२०१५ लाई फेर्कर हेर्दा


सोल – अंग्रेजी क्यालेन्डर अर्थात इस्वी संवतको वर्ष २०१५ बिहीबारदेखि बिदा हुँदैछ । यो वर्ष विश्वभर विभिन्न घटना, दुर्घटना, प्राकृतिक विपत्ति, विकास तथा विस्तारका काम भए ।

 

नेपालमा वैशाख १२ को भूकम्प, संविधानसभाबाट संविधान निर्माण र नाकाबन्दीले संसारको ध्यान तान्यो भने यसवर्ष संसारका अरु ठाउँमा भएका घटना पनि नेपालको लागि उत्तिकै चासो र सरोकारको विषय बन्यो । सन् २०१५ नेपालमा भएका मुख्य घटनामा संविधान जारी, त्यसको समर्थन, विरोध, आन्दोलन र भारतीय नाकाबन्दी रह्यो ।

 

१) तत्कालिन नेकपा माओवादी र मुख्य तीनदलबिचको सहमति अनुसार २०६२/०६३ को जनआन्दोलनको उपलब्धी स्वरुप भएको २०६४ सालको संविधानसभा निर्वाचनले संविधान दिन सकेन । तर २०७० मंसिरमा भएको दोस्रो संविधानसभा चुनावले पहिलो संविधानसभाको स्वामित्व ग्रहण गरी गएको असोज ३ गते संविधानसभा मार्फत नागरिकका प्रतिनिधिले बनाएको गणतन्त्र नेपालको संघीय संविधान, नेपालको संविधान २०७२ जारी भयो ।

 

 

तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरेसँगै त्यसको स्वागतमा देशका विभिन्न भागमा दीपावली तथा खुसीयाली मनाइयो । तर संविधानमा आफ्नो अधिकार तथा माग नसमेटिएको भन्दै मधेसकेन्द्रीत दलले आन्दोलन चर्काए । मधेसी मोर्चाका कार्यकर्ताले असोज ७ गतेदेखि नेपाल भारत सीमा नाका धर्ना सुरु गरेपछि भारतले असुरक्षाको कारण देखाउँदै अघोषित नाका बन्दी गर्‍यो ।

नाकाबन्दीका कारण इन्धनसहित दैनिक उपभोग्य सामान आयात हुन नसक्दा नेपालमा मानवीय संकटको अवस्था आएको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न दातृ निकाय, देश तथा समुदायको विरोधका कारण गएको केही दिनदेखि भारतले केही नाका खुकुलो बनाएको छ । मुख्य नाका रक्सौल ठप्पै छ । अवस्था अहिले पनि उस्तै छ । मधेसी मोर्चाका नेतालाई प्रमुख दलले सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् ।
२) गएको वैशाख १२ अर्थात अप्रिल २५ का दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले विश्वको ध्यान नेपालमा केन्द्रित गर्‍यो । भूकम्पका कारण ९ हजार भन्दा धेरै मानिसको ज्यान गयो भने २३ हजार भन्दा धेरै घाइते भए ।

 


भूकम्पका कारण अति प्रभावित १४ तथा प्रभावित ३१ जिल्लामा गरी ८० हजार भन्दा धेरै घर भत्किएका छन् । भूकम्पका कारण सबैभन्दा बढी प्रभावित बन्यो सिन्धुपाल्चोक । यस्तै काठमाडौं उपत्यकामा पनि धेरैको ज्यान गयो भने विभिन्न ऐतिहासिक धरोहर भत्किए । पुनर्निर्माण विधेयक २०७२ संसदबाट पारित गरेर सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन गरेको छ । प्राधिकरणले बल्ल काम सुरु गरेकाले चिसो मौसमका न्यानो लुगा नभएका भूकम्प पीडितको बिचल्ली भएको छ ।

 

३) अन्तर्राष्ट्रिय स्तरमा यो वर्षको महत्वपूर्ण घटना बन्यो युरोपमा आप्रवासीको प्रवाह । आप्रवासी समस्या यो वर्ष दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा सघन बनेको शरणार्र्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग युएनएचसीआरले जनाएको छ । वर्ष २०१५ मा समुद्री मार्ग भएर अवैध रुपमा युरोप प्रवेश गर्ने आप्रवासीको संख्या १० लाख नाघ्यो । यसमा सबै भन्दा धेरै द्वन्द्वग्रस्त मुलुक सिरियाका नागरिक छन् । युरोप प्रवेश गर्ने मध्ये ८० प्रतिशत आप्रवासी ग्रिसको बाटो भएर आएको युएनएचसिआरले जनाएको छ । 

युरोप प्रवेश गर्नेमध्ये ८० प्रतिशत आप्रवासी ग्रिसको बाटो भएर आएको युएनएचसिआरले जनाएको छ । अन्तर्राष्ट्रिय संरक्षणको खोजी तथा आफ्नो देशमा रहेको युद्ध, हिंशा तथा उत्पीडनबाट बच्नका लागि उनीहरु समुद्रको खतरनाक बाटो प्रयोग गरेर युरोप प्रवेश गरेको युएनएचसिआरले जनाएको छ । आप्रवासी समस्या समाधान तथा आप्रवासीको सुरक्षित आवासका लागि युरोपका जर्मनी सहितका देशले तदारुकता देखाए ।

 

४) मध्यपूर्वका सिरिया, इराक सहितका देशमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमण तथा युरोपसहितका पश्चिमा देशमा यसको बिस्तार वर्ष २०१५ मा भयो । नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसका चार ठाउँमा आइएसले गरेको आक्रमणमा परि एक सय ३० जनाको ज्यान गयो । त्यसअघि जुलाईमा टर्कीको सुरुसमा भएको आत्मघाती आक्रमणमा ३३ जनाको ज्यान गयो ।

तीन महिनापछि अंकारामा भएको दुई आत्मघाती आक्रमणमा एक सय दुई जनाको ज्यान गयो । आइएसले अक्टुबर ३१ मा इजिप्टको साइनाइमा रुसी विमानमा आक्रमण गर्दा विमानमा रहेका सबै दुई सय २४ जनाको ज्यान गयो । यस्तै आइएससँग सम्बद्ध दम्पतीले अमेरिकाको क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोमा गरेको आक्रमणमा १४ जनाको ज्यान गयो ।

 

५) यो वर्ष पश्चिमासहित विश्वका अरु देश आतंकवाद विरुद्ध एकताबद्ध भए । अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धन सेनाले सिरिया तथा इराकमा आइएस विरुद्ध हवाई आक्रमण गरिरहेको छ । अमेरिकाका नेतृत्वको गठबन्धनमा नहेको बेलयती संसदले गठबन्धनमा सामेल हुने सम्बन्धी प्रस्ताव पारित गर्‍यो।

 

पेरिस आक्रमणपछि फ्रान्स तथा जर्मनीले पनि आइएसविरुद्धको आक्रमण तीब्र पारेका छन् । उनीहरुले गठबन्धन सेनालाई सहयोग गर्न थालेका छन् । रुसले भने सिरियामा आइएसविरुद्ध छुट्टै हवाई आक्रमण गर्दै आएको छ । अमेरिकी सेनाले पछिल्लो एक महिनामा सिरिया तथा इराकमा भएको हवाई अक्रमणको क्रममा आइएसका १० उच्च कमाण्डर मारिएको जनाएको छ ।

६) यही वर्ष साउदी अरबले छिमेकी मुलुक यमनमा सैन्य हस्तक्षेप गर्‍यो । हुथी बिद्रोहीले यमनको राजधानी सना नियन्त्रणमा लिएर राष्ट्रपति अब्दु रब्बु मन्सुर हादीलाई अपदस्त गरेपछि साउदी अरबले अरु खाडी मुलुकको सहयोगमा हुथी विद्रोही विरुद्ध यमनमा हवाई कारवाही सुरु गरेको हो ।

 

यस्तै डिसेम्बरको सुरुमा साउदी अबरको नेतृत्वमा आतंकवाद विरुद्ध लड्न भन्दै ३४ देशको गठबन्धन बनाउने निर्णय पनि सार्वजनिक भयो । त्यसमा अधिकांश इस्लाम मुलुक छन् ।

 

७) साउदी अरबमा यो वर्ष भएको एउटा सकारात्मक परिवर्तनको विश्व समुदायले स्वागत गरे, त्यो थियो स्थानीय चुनावमा महिलाको सहभागिता । कट्टर इस्लामिक मुलुकमा गएको महिना भएको स्थानीय चुनावमा महिलाले मताधिकारको प्रयोग मात्र गरेनन्, उम्मेदवार पनि बने ।

 

सयौंको संख्यामा उठेका महिला उम्मेदवारमध्ये २० जनाले चुनाव जितेर नयाँ अध्यायको सुरुवात गरे ।

 

८) इरानको परमाणु कार्यक्रमका विषयमा भएको सहमति पनि चर्चाको विषय रह्यो । सन् २००२ देखिको समस्या गएको जुलाइमा विश्वका ६ शक्ति राष्ट्रसँग भएको सम्झौतापछि समाधान हुने बाटोमा छ । अमेरिकाले इरान परमाणु सम्झौता पूरा गर्ने बाटोमा रहेको भन्दै त्यसको स्वागत गरेको छ ।

परमाणु सम्झौता पूरा गर्नका लागि ठूलो मात्रामा युरेनियम देशबाट बाहिर पठाएर इरानले स्वागतयोग्य काम गरेको अमेरिकी विदेशमन्त्री जोन केरीले बताउनुभयो ।

 

इरानले पछिल्लो समय मात्रै ११ टन प्रशोधित युरेनियम रुस पठाएको अमेरिकी विदेशमन्त्री केरीले जानकारी दिनुभयो । सम्झौता अनुसार इरानले आफूसँग तीन सय किलो भन्दा धेरै प्रशोधित युरेनियम राख्न पाउने छैन । सम्झौता अनुसार इरानले आफ्नो प्रतिबद्धता पूरा गरे नगरेको निर्णय अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीले गर्नेछ । त्यसपछि अमेरिका तथा अरु शक्ति राष्ट्रले इरानमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध हटाउन सुरुगर्ने छन् ।

 

९) फ्रान्सको राजधानी पेरिसमा भएको संयुक्त राष्ट्रयसंघीय जलवायु सम्मेलन कोप २१ मा कार्बन उत्सर्जन कम गर्ने विषयमा महत्वपूर्ण सम्झौता भयो । दुईहप्ता लामो छलफलपछि विश्वका एक सय ९५ देश कार्वन उत्सर्जन छिटोभन्दा छिटो कम गर्ने तथा विश्वको तापक्रम बृद्धी एक दलमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने सहमति भयो ।

 

सन् २०२० भित्र ग्रीन हाउस ग्यास तथा त्यसको स्रोतबिच सन्तुलन कायम गर्ने, कार्वन उत्सर्जन कम गर्नका लागि विकाशिल देशलाई विकसित देशले आर्थिक  सहयोग बढाउने लगायतका कुरा सम्झौतामा उल्लेख छ ।

 

१०) पश्चिम अफ्रिकी देशमा दुई वर्षअघि देखि महामारीको रुपमा फैलिएको इबोलाको संक्रमण यो वर्ष रोकिने क्रममा गएको छ । स्वास्थ्यकर्मीको अथक प्रयासपछि इबोलका कारण सबै भन्दा बढी प्रभावित भएका गिनी, सिएरा लियोन र लाइबेरिया यो वर्ष इबोला महामारी मुक्त घोषित भए । विश्व स्वास्थ्य संगठनले गएको मंगलबार गिनीलाई इबोला मुक्त घोषित गर्‍यो ।

 

त्यसअघि नोभेम्बरमा सिएरालियोन तथा सेप्टेम्बरमा लाइबेरिया इबोला मुक्त घोषित भएका थिए । इबोलाका कारण अहिलेसम्म ११ हजार तीन सय १५ जनाको ज्यान गएको डब्लुएचओको तथ्यांक छ । त्यसमध्ये सबैभन्दा धेरै लाइबेरियामा चार हजार ८ सय ८, सिएरालियोनमा तीन हजार ९ सय ५५, गिनीमा दुई हजार पाँच सय ३६ तथा नाइजेरियामा ८ जना छन् । इबोलाकै कारण एकसय भन्दा धेरै स्वास्थ्यकर्मीको पनि ज्यान गएको छ । महामारी मुक्त घोषित भएपनि इबोला संक्रमणको खतरा नटरेको भन्दै सचेत रहन डब्लुएचओले विश्वसमुदायसँग आग्र गरेको छ ।

 

११) चीन यो वर्ष प्रदुषण, दक्षिणी सीमानामा पर्ने समुद्रमा कृत्रिम टापु निर्माणका कारण उत्पन्न विवाद तथा क्रिकृम पहाड खसेर गएको पहिरोका कारण चर्चामा रह्यो । डिसेम्बरको सुरुवातमै राजधानी बेइजिङमा प्रदुषणको स्तर बढेपछि सरकारले रेड अलर्ट जारी गर्‍यो ।

प्रदुषणका कारण बाक्लो तुवाँलो लागेकालो डिसेम्बर ८ देखि १० सम्म बेइजिङका विद्यालय बन्द भए । यस्तै आफ्नो दक्षिणी सीमानामा पर्ने समुद्रमा यही वर्ष कृत्रिम टापु बनाएपछि अमेरिकाले त्यसको विरोध गर्‍यो ।

 

अमेरिकाले चीनमाथि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर टापु बनाएको आरोप लगायो । टापु तत्काल भत्काउन अमेरिकाले गरेको आग्रह चीनले अस्वीकार गर्‍यो । यस्तै डिसेम्बरको तेस्रो हप्ता सेनचेन प्रान्तमा निर्माण सामग्रीको कृत्रिम पहाड खसेर पहिरो जाँदा ३० भन्दा धेरै भवन पुरिए भने झण्डै एकसय जना बेपत्ता भए । चीनको आर्थिक वृद्धीदर खस्किएको खबर पनि वर्ष २०१५ मा चर्चामा रह्यो ।

 

१२) विश्व बजारमा यो वर्ष कच्चा तेलको मूल्य ११ वर्ष यताकै सबैभन्दा कम भयो । डिसेम्बर २१ मा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ दशमलव ०५ डलर पुग्यो । जुन सन् २००४ पछिकै सबैभन्दा कम थियो ।

 

 

अहिले तेलको मूल्य केही बढेको भएपनि घट्ने सम्भावना कामय रहेको विश्लेषकले बताएका छन् । विश्वभर तेलको उत्पादन बढी भएका कारण मूल्य घटेको हो । एकवर्ष पहिलेसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर थियो । सन् २०१४ को जुनमा तेलको मूल्य एक सय १५ डलर पुगेको थियो । अमेरिका तथा रुसको कच्चा तेलमा बजारमा लगातार पहुँच रहेकाले तेलको मूल्यमा तत्काल सुधार आउने सम्भावना नरहेको विशेषज्ञले बताएका छन् ।

 

सन् २०१६ मा इरानमाथिको प्रतिबन्ध हटेपछि उसले पनि तेल उत्पादन सुरु गर्ने भएकाले तेलको मूल्य अझै घट्ने सम्भावना छ । कच्चा तेल उत्पादन गर्ने देशको समूह ओपेकका १२ सदस्य राष्ट्रले गएको नोभेम्बरमा कच्चा तेलको उत्पादन प्रतिदिन तीन करोड ब्यारेल भन्दा नगर्ने निर्णय गरेको थियो ।

 

१३) माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई त्यहाँको एक अदालतले १३ वर्षको जेल सजाय दिएको खबर पनि चर्चामा रह्यो । सन् २००८ मा राष्ट्रपतिमा निर्वाचित भएका नसिदलाई सन् २०१२ मा बिद्रोहबाट अपदस्त गरिएको थियो ।

यस्तै वर्तमान राष्ट्रपति अब्दुलाह यामिनको हत्या प्रयास गरेको आरोपमा उपराष्ट्रपति अहमद अधिव पक्राउ परे । उपराष्ट्रपति अधिवमाथि राष्ट्रपति यामिन चढेको डुंगामा बम विस्फोट गराएको आरोप लागेको थियो ।

 

१४) म्यानमारमा भएको आमचुनावमा प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीको पार्टी अधिकांश सिटमा विजयी भयो । यो खबर विश्वका प्रमुख सञ्चारमाध्यममा पहिलो खबर बन्यो ।

२५ वर्षपछि गएको नोभेम्बरमा भएको आम चुनावमा सुचीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले ६ सय ६४ सदस्यीय संसदका अधिकांश सिटमा जित हातपार्‍यो। म्यानमारका पूर्व सैन्य शासक थान श्वेले सूचीलाई समर्थन गर्ने खबरले पनि चर्चा पायो ।

 

१५) वर्षको सुरुमा फ्रान्सको व्यंग्य पत्रिका सार्ली एब्दोमा भएको आतंककारी आक्रमणमा ११ जनाको ज्यान गयो । पत्रिकामा प्रकाशित कार्टुनको विषयलाई लिएर अलकायदाको यमन पत्रिकाको कार्यालयमा जनवरी सातमा आक्रमण गर्‍यो ।

त्यसको दुई दिन पछि फ्रान्सकै सुपरमार्केटमा भएको अर्को आक्रमणमा थप ५ जनाको ज्यान गएको घटना चर्चामा रह्यो । पत्रिकाको कार्यालयमा भएको आक्रमणको विरोधमा ११ जनवरीमा पेरिसमा भएको राष्ट्रिय एकता र्‍यालीमा विश्वका ४० उच्च नेतासहित ३७ लाख मानिस सहभागी भए । (उज्यालो अनलाइन बाट)

एजेन्सीकाे सहयाेगमा

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...