आदिवासी साहित्यकार लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ कार्यक्रम सम्पन्न
आदिवासी जनजाति लेखक साहित्यकार महासंघ दक्षिण कोरियाले आयोजना गरेको मातृ भाषा काव्य यात्रा आइतबार सम्पन्न भएको छ । नेपालको विभिन्न जनजातिले बोल्दै आएका १४ बाषाका ५० भन्दा बढि कवि तथा कवयित्रीले आआफ्नो भाषाका कविता वाचन गरेका थिए ।
जुम मार्फत भएको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । आदिवासी जनजाति साहित्यकार लेखक महासंघ संघीय कार्यालय काठमाडौ अध्यक्ष राजन मुकारुङले आफ्नो भाषा र संस्कार संस्कृतिको संरक्षणको लागि भएको कार्यक्रम निक्कै राम्रो भएको बताएका थिए । उनले यो अभियान एउटा पहिचानको आन्दोलन भएको बताएका थिए । त्यस्तै भाषाविद् अमृत योञ्जनले नेपालका जातजातिको भाषाको साहित्यक विकास २०४६ साल पछि मात्रै भएको बताए । उनले भाषा विकासका लागि वैरागी काईलाले गरेका विभिन्न योगदानको पनि चर्चा गरे ।
साहित्य उत्थान, विकास र सम्बद्र्धनको लागि मातृभाषामै साहित्यक कार्यक्रम भएको आदिवासी जनजाति लेखक साहित्यकार महासंघ दक्षिण कोरियाका अध्यक्ष पराजित पोमूले बताए । कार्यक्रममा वाचन भएका कविताहरुलाई पुस्तकको रुपमा समेत प्रकाशन गर्ने आयोजकले बताएका छन् ।