वर्तमान अवस्थामा एनसिसिको महत्व र १५ औं अधिवेशनको सरगर्मी
शालिकग्राम बसेल
कोरियामा रहेका नेपालीहरुको संघ संस्थाहरु मध्ये सबैभन्दा पुरानो (पहिलो संस्था) एवं सबै सामाजिक संघ संस्थाहरुको छाता संस्थाको रूपमा रहेको नेपाली सम्पर्क समिती (NCC) अहिले आफ्नो १५ औं अधिवेशन गर्ने तयारीमा रहेको छ।
कोरियामा नेपाली दूतावास स्थापना नहुदै गठन भइ राजदुतावासबाट हुने कतिपय कामहरु गर्नुका साथै कोरियामा थोरै संख्यामा नेपालीहरु रहेको र अन्य संघ सस्था नभएको समयमा नेपालीहरुको समस्याहरु समाधानमा बिशेष सहयोग गर्दै आइरहेको अत्यन्त गौरवशाली ईतिहास बोकेको संस्था हो NCC ।
तर वर्तमानमा नेपाली राजदुतावासको स्थापना हुनु, कोरियामा नेपालीहरुको दिनानुदिन भैरहेको संख्यात्मक वृद्धि सगै धेरै संख्यामा जातीय ,क्षेत्रीय तथा सामाजिक ,राजनैनिक संगठनहरु गठन भइ सकृय हुनु र NCC ले आफ्नो भुमिका प्रभावकरी बनाउन नसक्नु आदि कारणले विगत २/३ वर्ष देखि NCC को अस्तित्व माथीनै प्रश्न उठिरहेको छ।
‘NCC लाई NRN मा गाभ्नु पर्छ’ भन्ने मत एकातिर छ भने अर्को तिर ‘NCC लाई ठोस कार्यक्रम साथ प्रभावकारी र सुदृढ वनाएर सबै जातीय ,क्षेत्रीय ,सामाजिक संघ सस्थाहरुको प्रतिनिधित्व सहितको वास्तविक अभिभावक एवं छाता संगठनको रुपमा विकास गर्नु पर्छ ‘भन्ने मत रहेको छ। NCC ले १५ औ अधिवेशनको तयारी गरिरहेको अबस्थामा यी विषयमा व्यापक बहस र छ्लफल हुनु जरुरी छ।
के NCC साच्चिकै छाता सङठन हुन सकेको छ त? के दूतावासको स्थापना,धेरै संख्यामा सामाजिक संस्था गठन र कृयाशिलताले NCC ले गर्ने काम सकिएकैं हो त?हिजो एन सि सि ले गरेका कतिपय निर्णयहरु मातहतका सस्थाहरुले किन मानेन् त? के स्पष्ट मापदण्डका आधारमा निर्णय गरियो त? के NCC को संघ संस्थाहरुबीच कार्यक्रम वाड्फाड गर्ने मात्र काम हो त?आदि छ्लफल हुन जरुरी देखिन्छ ।
NCC लाई NRN मा गाभ्ने कुरा:-
नेपाली राजदूतावास र धेरै ठूलो संख्या रहेका जातिय, क्षेत्रीय एवं सामाजिक संघ संस्थाहरुको कृयाशिलताले एन सि सिको भुमिका खुम्चिएको र एन सि सि आफैले पनि सक्रिय रुपमा ठोस कार्यक्रम गर्न नसकेको ,एन सि सि पछिल्लो समय संघ संस्थाहरुबीच कार्यक्रम बाड्फाडमा मात्रै सिमित भएको, कार्यक्रम बाड्फाड्को निर्णय कतिपय सस्थाहरुले नमानेको सन्दर्भमा एन सि सिलाई एन आर एनमा गाभ्नुपर्छ भने तर्क एन आर एनका सदस्यहरु तथा कतिपय एन सि सि कै सदस्यहरुले गरिरहेका छन ।
अमेरिका लगायत कतिपय देशमा NRN र NCC मर्ज भएको सन्दर्भमा कोरियामा पनि मर्ज गर्नुपर्छ भन्ने बिचार सशक्त रुपमा उठिरहेको छ।अर्कोतर्फ NCC र NRN फरक फरक उद्देश्य र सन्दर्भ स्थापना भएका संस्थाहरु हुन, एन आर एन नेपाली नागरिकता त्यागी बिदेशी नागरिकता ,पिआर लिएका गैरआवसिय नेपालीहरूको हितमा गठन भएको संस्था हो भने NCC हिजो कोरियामा थोरै संख्यामा नेपालीहरु रहेको बेलामा स्थापना भइ विद्यार्थी ,कामदार , ब्यापार ,वैवाहिक सबै प्रकारको भिसामा कोरिया रहेका नेपालीहरुको हितमा गठन भइ अन्य सामाजिक संस्था दूतावास नभएको अवस्थामा यसले महत्वपुर्ण भुमिका खेलेको थियो ।
मुख्यत १९९१ देखि १९९३ सम्म नेपालीहरु arrival visa मा आएर नफर्किकनै लुकेर कामगर्ने परम्परा थियो, यसरी लुकी छिपी अबैधानिक रुपमा कामगर्दा, विभिन्न नराम्रा घटनाहरु घटे जस्तै तलब नपाउने,काम गर्दा अंगभंग हुने भाषाको समस्याले गर्दा चन्द्रा गुरुङ मानसिक केन्द्रसम्म पुग्नु , नेपाल फर्कनका लागि नेपाली दुताबास नभएको अवस्थामा travel document, र passport जस्ता बिबिध समस्याहरु आए तर यसको समाधान गर्ने कुनै निकायहरु नभएको अवस्थामा केहि कोरियन धार्मिक मिसनहरु अगाडि आए,त्यसमध्ये मेंग्दोंग्मा रहेको जुब्ली मिसनले हामी नेपालीहरुको समस्यामा सहयोग गर्नथाले भने थोरैको संख्यामा रहेका नेपालीहरुले पनि सस्थाको जरुरी महसुस गरेर निरज थापाको अध्यक्षतामा नेपाली सम्पर्क समिति(NCC) नामक सस्थाको स्थापना गरिएको थियो ।
आज यो सस्था उतार चढाबका बीच आफ्नो १५ औ अधिबेसन गर्ने संघारमा उभिएको छ। आज म एकातिर आफुलाई यो गौरबमय सस्थाको सस्थापकको नाताले खुसि महसुस गरिरहेको छु भने अर्कोतर्फ यो सस्था व्यापक र बृहत बन्दै जानुपर्नेमा दिनदिनै विवादमा तानिदै एउटा साघुरो घेरामा प्रभाब सुन्य हुदै बिघटनको संघारमा पुग्नुले मर्माहित भएको छु ।
१५ औ अधिबेसनको संघारमा यत्रो ईतिहास बोकेको NCC नेपालीहरुको हरेक दुख सुखमा साथदिदै नेतृत्व प्रदान गरेको सस्थाको अधिबेसन व्यापक हुनुपर्नेमा, यसको नेतृत्वमा रहेका व्यक्तिहरुको सोच बिहिन गैरजिम्बेवारपना र अदूरदर्शी स्वार्थिपनका कारण अतिनै साघुरो बन्न पुगेको छ।
कोरियामा फैलिएको प्राण घातक रोग मर्स को बेवास्ता गर्दै, २१ भन्दा बढी सस्थाको अपिल , कोरियन सरकार अनि नेपाली दुताबासको अनुरोधको पनि बेवास्था गर्दै सिमित व्यक्तिहरुको लहड र स्वार्थका लागि साघुरो कोठा भित्र अधिबेसन गर्न लागिदैछ।
हाम्रो अगाढी अब यो सस्थालाई बचाईराख्न व्यापक उपस्थित भएर स्पस्ट सोच र कार्यक्रम नभएका निहित स्वार्थकालागि सस्थालाई नेतृत्व गर्न खोज्नेहरुको हातबाट सस्थालाई बचाउदै, यो सस्थालाई व्यापक र बृहत बनाउदै सबै नेपालीहरुको माझमा पुराउनका लागि हामी सबैले आफ्नो बिबेक प्रयोग गरि सबल र सक्षम नेतृत्व चयन गरि सस्थालाई उचाइमा पुर्याउनुपर्ने हामि सबैको दायित्व हुन आउछ ।
(लेखक एन सि सिका संस्थापक सदस्य तथा चितवन सम्पर्क समितिका सल्लाहकार हुन भने उनले सौलको ग्यङहि युनिभर्सिटीबाट पर्यटन बिषयमा स्नातकोत्तर गरेका छन )