मनले मन जोड्ने समय हो यो
निश्चल काउचा
अघिल्लो शनिवारको महाभूकम्पपछि नेपालको दृश्य कारुणिक र हृदयविदारक छ | भुकम्पले क्षतबिक्षत बनाएका केही जिल्लाका दुर्गम बस्तीहरुमा अझै पनि उद्दार टोली र राहत सामाग्री नपुगेको समाचार र गुनासाहरु बाहिर आईरहेका छन् | पक्कै पनि यी दु:खद कुरा हुन् | नेपालका दुर्गम बस्तीहरुमा राज्यको पहुच बर्षौदेखि पुगेको छैन | त्यो सबैलाई थाह भएकै बिषय भैगो | अहिले यस्तो बिपत पर्दा तत्काल ति दुर्गम बस्तीहरुमा पुग्ने भौतिक संरचना निर्माण राज्यले गरेको भएपो समयमा पुगोस | सरकारको औकातले जति भ्याएको छ या उसको क्षमता जति थियो त्यति नै गरेको छ | सकेर पनि नगरेको भए ईतिहासले यो सरकारको लेखाजोखा पक्कै गर्ने छ | सरकारले केही गरेन भनेर सामाजिक संजालहरुमा आक्रोस पोख्न भन्दा आफुले सकेको ठाँउवाट जेजस्तो सहयोग गर्न सक्छौ त्यहि गरे यो विपतको घडीमा लाख हुन्छ | नेपाली सेना ,पुलिसले आफ्नो ज्यान हत्केलामा राखेरमा अहोरात्र खटिएकै छन् | उसो त हरेक सचेत नागरिकहरु पनि स्वतस्फुर्त रुपमा खटिएकै छन् |
राज्यको पहुच देशका कुना, कन्दरासम्म पुगेको छैन | सबैलाई थाह हुदा हुदै पनि गाली गर्नु यो स्थितिमा त्यति तुक छैन | किनकी चुनावमा भोट दिएर ति नेतालाई जिताउने हामी जनताहरु नै हौ | प्राकृतिक बिपत्ती ढोल बजाएर आउदैन | तर बिपत ब्यबस्थापन गर्न सरकारले कुनै पनि संयन्त्र निमार्ण गर्न नसक्नु लाचारीपन चाहि पक्कै पनि हो |
देश पुरै शोकमग्न छ | नेपालीजनको मन छियाछिया भएर फाटेको छ | अब चुनौती भनेको शोकलाई शक्तिमा कसरी बदल्ने भन्ने हो | संसारमा यस्ता थुप्रै उदाहरणहरु छन् | ठुलो बिपत्ती पछि देशले कायापलट गरेका | सन् १९४५ मा जापानको नाकासाकी र हिरोसिमा अमेरिकाले बम खसालेर ध्वस्त बनाई दिए पछि जापानले बिकास बाटो समाएर आज कहा पुगेको छ त्यो हामी सबैलाई थाह नै छ | २००४ मा इण्डोनेशियामा गएको ९.१ रेक्टर स्केलको भुकम्पमा परेर २ लाख ३० हजारले ज्यान गुमाएका थिए | इण्डोनेशियाले त्यो महाविपत्ति पछि सम्हालिएर अघि बदयो | अहिले बिकासको बाटो लम्किरहेको छ | अब हामीले पनि पाठ सिक्दै अगाडी बदने बेला आएको छ |
यो समय भनेको फाटेको मन टाल्ने समय हो | मनले मन जोडने बेला हो | हामीले आफ्नो ठाँउवाट भौतिक , आर्थिक , जिन्सी जे जस्तो सहयोग गर्न सक्छौ गरौ | हामीले गर्ने नै अहिले हो | अहिले नगरे कहिले गर्ने ? यदि सहयोग गर्न सकिदैन भने एउटा नेपालीको मुटु दुख्दा सारा नेपालीको मुटु दुख्छ भन्ने भावना राखौ |
केही नेपाल आमाको कपुतहरुले धरहराको ईटा चोर्दै गरेको दृश्यहरु देखिएको छ | केही नमकहरामहरुले राहत स्वरुप आएका रकममा आँखा गाड्दै पनि होलान | यदि भगवान छन् भने ति कपुतहरुको भलो कहिल्यै नहोस | बिपतको समयमा धरोहरा ईटा चोर्ने होईन | बरु दुई , चार ईटा थपेर राखी दिउ | फेरी नयाँ धरहरा जो बनाउन छ | सबै सकिएको छैन | कालो बादल भित्र पनि चाँदीको घेरा त बाँकी नै छ |