाको बेला राम्रो फोटो खिचेर मुहार पुस्तिकामा हालेपछि डांडापाखामा घास दाउरा गर्दै तल्लो घर माथिल्लो घर धाउदैं गरेका साथीभाइ यसो हेरेर भन्छन्,वाह मोज छ यसको ।होइन कहिलेकाही आफु पनि भ्रममा परिदोरहेछ के सांच्चैं गजब छ कि क्या हो जिन्दगी भनेर ।
तर संसारले देख्ने बाहिरी कथा मात्र रहेछ, लुकेको पिडा देख्ने आफु बाहेक अरु कोही हुन्न ।सुकिलो मुहारमा सुख देख्ने मान्छे हौं हामी ।हामी कहिलेपनि फाटेको कपडा भित्र खुशी भेट्न खोज्दैनौं ,सानो खुशीमा खुलेर रमाएका ती मानिसलाई चिन्न सक्दैंनौं ।
कहिलेकाही आफुलाई फर्केर हेर्छु ,लाग्छ संसारको सब भन्दा गहिरो खोंच अरुण उपत्यकामा बसेर सगरमाथा भन्दा अग्लो सपना देख्ने मान्छे म नैं हुं ।अनि बसन्तमा फुलेका फुलहरुजस्तो रंगीबिरंगी रहरका थुंगाहरु आंखाको डिलमा सजाईएर हाना नदीको किनारमा छालहरुसंग घोत्लीरहने मान्छे पनि म नैं हुं ।
यो जिन्दगीमा एउटैं गुफामा बसेर खैं कसरी नयां नयां सपनाहरु उन्न सकुं ।यदि मेरो माटोमा यति नैं हिडेको भए म मेरो देशको पुर्व पश्चिम राजमार्ग छिचोल्थे होला । यति धेरैं म आफनैं प्राणभुमिमा मेहनत गर्न सक्थे भने मेरो बाबाले जोडिदिएको त्यो डांडा पाखामा कयौं सुनाखरी र गुंराशहरु फुलाउन सक्थे होला ।
दुखेका मनहरु बोकेर, सुकेका शरीरमा फुस्रिएको सपनाहरु टकटक्याउदैं गगनचुम्बी भवनहरु मुनि म एउटा सपना बुन्छु ।हाहा हांसो लाग्छ, आफनैं सपनादेखि ,आफनैं रहरहरुदेखि, तैंपनि बांच्नुपर्छ यहां एउटा नाटकको पात्र भएर ।
कसैंले खिल्ली उडाउछन्,कसैंले धज्जी ।खुट्टा तान्नेको लर्को भेटिन्छ ।पाइलैंपिच्छे,गांसैंपिच्छे ढुंगा भेटिन्छ ।तरपनि हांस्नुपर्छ ।बहाना बनाएर,नाक खुम्च्याएर बाध्यताको आंखीझयाल खोलेर एक्लैं हिडीरहनुपर्छ मरुभुमिमा सपनाको बीज रोपेर।
आफनो बारेमा केही पनि ख्याल नराख्नेहरु अरुको चियो चर्चा मात्र बढी गर्दरहेछन् ।आफुलाई भीमकाय हात्ती ठानेर अरुलाई लात्ता हान्दैं हिडने समाजका भिडमा उभिएका कयौं मेरा सहपाठीहरु कोही मसंगैं बेल्चा उचालीरहेका छन्, त कोही सपनाको टाड छापेर मसाल जुलुश बोकेर नाराबाजी गरीरहेका छन् ।
हाम्रा नेताले देश बिगारे भन्दैं चियापसलमा शिक्षक गफ चुटेर बसीरहेको छ ।नेता कार्यकर्ता कसलाई कसरी लडाउन भनेर ईन्द्र जाल बुनीरहेका छ ।
पढेका शिक्षितहरु युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले यो धरती छोडु भनेर हतारिहेका छन् । हो म त्यही देशको नागरिक हो जहां पहाडमा मेरा बा हलो जोतीरहेका छन् भने आमा खेत बारीमा घासदाउरा गदैं बुढेसकालको जोहो गरीरहेकी छिन् ।हो मेरो देश त्यही हो जहां हाम्रा सन्तानहरु पाठशाला नगएर, पढन नपाएर थांगनोको भकुण्डोमा रमाइरहेका छन् ।
हामीले सपना नदेखेपछि कयौं पुस्ताहरु हामीले खनेको खाडलमा पुरिन्छन् ।हामीले नखनेपछि बाटो कहां बन्छ अनि हाम्रो गगनचुम्बी सपनाको महलहरु ।अनि कहिले भन्नु हामी विदेशिएकाहरुले नेपालमा रहेका साथी भाइले फेसबुकमा पोस्ट गरेको फोटो हेरेर वा क्या गजब छ हैं तेरो जिन्दगी भनेर ।