मास्टर मिराक र सुपरसोनिक समाजवाद (कविता)
बिस्तारामा डंग्रङग ढलेको छ,
यौटा निर्धो शरीर
घरी आन्द्राभूँडी निक्लेला गरी खोक्छ,
घरी दम फूलेर खलाँति जस्तो फूक्छ
असरल्ल छरिएका छन्
सामर्थ्यहीन दबाईका खाली शिशिहरु,
छेवैमा बसेर थालमा जोरविजोर अक्षता
लडाउदै जोखाना हेर्दैछ फेदाङबा
आयुको नापतौलमा!
र शीरमा पानी छर्किन्दै मन्त्र फलाँकिरहेछ
मानौ सिलाम-साक्मा मुन्धुमले हार्नेछ- मृत्यु
कुथेर शीरमा अस्तित्व को पगरी
कसेर कम्मरमा स्वाभिमानको पटुकी
भीरेर काँधमा समाजबादको इन्द्रधनुष
उमारेर मष्तिष्कमा ज्ञानको पुन्जहरु
जीवनभर हिँडेको हो मास्टर
फक्तांलुङ उकालो ओरालो,
अचेल मास्टरको बैँश ढल्क्यो
मास्टरको कपाल फुल्यो,
शरीर जीर्ण बन्यो
फक्ताङलुङभरि फुल्ने जीवनको घाम
अब काँध काँधतिर पुगेको छ
सिन्दुरे रङ्गमा उसको जिन्दगीको किरण
कलम समाउने उसका औँलाहरु
अचेल थर्थर काँप्छन्
ज्ञान,विज्ञान र शिक्षाका आवाज बोल्ने
उसको ओँठ मात्र बर्बराउछ
जीवन र जगत हेर्ने उसका आँखाहरु टिल्पिलाउछन्
बिरासत थाम्ने उसका पाइतालाहरु लर्खराईरहेछ
हो, अचेल मास्टर मिराक निरिह भएका छन् !!
मास्टर मिराकले पढेको थियो
मार्क्सवाद ,लेनिनवाद ,माओवाद
बुद्ध,गान्धी, मण्डेला,र फाल्गुनन्द
र पढेथ्यो सबै सबै क्रान्तिका ईतिहास
त्यसपछि
जब पढ्यो मास्टर मिराकले
आफ्नो देश,
आफ्नो इतिहाँस,
आफ्नो सभ्यता!!
श्री ५ पृथ्बीनारण,
श्री ३ जंगबहादुर,
लालमोहर र मुलुकी ऐन १९१०!!
झट्ट हेरे, आफ्नु अनुहार ऐनामा
जोखे समानताको तुलोमा आफ्नु ओजन
र निस्के आफ्नु अनुहारको खोजीमा
सरकारी अड्डा अफिस,प्रशासन न्यायालय!
तर कतै भेटेन आफ्नो जस्तो अनुहार!!
आदीबासी गाउँमा
गोरुको छाला बाट च्याब्रुड० बनाएको
मुद्दामा पुच्छारे कान्छा र खौसेबुङ्गे
जेल चलान भएको खबर
अख़बारको हेड लाईन मा छ!!
ठीक यतिखेरै माष्टरले पढाईरहेको स्कुलमा
मातृभाषा पठनपाठन प्रशासनले रोकेको छ।
अखबार पढीसकेपछि
जुरुक्क उठ्छ मास्टर
र पुग्छ सरकारी कार्यालय
भन्छ “महाशय- न्यायको निम्ति आएको हूँ”
जवाफ आउछ:
-चुप साले बढ्ता बोल्लास
उडाईदिन्छु तेरो खोपडी!!
त्यहीँ दिन मास्टरले
पढाईरहेको स्कुलमा राजीनामा पत्र लेख्यो
हो त्यहि दिन
शीरमा रातो पट्टी बाँध्यो
लेख्यो रातो ब्यानरमा
राष्ट्रिय समानता र मुक्तिको नारा
घोषणा गर्यो ‘सुपरसोनिक समाजबाद’
र भूमिगत भयो मास्टर मिराक !
क्रान्तिको बाटो सधैँ शान्ति हुँदैन
शासक र सत्ताले आफ्नो टाउकोको मुल्य तोकेपछि
हिडेको हो मास्टर बंकरको बाटो
र छिरेको हो बारुदको पाठशाला
अब माष्टर सिर्फ मास्टर नभएर
एक छापामार लडाकुमा रुपान्तरित भयो
अचानक एक दिन
शासक सित लड्दा लड्दै
बज्रियो दुस्मनको गोली
मास्टर मिराकको को दाँया खुट्टामा!!
र बग्यो ह्वाल्ह्वाल्ती रगत..
त्यहीँ लत्पतिएको रगत र कुल्चेको माटो
उठायो मुठ्ठीमा र लेख्यो माटोमा
गणतन्त्र र समाजवाद -जिन्दावाद !
अचेल देशमा गणतन्त्र भित्रिएको छ,
गणतन्त्रका सुविधा भोगिरहेका छन् नेताहरु
गणतन्त्रको आधुनिक गीत गाइरहेछन् युवाहरु
गणतन्त्रको आधुनिक पाठ पढीरहेछन् बिद्यार्थीहरु
गणतन्त्र नेपालको राष्ट्रगान गाईरहेछन् जनता
अफसोच माष्टर मिराक
दाँया खुट्टामा गोलीको छर्रा बोकेर
गणतन्त्रको खाटमाथि लम्पसार छ
एक क्रान्तिकारी जिउदो ईतिहास
धेरै नै थोक छ गणतन्त्रमा
तर उसँग छ त
केवल विगतका भयानक युद्धकथाहरु
विवश प्यारालाईसिस वर्तमान
र एउटा साश्वत मृत्यु !
हो त्यहि मृत्युको भिख मागीरहेछ
मास्टर मिराक !!
कवि इतर आवाज साहित्य समाजका अभियान्ता हुन्।