दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने

सउल, दक्षिण कोरिया – दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव२०२५ भव्य रूपमा मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियासहित १२ जातीय संस्था, फोनिज कोरिया र दुई साहित्यिक संस्थाको संयुक्त आयोजनामा यो कार्यक्रम हुनेछ।
कार्यक्रम १० अगष्ट २०२५, आइतवार बिहान ११ बजे 서울특별시 종로구 종로 386, 10층, 서울 숭인병원 동묘앞역 3번 출구 मा हुनेछ। आयोजकले फोनिज कोरियालाई दिएको जानकारी अनुसार यो महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने लक्ष्य राखेको छ।
यस वर्षको नारा “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर! युनेस्को र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर!” रहेको छ। यो नाराले आदिवासी जनजातिको अधिकार संरक्षण र प्राकृतिक स्रोतमाथिको हक स्थापित गर्न जोड दिएको छ। साथै, महोत्सवले “संस्कृतिक प्रवर्द्धन रसांस्कृतिक अन्तरघुलनका साथमा सामाजिक रूपान्तरणका निम्ति देशलाई जोड्दै प्रवासमा देशचिनाउने अभियान” लाई प्राथमिकता दिएको छ।
कार्यक्रममा मगर समुदायको मौलिक परम्परागत कौराह, गुरुङको सोरठी, राईको सिलि, लिम्बुको केलाङ (च्याब्रुङ), तामाङको सेलो तथा डम्फु, नेवारको धिमे नाच, थारुको मघौटो, शेर्पार ह्योल्मोको स्याब्रु, साथै सुदूरपश्चिमको मौलिक देउडा नृत्य र गायन प्रस्तुत गरिनेछ।
महोत्सवमा मगर समुदायको बारा–तरुल, गुरुङको भाब्रे रोटी, राई–लिम्बुको वाचिपा र याङ्बेन, तामाङको खाप्से–पानी आलु, शेर्पाको खाप्से, थारुको घोँगी–माछा, नेवारको छोईला–चिउरा, ररैथाने कोदोको जाँड तथा सेलरोटी लगायतका मौलिक परिकारहरूको स्वाद लिन सकिनेछ।
प्रवेश निःशुल्क रहेको यो महोत्सवले नेपालको सांस्कृतिक विविधता र आदिवासी जनजातिको पहिचानलाई विश्वमाझ चिनाउनेछ। आयोजकले सबैलाई सहभागी भई नेपाली संस्कृतिकोउत्सव मनाउन हार्दिक निमन्त्रणा गरेको छ।
विश्व आदिवासी दिवस सन् १९९४ मा संयुक्त राष्ट्रसंघले अगष्ट ९ लाई आदिवासी जनजातिको अधिकार र संस्कृतिको संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो। नेपालमा यो दिवस सन् १९९५ देखि विभिन्न कार्यक्रममार्फत मनाइँदैआएको छ, जसले आदिवासी जनजातिको भाषा, संस्कृति र अधिकारको प्रवर्द्धनमा जोड दिन्छ।दक्षिण कोरियामा भने नेपाल आदिवासी जनजाति महासंघको स्थापनापछि यो दिवसलाई सांस्कृतिक उत्सवको रूपमा मनाउँदै आएको छ।