पीडा (कविता)
अमृत राना
सोंचेको थिएँ
यी पौरखी हातहरू
राष्ट्र निर्माणमा
लगाउछु भनेर
थोपा-थोपा
रगत र पसिनाहरू
राष्ट्रकै लागि
बगाउछु भनेर!
सोंचेको थिएँ
मेरा उत्साह
जोश अनि जाँगरहरू
राष्ट्र निर्माणमा
खर्चिन्छु भनेर
कर्ण-कर्ण
मांसपेशीहरू
राष्ट्रकै लागि
चलायमान् गर्छु भनेर !
सोंचेको थिएँ
हरेक पल
राष्ट्र निर्माणमा
लगाउछु भनेर
राष्ट्रले मागे
जीवन
उत्सर्ग गर्छु भनेर,
तर
आज विवश छु
यी राष्ट्रवादी हातहरू
राष्ट्रियताले भरिएका
रगत र पसिनाहरू
सीमित ज्यालासँग
पराई भूमिमा
निर्लज्ज साटिरहेको छु!
पाल्पा
हाल – दक्षिण कोरिया