कवितामा चरम आनन्द पाउँछु – कवि जीवन खत्री


नेपाली समकालीन काव्यिक चेतमा शशक्त उपस्थिति जनाई रहेका युवा कवि हुन् जीवन खत्री ।  देशप्रेमसँगै जीवन दर्शन र समसामयिक विषयवस्तुलाई कवितामार्फत् वकालत गर्दै आएका कवि खत्रीहालै मात्र भएको विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट भएका छन् । आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा केही अघि मात्र सम्पन्न अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “विश्वब्यापी कविता प्रतियोगिता २०७३” मा “बालुवाको मरूभूमि” शिर्षक कविता उत्कृष्ट भएर पुरस्कृत भएका  खत्री यतिखेर चर्चाको शिखरमा पुगेका छन् ।

ऊनले यस अघि राष्ट्रव्यापी खुला गजल प्रतियोगिता राप्ती समाज, काठमाण्डौ २०६८, राष्ट्रव्यापी कविता प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालय २०६९, अन्तराष्ट्रिय कविता महोत्सव नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका, २०१२ जस्ता प्रतियोगितामा पनि भाग लिएर पुरस्कार जित्न सफल भएका भैंसकेका छन्।

नया कविता संग्रहको तयारीमा रहेका ऊनको “मेरो शिखर टाढा छ” २०६५ र “जीवन कसका लागि” २०६९ गजल संग्रह प्काशित छन्। दक्षिण कोरियामा ईपिएस मार्फत रोजगारको शिलसिलामा कोरिया आएका कवि तथा सञ्चारकर्मी  जीवन खत्रीसँग फोनिजकोरियाका लागि बाला राईले गरेको कुराकानी संक्षेपमा।

 

 विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट हुनुभएको छ कस्तो लागिरहेको छ ?

– प्रतियोगितामा अलि बढि जित्ने र अलि कम जित्ने बाहेक पनि अरु थुप्रै उद्देश्यहरू पनि हुन्छन्। त्यसकारण पनि पुरस्कृत भए पछि खुसी त लाग्यो नै। यसका साथै कविताप्रति जिम्मेवारी थपिएको महशुस गरेको छु।

 

के कारणले कविता उत्कृष्ट भए जस्तो लाग्छ ?

– म आफैँ घरदेश छाडेर परदेशमा छु। परदेशको पीडा राम्रोसँग बुझ्न पाएको छु। हाम्रो लागि परदेश रहर भन्दा पनि बाध्यता हो जस्तो लाग्छ मलाई। त्यही बाध्यतामा टाँस्सीएर आउने पीडालाई आँशुको मसीले लेखेथेँ। सायद त्यो आँशुको मसी सम्पूर्ण परदेशीहरूको पनि संयुक्त आँशु रहेछ क्यारे। त्यसैले पनि उत्कृष्ट भयो कि? तर निर्णायकहरूलाई सोध्नु पर्छ बाँकि त। हेहेहे।

 

कवितामा के विषयलाई समेटनु भएको छ?

– अघिल्लै प्रश्नमा पनि भनेँ केही त। यो कवितामा मैले ती परदेशीहरूको पीडा लेखेको छु जस्तो लाग्छ। जो घरमा बा आमा परिवारसँग हाँसी हाँसी सुख दु:ख खाएर बस्न चाहन्छन्। तर ऊनीहरूलाई खान र लाउनकै सामान्य समस्याले देशमै बस्न नसक्ने अवस्था आउँछ। र आफ्नै घरबारी बन्धक राखेर बिदेशी भूमिमा पुग्छन्। उनीहरूको दु:ख, बिशेषत खाडीको तातो बालुवाको मरूभूमिमा पसिना बगाई रहेका मजदुरहरूको लगभग साझा पीडा लेख्ने कोशिस गरेको थिएँ।

 

कोरियाको लामो ड्युटी र कडा कामको बावजूद पनि साहित्य सिर्जनामा लागिरहनुभएको छ समय कसरी निकाल्नुहुन्छ?

– ब्यस्त त भईन्छ नै। यसैका लागि त आएको। र पनि मन सृजनात्मक काम र साहित्यमा रमाउन खोज्ने भएकाले समयको अभावलाई सकभर मिलाउने कोशिस गर्छु। मिल्छ पनि।  उदाहरण दिउँ यहाँलाई, चुरोट खाने मान्छेलाई समयको अभाव हुन्छ र? जसरी पनि खान्छ। यो मात्र उदाहरण हो। त्यस्तै हो मेरो सृजनात्मक कुरामा पनि। तर ईच्छाशक्ति ठूलो हो जस्तो लाग्छ।

 

साहित्य सिर्जना के का लागि गर्नुहुन्छ ?

– म यस्तै गर्छु साहित्य सृजना गरेर भन्ने कहिल्यै लागेन्। शुरुवाततिर कवि बन्न पाउने लोभमा जे मनमा आउँछ लेखेँ। तर अहिले सृजनामा निक्कै ठूलो‍ जिम्मेवारी हुने रहेछ भन्ने लाग्छ। अहिले कुनै कुराले छोयो भने कविताको गाउँमा हराउँछु र कवितासँग सम्वाद गर्न थाल्छु। यो एक प्रकारको ध्यान पनि हो। साधना पनि हो। चरम आनन्द पाउने स्थान पनि हो कविता गाउँ। म आफ्नो मनलाई आनन्द दिन लेख्छु। र दुखाउन पनि लेख्छु। तर फेरि म बाहेक बाहिर त साहित्यको जिम्मेवारी पनि छ र पनि यसकै लागि लेख्छु भन्ने जान्दिन्। बस लेख्छु। पढ्ने पाठकले, सुन्ने कवि हृदयहरूले मन पराई दिनुहुन्छ। आनन्द लाग्छ।

 

नेपालमा हुँदा तपाइले गर्ने साहित्य सिर्जना र कोरियामा गर्दाको फरकपन, विषय छनोट के छ ?

– समयसँगै केही फरक त भएको छु/छ। नेपाल रहँदा नेपालको भूगोल देख्थेँ, त्यही लेख्थेँ। यहाँ आएर प्रवास भोग्न र देख्न पनि पाएको छु। यहाँको संस्कार केही बुझ्न पाएको छु। फरक देशका फरक मान्छेहरूको ब्यावहार समेत अनुभव गर्न पाएको छु। यही कुरालाई कवितामा थप लेख्न सकेको छु जस्तो लाग्छ। सायद म भित्र केही म्यचुरिटी भन्ने कुरा पनि थपियो होला। त्यसले पनि केही प्रभाव पार्यो होला मलाई।

त्यसो त यहाँ आएर पनि म सकभर देश लेख्ने कोशिस गर्छु। देश सुन्दर भएको कल्पना गर्छु। हरेक दिनजसो इन्टरनेट र समाजिक सञ्जालमा हुन्छु। कतै न कतैबाट देशको खबर पाउँछु। ती खबरहरूले पनि मेरो सृजनात्मक क्षमतामा प्रभाव पारीरहेको हुन्छ। विषय त आवश्यकता अनुसार साटफेर भईरहन्छ।

 

 प्रवासमा नेपाली साहित्यको अवस्था कस्तो पाउनुभएको छ ?

– प्रवासी नेपालीहरूको साहित्य मोह देख्दा चकित भएको छु। नेपालबाट किताब मगाएर बाँढेर पढ्ने, छलफल बिमर्श गर्ने, साहित्यकारहरूलाई बोलाउने, कार्यक्रम गर्ने बिभिन्न साहित्यिक प्रतियोगिता गर्ने लगायतका कुराले प्रवास एकदम उर्वर भईरहेको छ, साहित्य सृजनाका लागि जस्तो लाग्छ मलाई।

त्यसो त मैले अगाडि पनि भनेँ, यहाँ आएपछि नेपालमा भोगेकोजस्तो सुख-दु:ख जे भोगे भएपनि सन्तुष्टी भने मिल्दैन्। त्यही कुरालाई लेख्नेहरूले निरन्तर लेखीरहेछन्।

अझ आनन्द लाग्ने कुरा त के छ भने कति साथीहरू म त प्रवास आएर लेख्न थालेको भन्नुहुन्छ। सुन्दर सृजनाहरू सुनाउनु हुन्छ खुसी लाग्छ। तर हामी यहाँ बसेर लेख्नेहरूले पनि के कुरामा सचेत हुनुपर्छ भने, सतही सृजनामा अल्झिरहेका छौँ कि हामी भनेर आफैँलाई हेर्नु पर्छ भन्ने लाग्छ।

 

 अन्तराष्ट्रिय स्तरमा तुलना गर्न सक्ने साहित्य सृजना भईरहेका छन् भन्न सक्नु हुन्छ त उसो भए?

– हैन म यस्तै हो भन्न त ठ्याक्कै सक्दिन्। तर अन्तराष्ट्रिय स्तरका साहित्य पनि केही पढेको छु। अनुभव गरेको छु ती साहित्यको ताकत। त्यसकारण के दावा गर्न सक्छु भने प्रवासी नेपालीहरूले लेखेको साहित्य कमजोर छैन्। लेख्दै जाने हो। मापन गर्ने काम समीक्षकहरूको हो। बौद्धिक पाठकहरूको हो। ऊनीहरूले गरीरहेकै होलान्। हामीले लेख्ने हो। लेख्नेहरूलाई लेख्न आग्रह गर्ने हो।

यो सब भन्नुका पछाडि मैले भन्न खोजेको के भने आज हिड्नेहरूलेनै हो भोलि शिखर चुम्ने। त्यसकारण सबैसँग आग्रह गर्छु, सकिन्छ हिड्नेहरूको बाटो फराकिलो बनाउन सहयोग गरौँ सकिन्न ऊनीहरूको बाटो नभत्काऔँ। सकिन्छ लौरो उपहार दिऊँ सकिन्न ऊनीहरूको लौरो नखोसौँ।

कवि जीवन खत्रीको केही अघि मात्र उत्कृष्ट भएको कविता

बालुवाको मरूभूमि

बाध्यताको आँधी घरभित्र छिरेर

नबगाएको भए बाको अनुहारबाट घाम
नचोरेको भए आमाको आँखामा चम्कने जून
फूलजस्तो मुस्कान
प्रियाको ओठबाट नखोसेको भए
नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए
पुर्खाले उपहार छाडीगएको जिउँदो घर र
ताराहरूले गुच्चा खेल्ने आकाशजस्तो आँगनसँग
कसैगरी साट्ने थिईँन राहदानी
र आउने थिईँन्, सपना पुर्ने चिहानजस्तो यो मरूभूमिमा।

यहाँ त आगो बोकेर बसेका बालुवाहरू छन्।
तीनै बालुवाहरू माथि नाङ्गो पैताला हिड्नु पर्छ र
डुलाउनु पर्छ भेडाका बथानहरू।
चोपेर आफ्नै आँशुको अचार
टोक्नु पर्छ पीडाको सुख्खा खबुज।
निचोरेर आफ्नै शरीरको रगत पसिना
भर्नुपर्छ हरेक दिन दुःखको अम्खोरा
र मेटाउनु पर्छ जिन्दगीको प्यास।

मनभरि प्रश्नहरूको तुफान चल्छ
गाउँको खबर बोकेर किन आउँदैन यहाँ, हुलाकी हावा?
किन उज्यालो लिएर बिउँझदैन् बिहान
बिनायोको धुन बोकेर झ्याँकिरीहरू
किन बोलाउन्नन् प्यारले? गोधुली सुवास।
किन रोबटको मुटु बोकेर बाँच्छ? मेरो मालिक र
बिनाकारण मलाई लगाउँछ कोर्रा?

भगवान्, के सोचेर हिँडेथेँ घरबाट
म त भेडाहरूको बथानमा भैसकेछु, अर्को भेडा।

म जान्दिन्
मैले गन्न नसकेका अनेकौँ वर्षपछि
मालिकले किन हेर्यो मलाई, आज अनौठोसँग?
किन ल्यायो? बजारबाट काठको रातो बाकस

यत्ति जान्दछु,
यो बाकसमा भरीनुअघि
म शकुसल पुग्नुछ देश।
आफ्नै माटोको क्यानभासमा
पोत्नुछ पसिनाको रङ
र बनाउनुछ,
बा-आमाको अनुहारमा हाँसोको जिवन्त चित्र।

यो भूगोलकै अग्लो माटोको आशिर्वाद थापेर
म अहिल्यै हिँडे।
***

[email protected]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...