जुनकिरीलाई जुन सम्झि सम्पादनमा
‘जुनकिरीलाई जुन सम्झी
मेरो प्रेमलाई भुल्दै छौ रे
मेरो दिलबाट निस्की
अर्कै दिलमा रम्दै छौ रे’…
अन्जु पन्तको स्वर रहेको नेपाली आधुनिक गीतमा गत आइतबार नेपाली कलाकारहरुले जीवन्त अभिनय गरिहेका थिए । छुट्टिको दिन पारेर बिहानैदेखि गीतको छायांकनमा व्यस्त युवा कलाकारहरुले दक्षिण कोरियाको राजधानी सउलको विभिन्न रमणीय र मनमोहक स्थलहरुमा पुगेर म्युजिक भिडियो तयार पारे । व्यस्तताका वावजूद एकै दिनमा तयार गरिएको म्युजिक भिडियो अहिले सम्पादनको क्रममा रहेको म्युजिक भिडियोकी निर्देशक एवं कलाकार एलिसा सिंह बताउछिन् ।
नवराज राईको शब्द र मनिपाल राईको संगीत रहेको नवराज राईको पहिलो नेपाली आधुनिक गीतिसंग्रह ‘राज’ मा समावेश रहेको ‘जुनकिरीलाई जुन सम्झी’ बोलको म्युजिक भिडियोको छायांकन अनुराग सापकोटाले गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल एलिसा सिंहका साथमा नयाँ कलाकार प्रताप तामाङ र न्यासु सुब्बाले अभिनय गरेका छन् ।
छिटै बजारमा आउन लागेको उक्त म्युजिक भिडियो छायांकनमा मात्र छ लाख कोरियन वन खर्च लागेको निमार्ण पक्षले जनाएको छ । कोरियाका उच्च गुणस्तरीय प्रविधि र राम्रो क्यामराका कारण पछिल्लो समय कोरियामा म्युजिक भिडियो छायांकन गर्ने क्रम बढेपछि रोजगारीको क्रममा आएका प्रतिभाशाली युवाहरु गीतसंगीत र मोडलिङ क्षेत्रमा सक्रिय भएर लागेका छन् ।