नारी र डर
कल्पना राई ‘खुशी’
अमुर्तबोध जो मुटुको पीधमा हुन्छ
जति निकालेर फाल्न खोजौ
भोकाएको जुका जस्तै आँतमा टाँस्सी रहन्छ र चुसी रहन्छ
खुशीको परागहरु
हर्षका पलहरु
उमंगका अमृत रसहरु
सम्भवत यसैलाई डर भनिन्छ |
आज भालेको डाँकसंगै उठेर घर धन्दा गरें
घर,गोठ,बस्तु भाव,चुला चौका के गरिन?
सबैसबै कर्म र धर्मको साथ पुरा गरें
तथापी,
डाडुले हत्केलामा तिरिक्क झोल राखी चाख्दा
तीहुनमा नुन चर्को भएछ हँसले ठाँउ छोड्यो
अब के भन्ने हुन घरका सदस्यहरुले?
जो,ओछ्यान छोडेर सिधै भान्छा पस्छन
जो,आठ घण्टे जागिरे छन जो, खटनको भरमा पेट भर्न पल्केका छन
अब के भन्ने हुन्?
हुनसक्छ यसैलाई डर भनिन्छ |
स्वामी नारायण कार्यलयबाट थाकेर आउनुहुन्छ
बाटैबाट कोट र टाई खोलेर
सर्टको आधा उधि टाँक खोली भ्याएर
गृह प्रवेश गर्नुहुन्छ आग्रह होइन,खटन गर्नुहुन्छ
‘एक कप चिया ल्याउ’
मालिक बिनाको बेसाहारा कुकुर
जो,आदेश पाउने बितिकै पुच्छर हल्लाउछ
मतलब चिया पेस गर्छु
मनमा अनेक संकोच भरेर
कतै,चिनी बढी भयो कि? चिनी लागेन पो कि?
होइन,होइन दुध कम भयो कि?
धन्य भएँ !
आज आकाश गर्जेन मनको बादल मडारिएर
धर्ति रुझ्नु परेन |
आज,पश्चिमबाट आभा छरिएको कारण त!
सयनमा पल्टेपछि चाल पाएँ
स्वामी नारानको छट्पटी देखेर
आँखाको नानीमा खट्पटी देखेर
तिर्खाएको भनौ कि भोकाएको?
जे भनौ, उहाँ पूर्ण हुन चाहनुहुन्थ्यो
तृप्त हुन चाहनुहुन्थ्यो
अनि मस्त निदाउन चाहनुहुन्थ्यो
म बुझ्नसक्थें, स्वामी नारानको मनोभाब
र त,सुम्पि दिएँ
रजस्वालाको पीडाले प्रताडित यो देह उहाँलाई
किन कि,
मलाई सुन्नु थिएन सौता हाल्ने धम्कि,
मलाई सुन्नु थिएन मेरो कमजोरी,
मलाई सुन्नु थिएन नाना भाती अपजस,
र, सुन्नु थिएन मेरो त्याग र प्रेम माथी अबिश्वास
सम्भवत यही नै डर हो |
रचना -2015/07/16