बेरोजगार (कबिता)

कल्पना राई (खुशी)
सडक छाप एक बेरोजगार हुँ म
जो रोजगारको लागी गरेक दिन सडक देखि सदन सम्म चहार्छ
बद्लामा पुरानो गोल्ड स्टार जुत्ता खियाउ छ
भिर्ने झोलाले काँध थकाउ छ
मुखबाट पिएको पानी शिर बाट चुहाउ छ
अनि,
प्रियले दिएको रुमालले सरक्क पसिना पुछेर
चौतारीमा लामो सुस्केरा तान्दै टोलाउछ
आफैले सम्हाल्छ आफ्नै मनको कौतुहलतालाई
जो बहकि रहन्छ,…… हरेक असफलतापछि …
एक झोका हावाको शिर देखि पाउ पुछेर जान्छ
जसरी झाँक्रीको पातीले रोगीको शरीरलाई पुछेर जान्छ
हो,त्यसरी नै पटक पटक मन्साइ रहन्छ
मिठो बतासले मेरो शरीरलाई …
म,पुलकित हुन्छु…
जब,ति बेनामी हरिया वृक्षको पात भरी झुन्डिएर रहेको
बेनामी किराहरु एकै स्वरमा लय मिलाएर
आफ्नै मौलिकता झल्काएर बेनामी गीत गाउन थाल्छन
म मन्त्रमुग्ध भएर त्यसैमा डुबी दिन्छु
आफ्नै मनको बेनामी पिडा भुलाउन हराई दिन्छु
बेनामी गीतको लहर भित्र भित्र सम्म……… आफुलाई डुबाई दिन्छु……
बेनामी संगीतको तालमा……
आफ्नै अगाडी तेर्सिएको सडक हेर्छु
लमतन्न शान्त भएर कति निदाएकि यो सडक?
अझ,त्यसै माथी……
छोटा,मोटा,लामा,सबै खाले सवारी दौडी रहेछन
फगत दौडी रहेछन केवल हेर्न सक्छु
त्यसको गन्तब्य ठम्याउन सक्दिन आखिर काँहा जान्छन होला?
सोच्न मन लाग्छ र घोत्लिन थाल्दछु फेरी सोच्छु,
म किन अरुको गन्तब्य खोजूँ?
जब कि आफ्नै पाईला रुमलिन खोज्दैछ
आफ्नो बाटो छोडेर आफ्नो गन्तब्य छोडेर……
म त्यही बेरोजगार हुँ
जो देश बाट टाढा छु
जो,घर बाट टाढा छु
जो,परिवार बाट टाढा छु
हो!आफ्नो प्रिय बाट टाढा छु
सायद ……
त्यसैले …………
दोलखा,
हाल -दक्षिण कोरिया