दक्षिण काेरिया र म 


परदेशकाे जीवन बिचित्रकाे हुन्छ । अर्लामकाे आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाऊँ र काममा जाऊँ । थकाइ नमानी हप्ताभरि उहीँ कम्पनीकाे ड्रेस लगाएर रातदिन नभनी काममा जाेतिनु पर्ने बाध्यता । काेठामा साथीलाई डिस्टर्ब हाेला कि भनी अपनाउनु पर्ने अतिरिक्त सतर्कता । मेसिनजस्ताे जिन्दगी । खालि काम, काम अनि काम । काम सकियाे , सम्बन्ध सकियाे । कसैलाई कसैकाे मतलब समेत हुँदैन ।
केही दिनअघि एकजना दाइकाे बिदाई कार्यक्रम भयो । दक्षिण काेरियाकाे झन्डै-झन्डै एकदशककाे बसाइँलाई बिटमार्दै उहाँ घर फर्किँदै हुनुहुन्थ्यो । लामाे समय बसेकाे ठाउँ , सँगै काम गरेका साथीहरुसँग छुटिँदा पक्कै पनि नरमाइलो त लाग्दाे हाे , तर घर फकिन पाउँदाकाे खुशी उहाँको अनुहारमा प्रयाप्त देखिन्थ्यो । मैले यसाे उहाँलाई हेरेँ – झन्डै- झन्डै पाँच दशक देखेका ती आँखाहरु । तिलचामले केश । प्राैढ शरीर । कुनै दिन उहाँ पनि तन्नेरी हुनुहुन्थ्यो हाेला ! आफ्नै आवश्यकता र रहरहरु थिए हाेलान् ! आँखामा रंगीन सपनाहरु सजिएका थिए हाेलान् ! के उहाँले चाहेजस्तै जीवन बाँच्नु भयाे हाेला त ? के उहाँका सबै आवश्यकता , ईच्छा , आकांक्षाहरु पूरा भएछन् ?
एभरेज नेपालीहरु निश्चित उमेर पार गरेपछि बिहेवारी गर्छन् । दुई-चार थान सन्तान उत्पादन गर्छन् । देशमा बेराेजगारी व्याप्त छ । कतै राेजगार पाइहाले पनि तलबले परिवार धान्न मुश्किल पर्छ । शासन प्रणालीहरु बदलिए पनि जनताकाे जीवनमा आर्थिक रुपान्तरण हुनसकेकाे छैन । श्रमकार्यमा भेदभाव छ । कामकाे सम्मान छैन , मूल्य छैन । कर्मचारीमा कामप्रतिकाे समर्पण भाव छैन । शासक त शासकै भए जनतामा पनि आत्म -अनुशासन र उत्तरदायित्व हराउँदै गएको छ । व्याप्त बेथिति र स-साना काम गर्न पनि ठूला नेताकाे साेर्स- फाेर्स र चाकडी गर्नुपर्ने प्रवृत्तिदेखि आजित भएर युवाहरू जिन्दगीको खाेजीमा विदेशतिर हानिन्छन् । विदेशमा अनेकौं हन्डर ठक्कर खान्छन् । कठाेर काम गरेर काेही स-शरीर धन कमाई फर्किन्छन् । काेही उतै हराउँछन् त काेही बन्द बाकसमा कहिल्यै नउठ्ने गरी फर्किन्छन् । यहीँ हाे एभरेज नेपालीहरुकाे नियति ।
                               *****
सानै छँदा एकदिन ठूलाे आवाजमा आकाशमा उडिरहेको जिनिसलाई देखाउँदै मैले आमालाई साेधेकाे थिएँ – आमा त्याे के हाे ?”
“त्याे हवाइजहाज हाे ,”आमाले मतिर हेर्दै भन्नुभएको थियाे “, त्यसमा मान्छे चढ्छन्।”
आमाकाे जवाफ सुनेर म छक्क परेकाे थिएँ। त्याे हवाइजहाज नामक जिनिस कसरी उड्छ हाेला ! त्यसमा कस्ता मान्छे चढ्छन् हाेला ! फेरि त्याे जिनिस कहाँ जाने हाेलान् ! म निकै जिज्ञासु बनेको थिएँ । आमाले मेराे अनुहारको भाव बुझ्नु भएकाे थियाे । आफ्नो दाहिने हत्केलाले मेराे निधार सुम्सुमाउँदै भन्नुभएको थियाे – चिन्ता नगर् । ठूलाे भएसी मेराे छाेराे पनि चढ्ला !”
म गजक्क परेकाे थिएँ । आमाले मलाई आफ्नो छातीमा टपक्क टाँस्नु भएकाे थियाे । बर्षाैपछि आज म त्यहीँ हवाइजहाज नामक जिनिसमा चढ्न गइरहेको  थिएँ । तर, विगतकाे त्याे उत्सुकता ममा थिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे वातावरण उराठ एवं उराठलाग्दाे थियाे । उफ् ! हामी कामदार निर्यात गर्ने देशका बासिन्दा ! बाआमाकाे अनुहार मलिन थियाे । मलाई राताे खादा ओडाउँदै बाआमाले दशैमाझैं फररर आशिर्वाद दिँदै भन्नु भाे,” कसैकाे नजर नलागाेस् ! दैव सधैं दाहिना रहून् ! चिताएका सबै कुरा पूरा हाेऊन् ! सबैकाे भलाे गर्नू बाबै !,” बाेल्दाबाेल्दै आमाका आँखा सररै रसाए ।
” आमा त जम्मै राेकाे राेयै हुनुहुन्छ । अब नरुनुस् के ।,” दिदीले मेराे शिर सुम्सुमाउँदै फेरि आमातिर हेर्दै भनिन् , ” भाइ यति ठूलाे भैसक्याे । आइहाल्छ नि एक/दुई बर्षपछि । म छँदै छु त हजुरहरुसँग ।”
” हुन्दे !,” आमाकाे रुन्चे स्वर सुनेँ,” तिमीहरु जतिसुकै ठूला भए पनि हाम्रा लागि त साना हाै । एकदमै साना । आँखाका नानी जस्ता ।” आमाले सारीकाे सप्काेले आँसु पुछ्नु भाे । बा शिरमा आयातीत ढाकाकाे टाेपी मिलाउँदै हुनुहुन्थ्यो । दिदी भने अन्तिमपटक सेल्फीकाे तरखरमा थिइन् । पालैपालो बाआमा र दिदीलाई ढाेगेँ । आँखाभरि सप्तरङ्गी सपना र मनभरि विछाेडकाे पीडा लिएर दक्षिण काेरियाका लागि प्रस्थान गेटतिर लम्किएँ ।
ईपीएस मार्फत दक्षिण काेरिया जाने युवायुवतीहरु कालाे ज्याकेट र राताे क्याप टाेपीमा सझिएर लामबद्ध थिए । उक्त दृश्यले तत्कालीन नेकपा माओवादीले प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने मूल नाराका साथ सुरु गरेकाे सशस्त्र संघर्षमा हाेमिएका युवायुवतीकाे झल्काे दिन्थ्याे । फरक यत्ति थियाे -तत्कालीन युवायुवतीसँग हातहतियार , बन्दुक , गाेलीगठ्ठा थिए । अहिले यी युवायुवतीसँग भने हातमा हरियो पासपोर्ट थियाे । करिब पाँच सय कामदार बाेकेर हवाइजहाज उड्याे , अन्धकार आकाशमा । म उडेँ । पहिलोपल्ट गुँड छाडेर उडेकाे बचेराेझैं ।
                                          ****
“सधैं हाम्रै मात्र भर परेर काँ हुन्छ ? हाम्रो उमेर पनि ढल्किँदै गाे । हातगोडा बस्न थाले । तेराे पनि त उमेर भयाे , अब त केही गर्नुपर्‍यो नि !  सधैं बाआमाकै मुख ताकेर जिन्दगी चल्दैन बाबै ।”, बाले पहिलोपटक साँच्चिकै पहिलोपटक मतिर हेर्दै भन्नुभएको थियाे । बाकाे स्वर सुनेर छक्क परेँ । मैले कान्तिपुरमा छापिएको एउटा परदेशीकाे लामो कथा पढ्दापढ्दै राेकेँ । त्याे पुस महिलाको पहिलो शनिबारकाे दिन थियो । सूर्य आकाशकाे पश्चिमपट्टी थियाे । हामी स-परिवार घाम ताप्दै सुन्तला छाेडाएर खाँदै थियौँ । उमेरले बाहिस नाघिसक्दा पनि  म पूरापूर बाआमामा आश्रित थिएँ  । चाहिएकाे बेला बाआमालाई दंगाउँदै पैसा माग्थेँ । चढ्ने साधन छँदै थियाे । बिहान कलेज जान्थेँ । दिनभरि फुर्सदिलाे फुन्थेँ । जिन्दगी यस्तै त हाे नि भन्ने लाग्थ्याे । निकै पुल्पुलिएर हाेला , म भविष्यप्रति खासै गम्भीर थिइनँ ।
” अब अल्लि गम्भीर बन्न सिक् । सधैं यसरी बरालिएर हुँदैन । हामी पनि डाँडामाथिका घाम भैसक्याैँ ।”, आमाकाे श्वर तिखाे सुनियाे ।
सुन्तला छाेडाउनमै तल्लीन थिएँ म ।
” कम्मर कसेर पढ् । लाेकसेवामा नाम निकालिस् भने बेसै हाेला ! सरकारी जागीर भनेकाे सरकारी जागीर नै हाे । भाेलिका दिनमा राम्रो हुन्छ ,” बाले खाेक्नु भाे । मैले दिदीतिर आँखा घुमाएँ , उनी फेसबुकमा व्यस्त थिइन् ।
जीवनमा सरकारी जागीर खाने मेरा बाआमाकाे ठूलाे सपना थियाे रे ! विडम्बना , उहाँहरुकाे त्याे सपना पूरा भएनछ । आफ्नो अपूराे सपनालाई छाेराले पूरा गरिदेओस् भन्ने चाहना राख्नुभएको रहेछ । अभिभावकले सन्तानप्रति चाहना राख्नु स्वभाविक हाे । तर, उनीहरुले सन्तानको गुण र झुकाप कस्ताे र कता छ भन्ने कुराकाे पनि ख्याल राख्नुपर्छ । सरकारी जागीरप्रति मेराे कहिल्यै झुकाप भएन । सायद ममा त्यस्तो गुण पनि नहाेला !
” म सरकारी जागीर खान्न । ” मैले भनेँ, ठाडै ।
” अनि के अर्चस् त ?”, बाले साेध्नु भाे, साेझै।
” बरु व्यापार गर्छु ।”
मेराे स्वर सुनेर बाआमा निकै खिन्न देखिनुहुन्थ्याे ।
व्यवस्थापन पढेकै लहडमा व्यापार गर्छु त भनेँ , तर मसँग चाहिने व्यावहारिक ज्ञान थिएन । के गर्ने ? कसरी गर्ने ? भन्ने बिषयमै मेरा दिनहरु बित्न थाले । केही महिनापछि जेनतेन एउटा पसल सुरु गरेँ बाआमाकाे सहयोगमा । तर समयकाे लेखान्त अर्कै रहेछ । पसल फस्टाउन सकेन । फस्टाउन सकेन पनि के भन्नूँ ! व्यापारमा प्रयाप्त लगानी चाहिने । आफूसँग लगानी भएन । विभिन्न बैंक र संघसंस्था धाइयाे , तर उपलब्धि हात लागेन । कलेजमा अकाउन्ट् पढ्दा डेबिट र क्रेडिटकाे ब्यालेन्स सिट सहजै मिलाइन्थ्याे तर, व्यावहारिक जीवनकाे डेबिट र क्रेडिटकाे ब्यालेन्स सिट मिलाउन त्यति सहज रहेनछ । म झाेकराउन थालेँ । स्नातक चाैथाैँ बर्षकाे परीक्षा पनि दिइनँ । म भत्किएँ ।
नेपाली समाजमा मानिसको सफलताको मापन गर्ने कसी भनेकै पैसा रहेछ । आर्थिक सम्पन्नताले नै मानिसको सामाजिक प्रतिष्ठा निर्धारण गर्दाेरहेछ । पैसा भन्ने चिज नभएपछि साहुहरु सिंह बन्दा रहेछन् । छिमेकी शत्रु बन्दा रहेछन् । आफन्त पराई बन्दा रहेछन् । आफूचाहिँ मजाककाे पात्र बनिँदाे रहेछ ।
हावा हाे मित्र पाेल्दा जंगल अग्निकाे
त्यहीँ गर्छ दीपकाे नाश
निर्दाकाे मित्र हुन्छ काे ?
                     – कवि शिरोमणि लेखनाथ पाैड्याल
हावाले जंगलमा डढेलाे दन्काउँछ । त्यहीँ हावाले एउटा निर्दाे बत्तीलाई निभाउँछ । निर्दाकाे मित्र काे हुन्छ ? काेही पनि हुँदैन । सबैले उहीँ बलेकै आगाे ताप्ने हुन् ।
व्यापारमा ठक्कर खाएपछि अब मैले विदेश जाने साेच बनाएँ । हुन त मलाई पहिल्यै थाहा थियाे – नेपाली समाजले देशमै केही गर्नेलाई भन्दा विदेश जानेलाई बढ्दा मान गर्छ भन्ने कुरा । तैपनि सकेसम्म आफ्नै देशमा केही गर्छु भन्ने चाहनाले विदेशीने इच्छा पहिले कहिल्यै पलाएकाे थिएन ।
गाउँघरमा विदेश जाने फेसन नै चलेको थियाे । अझ राम्रो कमाई हुने ठाउँ भनेपछि त उल्कै हुन्थ्यो । दक्षिण काेरियामा राम्रो कमाई हुन्छ रे भन्ने हल्ला थियाे । मैले पनि हल्लाकै भरमा द.काेरिया जान काेरियन भाषा पढ्ने निधाे गरेँ । अपितु बाआमा भने मेराे यस निर्णयप्रति पटक्कै खुशी हुनुहुन्थेन । करिब तीन महिना काेरियन भाषा दत्तचित्त भएर पढेँ । यस्ताे पढेँ कि , काेठाका समानदेखि जानेका शब्दसम्म मनमनै काेरियन भाषामै उल्था गर्न थालेँ । मानाैँ याे नै मेराे सर्बथाेक हाे । ईपी.एसले लिएको भाषा परीक्षामा पास पनि भएँ । जीवनमा दिएका अन्य परीक्षाका रिजल्टभन्दा याे रिजल्टले बेग्लै खुसी दियाे ।
भाषा पास भएको करिब एक बर्षपछि मेराे श्रम सम्झौता आयाे । खुशीले फुलेल भएँ । ईपीएस सम्बन्धि सम्पूर्ण कागजी प्रक्रिया र भैसीपाटीकाे सात दिने अभिमुखिकरण तालिम पूरा गरी केही बर्षका लागि घर छाेड्ने तयारी पूरा भयाे ।
                                         ****
करिब ६ घण्टाकाे हवाइयात्रापछि बिहानपख दक्षिण काेरियाकाे इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण  हुँदा मेरा तनमनका पखेटा निकै फुकेका थिए । काेरियाकाे विकास देखेर म चकित परेथेँ । लाग्थ्याे , याे देशमा काम नै काम छ ! याे पैसै पैसाकाे सहर हाे ! यहाँ दुई हातले पैसा साेहाेर्न सक्नुपर्छ !
करिब तीन दिनकाे तालिमपछि कम्पनी पुग्दा मलाई सेप्टेम्बरकाे चिसाे हावाकाे झाेक्काले स्वागत गर्‍यो । पहिलोपल्ट फलामका चाङ देख्दा मेरा आँखा जाेडले तिरमिराएँ । म कल्पनाकाशकाे दक्षिण काेरियाबाट यथार्थकाे वास्तविक धरातलमा पुग्दा निकै रन्थनिएँ । काम गर्ने मेसिन देख्दा म पिजडामा परेकाे पंन्छीझैं छटपटाएँ ।
फलामका चाङका बीचबाट इशाराका भरमा काम सुरु गरेँ । मलाई काम सिकाउने एकजना बैसठ्ठी बर्षे काेरियन बूढा थिए । उनी निकै मिहिनेत थिए । खालि काममात्रै गरिरहन्थे । उनकाे अनुहारको बान्की नै त्यस्तै हाे या खै किन हाे उनी निकै रिसाएझैँ देखिन्थे । अपितु उनकाे बाेली भने नम्र थियाे । सुरुसुरुमा उनले मलाई उछिन्दै काेरियन अभिवादन गर्थे । म जिस्काएझैँ ठान्थेँ । पछि पाे थाहा भयाे , काेरियनले कामलाई पुज्दा रहेछन् । काेरियामा कामदारलाई सम्मान गर्ने संस्कार रहेछ । काेटीकाेटी नमन छ उनीहरुकाे कामप्रतिकाे त्याे श्रद्धा र समर्पणकाे भावलाई ।
एकदिन रेस्ट टाइममा मैले ती सहकर्मी बूढासँग परिवारबारे जिज्ञासा राख्दा उनले माेबाइलमा रहेकाे फाेटाे देखाउँदै काेरियनमा भनेका थिए , ” उनी मेरी श्रीमती हुन् । उनी फुड कम्पनीमा काम गर्छिन् । हप्तामा हाम्रो एकपटक भेट हुन्छ । अनि यी दायाँबायाँ उभिएका चाहिँ छाेरा हुन् । उनीहरु झन्डै -झन्डै तिम्रै उमेरका भए हाेलान् । उतै राजधानी सउलतिरै बस्छन् । उतै काम गर्छन् । ” बूढा राेकिए । उनले चुराेटकाे खिल्ली मतिर बढाए । मैले नकारात्मक टाउकाे हल्लाएँ । उनले चुराेट सल्काए । लामाे सर्काे ताने अनि बाहिर धूवाँको अमूर्त आकृति फ्याकेर बाेले , “यहाँ कसैलाई कसैकाे मतलब हुँदैन । सन्तानले बाआमालाई हेर्दैनन् । उनीहरू उनीहरुकै लागि काम गर्छन् । हामी हाम्रै लागि हातखुट्टा चल्ने बेलासम्म काम गर्छाैं । नत्र खान पाइँदैन नि । ” उनले मतिर पुलुक्क हेरे । “हाम्रातिर त गजब छ । एकजना सदस्यकाे भरमा सिङ्गो परिवार बाँचेको हुन्छ । कामलाई भन्दा मानवीय संवेदनालाई बढी प्राथमिकता दिइन्छ । पचास नाघेपछि नेपालीहरु बूढाे भइयाे भन्न थाल्छन् । सरकार पनि अन्ठाउन्न मै अवकाश दिन्छ । बूढाबूढीले बाेनसमा नातिनातिना पाउँछन् । नातिनातिना हुर्काउँदै दिन बिताउँछन् ।” मेराे कुरा सुनेर उनी छक्क परे ।
वास्तवमा दक्षिण काेरियाका मेरा हनिमुन दिनहरु निकै कष्टपूर्ण रहे भन्दा हुन्छ । बिरानाे मुलुक , भिन्न परिवेश ,फरक रहनसहन र खानपिनमा एड्जस्ट हुन कठिन हुने नै भयाे । त्यसमाथि दैनिक चाैँध / पन्ध्र घण्टा निरन्तर काम गर्दा थाकेर लखतरान हुन्थेँ । खाना खान गयाे , टाढै गन्हाउने । जेनतेन गाँस हाल्याे , निल्नै गाह्रो हुन्थ्याे । नेपालमा बाआमालाई याे भएन ,त्याे भएन , याे खान्न , त्याे खान्छु भन्दै घुर्काउँदै , दंगाउँदै खान पाइन्थ्यो । दुई/चार घण्टा काम गर्‍यो भने थाकेको अभिनय गरिन्थ्यो । जीवनमा कहिल्यै कल्पनासमेत नगरेको दुःख पाउँदा म झाेकराउन थालेँ । सबै मानिसहरू पराई लाग्थे । घर-परिवार र साथीभाइ त हुँदै भए , गाउँघरकाे ढुङ्गा , मुढाकाे समेत याद आउँथ्याे। चारैतिर अन्धकार लाग्थ्याे । जीवनदेखि नै विरक्त लाग्न थालेकाे थियाे । समाचार हेर्‍यो , हप्तैपिच्छे मानिस मरेकाे खबर । काेही आत्महत्या त काेही औधाेगिक दुर्घटनामा । विरक्तीपनले छाेपेकाे बेला यस्ता समाचार पढ्दा मन अझ खुम्चिने रहेछ । नेपालमा हुँदा यसाे साेच्थेँ – परदेशमा गएर किन आत्महत्या गर्छन् हाेला ! परदेश कहाँ स्वदेश जस्ताे हुन्छ र ! मन त बुझाउनै पर्छ नि भन्ने लाग्थ्याे ।
दक्षिण काेरिया आएकाे एक/दुई हप्तामै किन नेपाली श्रमिकले आत्महत्या गर्दारहेछन् भन्ने गतिलो अनुभव भयाे । मानिस निराशाकाे चरम विन्दुमा पुगेपछि आफूलाई व्यर्थ ठानेर बेहोसीमै ज्यान फालिदिने रहेछ । दक्षिण काेरियामा कामकाे चाप , “हाेमसिक” र घरपरिवारले दिने तनाव नै आत्महत्याको मुख्य कारण रहेछ।
जतिसुकै तनाव हुँदा पनि मैले कहिल्यै हार खाइनँ । बरु धेरै पीडा भएको दिन कहिले मन हलुङ्गाे पार्न  काेठाकाे कुनामा मुख छाेपेर राेएँ । कहिले मध्यरातमा एक्लै सडकका बत्तीसँग रमाएँ त कहिले माेबाइलमा बज्ने गीतहरुमा हराएँ । सम्झेँ, गाउँमा निकै सम्मान पाएका ती काेरियनबाट फर्किएकाहरुलाई । फेरि सम्झेँ, परदेशमै पसिना र रगत बगाएका ती लाखै लाख युवायुवतीलाई अनि चित्त बुझाएँ । आखिर बुझाउनुपर्ने चित्त नै रहेछ ।
जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा परिस्थितिकाे विश्लेषण गरी आफूलाई त्यस अनुरुप ढाल्न सक्नु पाे रहेछ । मैले आफूलाई समायाेजित गर्न थालेँ । महिना बितेपछि प्राप्त गरेकाे तलबले पनि केही उर्जा दियो  हाेला ! अघि सय मिटर टाढै गन्हाउने खाना दिनदिनै खाँदा मीठाे पाे लाग्न थाल्याे । चाैंध/ पन्ध्र घन्टा काम गरेर लखतरान हुने शरीर अब केही अभ्यस्त भयाे । साँच्चै मानव शरीर त गजबको हुने रहेछ । मेसिन बरु खिया लागेर भाँचिएला । धेरै चलाए तातिएर पड्किएला । तर याे शरीर जस्ताे गरायाे त्यस्तै हुने ।
                            ****
” कता हरायाै दृश्य भाइ ?,” दाईले काेट्याएपछि म झस्किएँ । दाइकाे अनुहारमा हेर्दाहेर्दै म त आफ्नो विगतमा पाे फर्किएछु ।
माेवाइलमा कसैकी पत्नी भइसकेकी मेरी भूतपूर्व प्रेमिकाकाे तस्बिर हेरेँ , नचाहँदा नचाहँदै ।
“डन्ट फर्गेट मी है,” उसले अन्तिम भेटमा भनेकी थिई ।
हे दैव !
“म छिटै फर्किन्छु,” मैले आश्वस्त पार्न खाेजेकाे थिएँ ।
विज्ञानले जतिसुकै नवीन आविष्कार गरे पनि उसको याद मेटाउन सक्ने कुनै ओखती बनाउन सकेको छैन । पानी कहिले दर्किएला खै ?
                    चियर्स.चियर्स..चियर्स…
झम्म नसामाथि नसा लाग्याे ।
खै कहाँ छन् अरु साेजुका बाेटल ? के मैले त्यति धेरै पिउन हुन्थ्यो ? साथीहरू राजनीतिक गफगाफमा व्यस्त थिए । नेपालीलाई जहाँ गए पनि राजनीति नै गर्नुपर्ने ।  काेही काेही त देशकाे अवस्थाप्रति चिन्तित देखिन्थे , मदिराकाे प्रतापमा ।
” डन्ट वेरी (Don’t worry)केटा हाे ,” बल्ल दाइ भकभकाउनु भाे पुरै पारामा,” यी बूढाखाडा नेताबाट हुँदैन । नेपाल फर्किने बित्तिकै अध्यक्ष कमरेडलाई भेट्छु । आउँदाे चुनावमा टिकट पाए भने देन आइ वेल साे द फिउचर अफ आवर कन्ट्री (then i will show the future of our country ).”
पुनः हाँसाेका फाेहरा छुटे ।
               हाहा .हिहि ..हाेहाे…
समय आफ्नै गतिमा थियो । रातकाे अन्धकार गहिरिँदै थियाे । सप्ताहन्त भएर हाेला , कसैलाई  समयको कुनै पर्वाह थिएन । पृष्ठभागमा उदितनारायणकाे स्वर ” आँखाभरि हिउँचुली छनछन बग्ने खाेला , फेरियाे कि मेराे गाउँ अझै उस्तै हाेला ?” गुञ्जिरहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...