म त्यही अनुहार हूँ

`म त्यही अनुहार हुँ´
जिन्दगीको आकाशमा
इन्द्रेणी सँगै बाँचिरहनु पर्ने – च्याब्रुङहरू
तर किन चिहानमा छु भनेर चिच्याउँदै छ
सङग्रहालयको वस्तीबाट
हाक्पारे गाउँदै
समय सँगै बगिरहनु पर्ने – खोलाहरू
तर किन चुपचाप चुपचाप जमिरहेको छ
दह भएर हृदयको थुम्कीमा
पहाडको शीरमा
शीरफूल बनेर फुलिरहनु पर्ने – सेक्मुरीहरू
तर किन फुल्न नपाउँदै झरिरहेको छ
दुखको अक्करे भीरहरूबाट
हुर्रा नाच्दै
जङ्गलमा उडिरहनु पर्ने – चराहरू
तर किन रीसको आगो ओक्लदै छ
भञ्ज्याङ्को चौतारीहरूमा
समयको क्यानभासमा
रङ्गजस्तै फैलिरहनु पर्ने – सपनाहरू
तर किन बाध्यताको डोरीले आत्महत्या गरिरहेका छन्
अभावले बाङ्गिएको दलिनहरूमा
पीडा बनेर
आँखामा लुकेर बस्नुपर्ने – आँसुहरू
तर किन नुनिलो भएर बगिरहेको छ
यादहरूको गल्छीमा
शरीरको नशामै
मौन भएर बगिरहनु पर्ने – रगत
तर किन आक्रोश भएर उम्लिरहेको छ
सडकहरूको छातीमा
इतिहासको सुन्दर
गीतहरू गाइरहनु पर्ने – शब्दहरुले
तर किन कोलाहल मचाइरहेको छ
पुस्तकको पानाहरूमा
देशको नक्सामा
सीमाना मात्रै हेरिरहने – म
तर किन आज देशको नक्सामा
आफ्नै अनुहार खोजी रहेको छु ?
यो खुल्ला आकाशमा
प्रश्नको ढाकर बोकेर , उड्दै-उड्दै
उत्तर खोज्न हजुरको शहर आइपुगेको छु
हजुरलाई लाग्न सक्छ!
यो को हो ?
तपाइले लेख्न बाँकी
र मैले देशको नक्सामा देख्न बाँकी
म त्यही अनुहार हूँ ।
-तिर्थराज विश्वकर्मा, धरान, सुनसरी